इटहरी : इटहरी उपमहानगरपालिकामा नेकपा एमाले र गठबन्धनका बिच तीव्र प्रतिस्पर्धा देखिएको छ । 

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा काँग्रेस नेतृत्वको गठबन्धन र एमाले बिच प्रमुख प्रतिस्पर्धा छ । चुनावी अभियानकै क्रममा केही दिन अगाडी पार्टी अध्यक्ष केपी शर्मा ओलीले इटहरीको कार्यक्रमका सम्बोधन गरे । गठबन्धनले पनि सोमबार चुनावी सभाको आयोजना गर्दैछ । 

काँग्रेस नगर सभापति हेमकर्ण पौडेललाई मेयरको उम्मेदवार बनाएर ४ दलीय गठबन्धन अगाडी बढेको छ । २०७४ सालको निर्वाचनमा २० मध्ये १२ वडामा विजयी भएको काँग्रेस जसरी पनि नेतृत्व गर्ने दाउमा छ । गठबन्धनमा काँग्रेस सहित नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले वडा स्तरदेखीनै तालमेल गरेका छन् । काँग्रेसको भागमा मेयर र उपमेयरमा नेकपा (एकीकृत समाजवादी) ले पाएको छ । जनता समाजवादी पार्टीले भने वडा स्तरमा प्रतिस्पर्धा गर्नेगरि मेयर र उपमेयरमा मात्र गठबन्धनलाई साथ दिने भएको छ । 

एमालेले भने नगर अध्यक्ष यामकुमार सुब्बालाई उम्मेदवार बनाएको छ । जनजाति मत र थारु मतलाई प्रभावित पार्नेगरि उम्मेदवार तय गरेको छ । इटहरीको विकट क्षेत्रबाट सङ्गीता चौधरीले उपमेयरमा उम्मेदवारी दिएकी छिन् । अघिल्लो पटक पनि दाबेदारी प्रस्तुत गरेका सुब्बाले तेस्रो कार्यकाल नेकपा एमालेको नगर अध्यक्ष चलाइरहेका छन् । स्वच्छ छविका सरल नेता सुब्बाले जनजाति मत आकर्षित गर्न सक्ने अनुमान गरिएको छ । नगर अध्यक्ष भएर पनि व्यक्तिगत प्रभाव स्थापित गर्न नसकेका उनको लागि यस पटको चुनाव चर्को पर्ने देखिएको छ । 

मेयरको उम्मेदवार रहेको पौडेल स्थानीय स्तरमा चर्चित नेताको रूपमा स्थापित छन् । गठबन्धनको तर्फबाट उम्मेदवार भएका उनी विजयी हुने विश्वासमा छन् । गठबन्धनको कारण फाइदामा छन् पौडेल । यसअघिको फोरम लोकतान्त्रिकको मतले समेत काँग्रेसलाई टेवा पुर्याउने भएको छ । 

गठबन्धनबाट उपमेयरका उम्मेदवार राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव केशव कुमार विष्टको उमेद्धवारीले पनि नेकपा एमालेको मत प्रभावित भएको छ । विष्ट एमालेका पुराना नेता हुन् । नेकपा एमाले भित्र १० बुँदेको पक्षमा भएका नेता कार्यकर्तालाई उनले आकर्षित गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मेयर उपमेयर सहित १ वडामा र जनता समाजवादी पार्टीले मेयर उपमेयर सहित २ वडामा उम्मेदवारी दिएको छ । राप्रपाका प्रभावशाली नेता तथा पूर्व मन्त्री रामकुमार सुब्बाको गृह नगर हो इटहरी । उनकै छोरा आकाशहांङ सुब्बाले मेयरमा उम्मेदवारी दिएपछि राप्रपाले आफ्नो मत परीक्षण गर्ने गरी तयारी गरेको छ । पुर्वमन्त्री सुब्बाको व्यक्तिगत प्रभावको कारण राप्रपा सम्मानजनक मत ल्याउने आसमा छ । राप्रपाको पक्षमा जनजाति र केही स्वतन्त्र मत आकर्षित भएको छ । 

सुब्बाको उमेद्धवारीले एमालेको असन्तुष्ट जनजाति मत प्रभावित पार्ने देखिन्छ । एमालेका उम्मेदवार सुब्बा भन्दा काँग्रेसका उम्मेदवार पौडेल जनस्तरमा चर्चित देखिन्छन् । 

२०७४ मा राप्रपाबाट मेयरको उम्मेदवार भएका रमेश कार्की यस अघि नै एमाले प्रवेश गरिसकेका छन् । त्यस्तै माओवादी केन्द्रबाट उपमेयरको उम्मेदवार भएका भीम प्रसाद सुवेदीले पनि एमाले रोजेका छन् । उता माओवादीबाटै सुनसरी क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उम्मेदवार भएका डम्बर सुवेदी समेत एमालेमा छन् । जसले एमालेको मनोबल बढाएको भए पनि माओवादीको मतमा खासै प्रभाव परेको छैन । 

२०७४ को स्थानीय तह निर्वाचन ताका इटहरी उपमहानगरपालिकामा ७७ हजार ६९७ मतदाता रहेको इटहरीमा यस पटक  १ लाख ४ हजार ६ सय २६ पुगेको छ । २८ हजार नयाँ मतदाताले आगामी निर्वाचनमा प्रत्यक्ष प्रभाव पार्ने भएका छन् । 

अघिल्लो निर्वाचनमा कुल ५२,५२२ खसेको सदर मत मध्ये एमालेका उम्मेदवार चौधरीले २२,६८९ काँग्रेसका रोहित प्रसाईँले १९,९८५ मत प्राप्त गरेका थिए । राप्रपाका रोहित कुमार कार्कीले ३,७१५ र माओवादी केन्द्रकी हरिमाया जिमीको ३,३६४ मतले जमानत जोगिन सकेन । फोरम लोकतान्त्रिकमा उम्मेदवार अरुण चौधरीले १,४३७ मत पाएका थिए ।

यसअघि स्वाभाविक जितको अपेक्षा अनुसार अगाडी बढेको एमाले यस पटक रक्षात्मक अवस्थामा पुगेको छ । नयाँ युवा मतदातालाई आकर्षित गर्न सक्ने कार्यक्रमले निर्वाचनमा प्रभाव पार्ने प्रस्ट छ ।