इटहरी : धरान उपमहानगरपालिका नवनिर्वाचित मेयर हर्कराज साम्पाङ अहिले हटकेक भएका छन्। स्वतन्त्र उम्मेदवार साम्पाङको विजयी सँगै धरान चर्चाको शिखरमा पुगेको छ। सामाजिक अभियन्ताको छवि बनाएका साम्पाङ राजनीतिको शिखरको यात्रामा लागेका छन्।
यसअघि नेकपा एमालेको बलियो पकड रहेको धरानमा स्वतन्त्र उम्मेदवारको विजयीलाई अस्वभावीक रूपमा लिइएको छ। २०७४ को निर्वाचनमा नेकपा एमालेका तारा सुब्बा विजयी भएका थिए। उनको मृत्यु पछि २०७६ मा भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका तिलक राई विजयी भए । एमालेको विकल्प खोजेको धरानले पुनः काँग्रेसको पनि विकल्प खोजेको छ। यस पटक स्वतन्त्र उम्मेदवारलाई मेयरमा र गठबन्धनका उम्मेदवार आइन्द्र विक्रम बेघालाई उपमेयरमा जनताले निर्वाचित गरेका छन् ।
निवर्तमान मेयर राईले पनि त्यसबेला खानेपानी, कर र भ्रष्टाचारको मुद्दा उठाएका थिए । परिवर्तनको पक्षमा मत मागेका राईले खासै परिवर्तनको आभास दिलाउन भने सकेनन्। धराने जनता सन्तुष्ट भएनन् । त्यही बिचमा साम्पाङले खानेपानी, भ्रष्टाचार र चुरो दोहनको मुद्दालाई तीव्र बनाए । जुन अभियानले उनलाई धरानको पहिलो स्वतन्त्र मेयरको उपाधि दिलायो । बलियो भएको गठबन्धन चुनाव जित्ने दाउमा थियो। 
२०७४ मा १० हजार मत पाएको माओवादी केन्द्र र २०७६ मा २६ हजार मत पाएको काँग्रेस बिचको तालमेलले विजय निश्चित जस्तै भएको थियो। सोही गणितीय तथ्याङ्कमा टेकेर गठबन्धन विजयी हुनेमा ढुक्क थियो। एमाले भित्रको अन्तरघातको फाइदा लिने सोचमा थियो गठबन्धन । तर सोचेको भन्दा उल्टो परिणामको देखियो । उता एमालेले भने १० वडा जितेर मेयर उपमेयर गुमाएको छ। खासमा गठबन्धन भित्रका केही प्राविधिक तथा रणनैतीक समस्याको कारण चुनावी नतिजा प्रभावित भएको देखिन्छ ।
'आत्मघाती' आत्मविश्वास 
धरानमा नेपाली काँग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धन थियो । विगतको मतभारलाई हेर्दा गठबन्धनको जित सुनिश्चित जस्तै देखिन्थ्यो । त्यही उच्च मनोबलले गठबन्धनमा आबद्ध दलहरू चुनावी प्रचारमा थिए । यसअघि काँग्रेस एक्लैले माओवादी र नेकपा एमाले सहितको नेकपालाई पराजित गरेको थियो । त्यस बेला साम्पाङले जम्मा ५४० मत पाएका थिए । यस पटक नयाँ मतदातामा साम्पाङको लोकप्रियता बढेको थियो  सामाजिक सञ्जालको प्रभावले उनी गाउँसम्म पुगेका थिए । जसको कारण उनको अभियान सशक्त बन्दै गएको थियो । अघिल्लो पटक काँग्रेसलाई मतदान गरेका मतदाताले पनि उनलाई पत्याए । दलका मतदाता भोट हाल्न गएनन् गएका अधिकांश खानेपानी अभावले पीडित भएकाले साम्पाङ्लाई पत्याए । अंकगणितिय जोड घटाउमा रहेको गठबन्धनले आफ्नै मतदाताको मन बुझ्न सकेन । जसको कारण हार बेहोर्नुपर्‍यो । 
