इटहरी : स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिनै लाग्दा ५ वर्षमा गरेका कामको समीक्षा सुरु भएको छ। कतिपय पालिका तथा वडामा जनप्रतिनिधिको अग्रसरतामा उल्लेखनीय काम भएका छन् । सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठ आफ्नो कार्यकाल फलदायी भए पनि सोचे अनुसार काम गर्न नसकेको बताउँछन् । कानुनी रूपमा बलियो भए पनि प्राविधिक कुरा नमिल्दा वडाध्यक्ष निर्वाचित कर्मचारी जस्तो मात्र भएको उनको गुनासो छ। 

निर्वाचित भए लगत्तै आफू सिंहदरबारको अधिकार गाउँमा आउने नाराले उत्साहित भएको सुनाउँछन् । “वडाध्यक्षले भनेपछि सबै कुरा गर्न सकिन्छ जस्तो लागेको थियो, भोट माग्न जाँदा बाटोघाटोको अवस्था नाजुक थियो । निर्वाचित भए लगत्तै सबै काम गर्दिन्छु भने, धेरै ठाउँमा ढुङ्गा गिट्टी हालियो पनि । त्यसरी काम गरेको भुक्तानी नहुने रैछ । पछि व्यक्तिगत पैसा तिर्नुपर्‍यो,” उनले पहिलो अनुभव सुनाए ।  
पछि बुझ्दै जाँदा सिफारिस गर्ने काममै मात्र अल्झिनुपर्ने अवस्था उनले पत्ता पाए । जनता समस्या लिएर आउने तर आफ्नो बुताले नभ्याउने भएपछि हुन्छ गर्छौ भन्ने पर्ने अवस्था आयो । गाउँ गाउँमा सिंहदरबार भनीएपनि वडामा अधिकार खासै नआएको उनले महसुस गरेका छन् ।
“पहिलाको जिल्ला विकास समितिमा जस्तै अहिले योजना लिन नगरपालिका जानुपर्ने अवस्था सृजना भएको छ । २५ हजारको काम गर्न पनि पालिका धाउनुपर्ने बाध्यताले जनतामा हैरानी थपिएको छ । ५ लाख सम्मको योजना वडामा गर्न पाउनुपर्ने कुरा लागु गर्नुपर्छ ।,” उनले भने, “शक्ति विकेन्द्रीकरण भन्ने अनि नगरपालिकामा मात्र योजना थुपारेर वडाध्यक्षले के गर्ने ? नगरपालिका पुगेपछि कर्मचारीले झन्झट दिँदा सेवाग्राही दुःखित हुने गरेको मैले देखेको छु ।”
त्यसका बाबजुद पनि जनप्रतिनिधिको आभास दिलाउन आफू सफल भएको उनको भनाई छ । “धेरै ठुला काम गरे भनेर केही भन्न सक्दिन । तर मैले वडाको अभिभावक भएको हिसाबले जनताको दुःखमा अनिवार्य उपस्थित हुने निर्णय गरेँ । जनताको घरमा दुःखको काम पर्‍यो भने अनिवार्य उपस्थिति हुन्छु । यसले धेरै जनतालाई जनप्रतिनिधिको अभाष दिलाएको छु । त्यसमा पनि गरिब मुसहर देखी चौधरी समुदायका घरमा हामी अनिवार्य जान्छौ । जनताको अपेक्षा ठुलो छैन । जनप्रतिनिधिको व्यवहार ठुलो कुरा हो,” उनले भने । 
खासमा महत्त्वपूर्ण सिफारिस र प्रमाणीकरणको मात्र जिम्मेवारी वडाध्यक्षलाई दिनुपर्ने उनको बुझाई छ । “वडाध्यक्षले नगरपालिका देखी अन्य निकाय सँगको समन्वयमा योजना ल्याउन सक्नेगरि फुर्सदमा हुनुपर्छ । कर्मचारीजस्तो भएर कार्यालयमै बस्दा जनताले समस्यामा बोलाउँछन् । बोलाएको ठाउँमा नजाँदा भोट दिएर जिताएको अहिले ठुलो भयो भन्छन् । फेरी कार्यालयमा आएर सेवाग्राही पर्खिरहेका हुन्छन् । भोट दिएर जिताएको अहिले काम परेको बेला भेटिँदैन भन्दै रिसाउँछन्,” उनले अनुभव सुनाए ।  
त्यसका बाबजुद पनि अहिले ४ नम्बर वडाका सबै टोलमा बाढी र डुबानको समस्या समाधान भएको उनले प्रस्ट पारे । नाला पैनीको व्यवस्थापनमा आफूहरूले ध्यान दिएको उनको भनाई छ । यस बिचमा जनता आवास कार्यक्रम अन्तरगत २० वटा नयाँ घर बनाएको र वडाभरिका फुसको छाना हटाएर टिनको छाना लगाएको उनले बताए । 
सामाजिक विकाशको मेरुदण्ड मानिएको शिक्षा क्षेत्रमा आफूले चासो दिएको श्रेष्ठले सुनाए । “विद्यालयमा राजनीति बढी भयो । वडाध्यक्ष विद्यालय व्यवस्थापन समितिको पदेन सदस्य हुने व्यवस्था रैछ । विद्यालय व्यवस्थापन समितिमा पनि राजनैतिक भागबण्डा हुन्छ । शिक्षक पनि दलको तर्फबाट हुने, कुनै शिक्षकले राम्रो पढाएन वा अध्यक्षले बदमासी गर्‍यो भने सिङ्गो पार्टी लागेर त्यसको बचाउमा लाग्छन् । यस्तै कारण शिक्षा क्षेत्र सुधार नभएको जस्तो लाग्यो ।,” उनले भने, “तर यो बिचमा हामीले धेरै सुधारको काम गरेका छौ । विद्यार्थीलाई नास्ता खान नदिएर विल मात्र बनाउने कामको अन्त्य भएको छ। विल मिलाएर खाने कुराको हामीले अन्त्य नै गर्‍यो भन्दा हुन्छ ।”