धरान : मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा धरानमा नेपाली काँग्रेस भित्र गठबन्धनको विरोध गर्ने निहुँले ठुलो अन्तर्घात भएको काँग्रेसका प्रत्याशी, स्थानिय नेताहरूले बताएका छन् । पार्टीको पदमा बस्नेहरूबाटै भएको अन्तर्घातका कारण काँग्रेस सहित गठबन्धनका तीनै जना उम्मेदवारले गणितीय रूपमा पराजय भोग्नु परेको उनीहरूले बताएका छन् । नेताहरूले पार्टीको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरू समेत अन्तर्घातमा संलग्न भएको सङ्केत गर्दै काँग्रेसको पदमा बसेर अर्कै पार्टीलाई भोट हाल्ने र हाल्न लगाउनेहरू काँग्रेस छाडेर जाँदा हुने नभए कारबाही गरिने सम्म बताए । 

काँग्रेस सुनसरी-१ क्षेत्रीय समितिद्वारा बुधवार आयोजित चुनावी समितिहरूलाई धन्यवाद दिने कार्यक्रममा काँग्रेस प्रदेश १ का महासचिव तथा प्रदेश सभाका उम्मेदवार उमेश थापाले पार्टीको पदमा बसेकाहरूले नै काँग्रेसलाई जिताउने भन्ने अर्कोतिर गठबन्धनलाई नमान्ने भन्दै काँग्रेस मतदाताहरूलाई अरू नै पार्टीमा भोट हाल्न लगाएको आरोप लगाए । उनले काँग्रेस जिताउने तर गठबन्धनलाई भोट नहाल्ने जस्तो कुरा गरेर काँग्रेसलाई नै चुनावमा ठुलो अन्तर्घात गरिएको बताए । गठबन्धनले चुनाव जित्ने निश्चित देखिएपछि त्यसलाई उल्टाउन अन्तर्घातका लागि सक्रियता बताउँदै तथापि त्यसलाई छिचोलेर गठबन्धनले सम्मानजनक भोट ल्याउन सफल भएको उनको भनाई थियो ।

धरान बजारका वडाहरूमा अन्तर्घात नभएको भए अन्य वडाहरूका मत समायोजन गर्दै गठबन्धनले सहजै चुनाव जित्ने स्थिति रहेको उनले बताए । तर पार्टीको पदमा बस्ने, अगुवा हौँ भन्नेहरूबाट पनि अन्तर्घातलाई सघाउ पुर्‍याएको अनुभव सुनाए । उनले भने ‘चुनावका लागि भनेर पैसा लिएकाहरू कहाँ गएर वनभोज खाए र के के गरे भन्ने सबै मलाई थाहा छ ।’ उम्मेदवार थापाले काँग्रेसका अगुवाहरू लाई चुनावमा सहयोग गर्न आग्रह गर्दै तिनतिन पटक सम्म घरमा पुग्नु परेको सुनाउँदै काँग्रेसका अगुवा पनि भन्ने नयाँ पुस्तालाई सहयोग पनि नगर्नेहरूका कारण गठबन्धनले चुनाव हार्नु परेको बताए ।

काँग्रेस प्रदेश १ (क)का सभापति अनिल श्रेष्ठले गठबन्धन पार्टी सभापति शेरबहादुर देउवा, पार्टी नेता शेखर कोइरालाकै टिमले बनाएको हो, तर पार्टीको निर्णयलाई गलत ढङ्गमा प्रचार गरेर काँग्रेस भित्र अन्तर्घात गरिएको बताए । उनले काँग्रेसको चौधौँ महाधिवेशनको प्रतिस्पर्धामा पछि परेकाहरूले त्यो आन्तरिक कुराको द्वेष राखेर पनि अन्तर्घातलाई सघाएको आरोप लगाए । पार्टीमा रहेर पदको दावेदारी गर्ने अगुवाहरूबाटै भएको अन्तर्घात क्षम्य नभएको बताउँदै उनले भने ‘उनीहरूलाई क्रियाशील सदस्यबाटै कारबाही हुन्छ ।’

काँग्रेस जिल्ला सचिव माधव घिसिङले भने ‘काँग्रेसमा रहेर अर्को पार्टीलाई भोट हाल्ने नेता, कार्यकर्ता काँग्रेसलाई चाहिएको छैन ।’ तर, गठबन्धनले चुनाव हार्नुमा काँग्रेसको मात्र नभएर माओवादी नेकपा एसको इमानदारिता नभएको देखिने उनको भनाई थियो । तथापि यो पराजयलाई गणितीय हिसाबमा हारको रूपमा लिइनुपर्ने गहन समीक्षा गरेर अघि बढ्नु पर्ने बताए । काँग्रेस धरान नगर सभापति श्याम पोखरेलले चुनाव प्रचारको तिन महिना कट्टर काँग्रेस रहने एक दिन अर्कै पार्टीलाई भोट दिने काँग्रेसीहरूका कारण चुनाव हारेको बताउँदै भने ‘त्यस्ता नेता कार्यकर्तालाई बाटो खुला छ, अरू नै पार्टीमा गए हुन्छ ।’

muksamhang-menyangbo-congreगठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदवार नेकपा माओवादीका नेता मुक्सामहाङ मेयाङबोले भने ‘काँग्रेस भित्रको अन्तर्घातका कारण हामी कमजोर पक्ष सँग चुनाव हारेका छौँ यसको पार्टी भित्र र गठबन्धनमा पनि निर्मम समीक्षा हुनुपर्दछ ।’ तर अन्तर्घात गर्नेहरूका सही ढङ्गले पहिचान गरी कारबाही हुन आवश्यक छ । उनले सतही ढङ्गमा अनुमानका भरले मात्र होइन अनुसन्धान मुलुक प्रक्रियाले त्यस्ता अन्तर्घाती पहिचान गरी कारबाही भएमा पार्टीमा अनुशासन र इमानदार कार्यकर्ताको मनोबल बढ्ने बताए । गठबन्धन पराजित भए पनि सम्मानजनक भोट पाएको, लज्जाजनक अवस्था नभएको बताउँदै उनले गठबन्धनलाई अरू बलियो र इमानदारता पूर्वक अघि बढाउनु पर्नेमा जोड दिए । काँग्रेस क्षेत्रीय सभापति सुजेन्द्र तामाङको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश (ख)को प्रत्याशी रेवती रमण राईले पनि आफ्नो धारणा राखेका थिए ।

congress-program-new