हर्कराजको राज बुझ्न नसक्नु 
Harka-Sampang 1उच्च मनोबल सँगै गठबन्धनले हर्कराजको राज बुझ्न सकेन । लामो समयदेखि एक्लै टोलटोलमा पुगेका उनले पछिल्लो समय सूक्ष्म तरिकाले टिम परिचालन गरे। अघोषित रूपमा परिचालन भएको टिमले उनको अभियानको प्रचार गर्‍यो । चुनाव प्रचार, मतदान देखी मतगणना सम्म साम्पाङको टिमको सक्रियता देखिन्थ्यो । मतगणनाको बिचमा पनि साम्पाङले फेसबुक लाइभ मार्फत मतको सुरक्षाको निम्ति सचेत गराई रहे । यो उनको रणनीतिक कदम थियो । धरानका अधिकांश मतदाताका आफन्त विदेशमा छन् । उनीहरूले साम्पाङको लागि चुनावी प्रचार अगाडी बढाए । जसको गर्दा धरानको स्वतन्त्र मत प्रभावित भयो । जनताको मनमा छुने मुद्दा हुनु र आशालाग्दो विकल्प नहुनेले उनको विजयीको ढोका खुल्ला गरेको हो । 
गठबन्धनको वडामै समस्या 
गठबन्धनको नेतृत्व गरेको नेपाली काँग्रेसको आन्तरिक समस्या पनि अर्को कारण बन्यो । काँग्रेसको चुनावी रणनीतिकारको रूपमा हेरिएका निवर्तमान मेयर तिलक राई देखी प्रदेश महामन्त्री उमेश थापा सम्मले पर्याप्त जिम्मेवारी पाउन सकेनन् । मेयरका उम्मेदवार किशोर राई आफ्नै टिमको मात्र घेराबन्दीमा परे । जसले गर्दा पर्याप्त सूचना र रणनीतिको अभाव देखियो । काँग्रेस भित्र बलियो प्रभाव पार्न सक्ने १ नम्बर वडाका निवर्तमान वडाध्यक्ष रोशन अधिकारी राप्रपा प्रवेश गरेर वडाध्यक्षको उम्मेदवार भए । जसको असर मेयरमा पर्‍यो । २०७४ मा काङ्ग्रेसबाट उम्मेदवार भएर पराजित भएका ६ नम्बरका भूपेन्द्र भट्टराईलाई गठबन्धनले माइनस गर्‍यो । यस पटक स्वतन्त्र उम्मेदवार भएर उनी विजयी भए । ६ नम्बरमा गठबन्धन सँग असन्तुष्ट मत एमालेकी मञ्जु भण्डारीले पाइन् । त्यस्तै १४ नम्बर वडाका निवर्तमान वडाध्यक्ष कृष्ण भट्टराईले समेत टिकट पाएनन्। उनी राप्रपा प्रवेश गरी वडाध्यक्षमा विजयी भए । जसले गर्दा वडा देखी नै मत बिग्रियो ।
लौरोको प्रभाव 
स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारले आआफ्नै चुनाव चिन्ह पाए । त्यसमध्ये काठमाण्डौका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह र धरानका साम्पाङले लौरो चुनाव चिन्ह पाए। चुनाव अगाडी नै सामाजिक सञ्जालमा लोकप्रिय भइसकेका बालेनको चिन्हको निक्कै चर्चा भयो । उनले लौरो बोकेरै चुनावी अभियान अगाडी बढाए । समाजी सञ्जाल मार्फत त्यसको चर्चा चुलिँदै गयो। जसको प्रभाव धरानमा समेत पर्‍यो । साम्पाङले पनि लौरो टेकेर भोट माग्न थाले। यसले उनको प्रचार अभियानलाई धेरै हदमा टेवा पुर्‍यायो। सामाजिक सञ्जालको प्रभावले दलका नेता कार्यकर्ताका छोराछोरीले नै बाआमा सँग लौरोमा मत मागे। दलको घरमै छिरेको लौरोले दललाई खेदाएर धरान उपमहानगरपालिकाको नेतृत्व गर्ने अवसर पाएको छ।