झापा  : आज नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस । 

नेपालमा कम्युनिस्ट आन्दोलनको सङ्गठनात्मक सुरुआत भएको दिनको स्मरणमा विभिन्न कार्यक्रम गरी कम्युनिष्टहरुले दिवस मनाएका छन् । आन्तरिक विवादले कम्युनिष्ट पार्टीहरू टुक्रा टुक्रामा विभाजित हुँदा कार्यकर्ताहरू निराश मात्र बनेका छैनन् नेताहरूप्रति पनि वितृष्णा बढेको देखिन्छ । 

जहानियाँ राणा शासनकै समयमा २००६ वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी लगायतले नेपालमा पहिलोपल्ट नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए । पुष्पलाल पार्टीका महासचिव बनेका थिए । स्थापनाको सात दशकको इतिहासमा पटक–पटक कम्युनिस्टले नेपालमा शासन सत्ता चलाएका छन् । 

२०४६ को जनआन्दोलनपछि कम्युनिस्ट आन्दोलनले गति पाएको थियो । नेकपा एमालेले शान्तिपूर्ण संसदीय धार र तत्कालीन नेकपा माओवादीले हिंसात्मक आन्दोलनको नेतृत्व गरेका थिए । 

टुटफुटबाट गुज्रिँदै आएका नेपालका कम्युनिष्ट पार्टीहरूले स्थापना दिवस अलग अलग गरी मनाउने गरेका छन् । तर, कम्युनिष्ट पार्टीहरू आन्तरिक विवादमा फसेर विभिन्न टुक्रामा विभाजित हुँदा कार्यकर्तामा भने निराशा उत्पन्न भएको देखिन्छ । नेकपा एमाले जिल्ला कमिटी सुनसरीका सदस्य होमनाथ धमला यस्तो अवस्था आउनु कम्युनिष्ट कार्यकर्ताका लागि निराशा बाहेक केही नहुने बताउँछन् । 

नेपालमा जहानियाँ राणा शासन कायम रहेका बेला भूमिगत रूपमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीले सामन्तवाद, दलाल–नोकरशाही पुँजीवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता र राष्ट्रलाई मुक्त गर्ने उद्देश्य राखेको थियो । तर, आफूलाई कम्युनिष्ट हौँ भन्नेहरूले आफ्नो धार नै परिवर्तन गरेको नेकपा एमाले झापाका सदस्य बलराम खरेलको आरोप छ ।  

कम्युनिष्ट कार्यकर्ताहरू अहिले पनि बाम एकताको पक्षमै देखिन्छन् । आफूलाई कम्युनिष्ट भन्ने तर काँग्रेसको फेरो समातेर हिड्नेहरुका कारण सच्चा कम्युनिष्टहरुको बदनाम भएको उनीहरू बताउँछन् । सात दशक लामो कम्युनिष्ट इतिहासलाई कमजोर पार्ने खेलमा स्वयम कम्युनिष्टहरुनै लागेको देख्दा कार्यकर्ताको मन खिन्न भइरहेको छ । 

२०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन बनाएर लडेका दुई कम्युनिष्ट पार्टी एमाले र माओवादीले करिब दुई तिहाइ बहुमत सिट जित्न सफल भए । यो नेपाल कम्युनिष्ट पार्टी स्थापनाको सात दशककै इतिहासमै सबैभन्दा ठुलो सफलता थियो । 

तर, अहिले परिस्थिति बदलिएको छ । आफूलाई कम्युनिष्ट हु भन्नेहरू पनि अहिले काँग्रेसको फेरो समातेर स्थानीय तहको निर्वाचनमा होमिएको देख्दा कम्युनिष्टहरुले आफ्नो स्तर कहाँ पुराइरहेका छन् भन्ने स्पष्ट भएको कार्यकर्ताहरूकै विश्लेषण छ ।