इटहरी : सुनसरी क्षेत्र नम्बर १ को निर्वाचन अत्यन्तै रोचक देखियो । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिँदै गर्दा ठुला दलका उम्मेदवार अत्तालिएका थिए । अन्तिम मत परिणाममा प्रतिनिधिसभा तर्फ एमाले जसपा गठबन्धनका साझा उम्मेदवार अशोक कुमार राई विजयी भए । 
प्रतिनिधिसभाको गणना प्रतिस्पर्धी देखिए पनि प्रदेशसभामा उम्मेदवारी दिए सँगै विजय निश्चित भएका उम्मेदवार हुन विजय राई । सुरुवाती अवस्थामा राप्रपाले केही अग्रता लिए पनि राईको विजय अस्वम्भावी थियो । 
राप्रपाका उम्मेदवार अनीश ढकाललाई ४ हजार ९८२ मतान्तरले पराजित गर्दै राई विजयी भए । राईले १२ हजार ४६४ मत पाएका छन् भने राप्रपाका ढकालले ७ हजार ४८२ मत पाए । नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्र गठबन्धनबाट नेकपा एसका रेवती रमण राईले ४ हजार ९८८ मत पाए । 
पहिलो पटक संसदीय भूमिकामा पुगेका राई विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । २०४० सालदेखि विद्यार्थी राजनीतिमा होमिएका राई अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य हुँदै शैक्षिक विभाग प्रमुख समेत बने । २०६० सालमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा स्ववियु सभापति विजय भएपछि उनको राजनैतिक प्रभाव बढ्दै गयो । नेपाली विद्यार्थी सङ्घको प्रभाव रहेको त्रिविमा अनेरास्ववियुको उपस्थिति अर्थपूर्ण थियो । 
नेपाल खेलकुद महासङ्घका संस्थापक उपाध्यक्ष भएका राई त्रिविको सिनेटर सदस्य समेत भए । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको स्वकीय सचिव भएका राईले २०६२/६३ को जनआन्दोलनमा ४ महिना जेल जीवन बिताए । 
२०४६ सालमा धरानको महेन्द्र क्याम्पसबाट व्यवस्थापनमा स्नातक गरेका उनले कीर्तिपुर क्याम्पसबाट राजनीति शास्त्रमा स्नातकोत्तर र व्यवस्थापनमा एमबिएसम्मको अध्ययन पूरा गरेका छन् । राई अहिले नेकपा एमाले प्रदेश १ सचिवालय सदस्य र सुनसरी निर्वाचन क्षेत्र १ (ख) का इन्चार्ज समेत छन् । 
धरानमा गिर्दो नेकपा एमालेको साख बनाउन राईको उपस्थिति प्रभावकारी हुने देखिएको छ । २०७६ सालको उपनिर्वाचन र नेकपा एमाले विभाजन पछि धमिलिएको सङ्गठनलाई राईले कन्चन बनाउने अपेक्षा गरिएको छ । समुदायगत हिसाबमा राईको बाहुल्य रहनु र धरानमा सर्वमान्य नेताको अभाव हुनुले पनि विजय राईको उपस्थिति अर्थपूर्ण देखिन्छ । 
संसदीय भूमिकामा पुगेका राईले सिङ्गो धरानको मुद्दा बोक्न सके एमालेमा पुनर्जागरण आउने सम्भावना देखिन्छ । धरानमा एमालेको प्रभावशाली नेताको छवि बनाएको मनोज मेन्याङ्बोको पार्टी परित्यागले राईको हस्तक्षेपकारी भूमिकाको अपेक्षा गरेको बुझिन्छ । १० बूँदेको पक्ष र विपक्षमा हुने कार्यकर्ताको देखी स्थानीय निर्वाचनमा देखिएको असन्तुष्टिलाई मिलाउनु धरान एमालेको चुनौती हो । बारम्बार स्वतन्त्र उम्मेदवारको पक्षमा लाग्ने धरानमा दलीय आकर्षण बढाउनु चुनौतीपूर्ण देखिन्छ ।