विराटनगर : नेपाली काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले देशको अर्थतन्त्र सङ्कटतर्फ उन्मुख भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

विराटनगरस्थित कोइराला निवासमा बुधवार बुद्धिजीवीहरूको भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले मुलुक आर्थिक रूपमा जर्जर हुने अवस्थामा पुगेको बताए । 

मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित कोइरालाले मुलुकलाई सही बाटोमा अगाडि बढाउन बुद्धिजीवीहरूले खबरदारी गर्नुपर्नेमा जोड दिए । “मुलुकको अर्थतन्त्र एकदमै चिन्ताजनक अवस्थामा पुगेको छ । जबसम्म मुलुक आर्थिक रूपमा बलियो हुँदैन तबसम्म देशको विकास हुँदैन,” कोइरालाले भने, “तपाईँहरू बुद्धिजीवीहरूले देशलाई सही बाटोमा अगाडि बढाउनका लागि नेताहरूलाई खबरदारी गर्नुहोस् । कतै मैले पनि गलत गरेँ भने तत्कालै भन्नुहोला ।”  

नेता कोइरालाले सुशासन, आर्थिक पारदर्शितालाई आफूले प्रमुख एजेण्डा बनाएको समेत सुनाए । सुशासन बिना मुलुकको विकास नहुने दाबी गर्दै कोइरालाले भ्रष्टाचार अन्त्यका लागि सबै दल र नेताले प्रण गर्नुपर्नेमा जोड दिए । 

नेता कोइरालाले सुशासनका पक्षमा संसद्मा सधैँ आवाज उठाउन समेत प्रतिबद्धता जनाए । मुलुक अब यथास्थितिमा अगाडि बस्न नसक्ने बताउँदै कोइरालाले आर्थिक रूपमा समृद्ध बनाउने स्पष्ट दृष्टिकोण र लक्ष्यका साथ काम गर्नु आवश्यक रहेको औँल्याए । “अब एकले अर्कोलाई दोष दिएर समय खेर फ्याल्नु हुँदैन । कसरी हुन्छ लगानीको वातावरण बनाएर मुलुकलाई आर्थिक रूपमा समृद्धि बनाउनुपर्छ,” उनले भने ।

भेलामा वरिष्ठ साहित्यकार एवं मानव अधिकार तथा शान्ति समाज मोरङका अध्यक्ष प्राज्ञ दधिराज सुवेदीले प्रदेश-१ ले नेता कोइरालाबाट ठुलो आशा र भरोसा गरेको बताए । कोइरालालाई बुद्धिजीवीहरूले माला र खादा लगाएर बधाईसमेत दिएका थिए ।