इटहरी : कतारमा जारी विश्वकपको फाइनल खेल सोमबार आइतबार राती सम्पन्न हुँदै छ । कतारको लागि विश्वकप आयोजना गर्नु नै एक ऐतिहासिक सफलता भएको छ । बन्न लागेको त्यही ऐतिहासिक साक्षी हुन नेपाली कामदार । विश्वकप खेल्ने स्टेडियम बनाउन हजारै नेपाली कामदार कतार पुगे ।

त्यही कामदारको समूहमा मोरङ बुढिगंगा गाउँपालिकाका तेज नारायण थारु पनि थिए । सन् २०१८ को फेब्रुअरीमा साथीको लहैलहैमै कतार पुगेका उनी घर फर्किन पाएनन् । विदेश जाने कुनै योजना नभएका उनलाई घरायसी समस्या र साथीभाइको साथले कतार पुर्‍यायो । कतार पुगेको ९ महिना बित्न नपाउँदै उनको निधन भयो । यता श्रीमानको पर्खाइमा बसेकी २२ वर्षीय रेणुका चौधरी युवावस्थामै विधवा भइन् ।

 ‘म साउनको अन्तिम सोमबार बोलबम गएको थिएँ । त्यही दिन जग्गा किन्ने ऋण लिन खनार आएको थिएँ । कति पैसा जम्मा भयो भनेर फोन गर्नुभयो । त्यो दिन म माइती इटहरी १० मै बसेँ । पछि उनका साथीले ‘लडेर घाइते हुनुभयो’ भनेर फोन गर्नुभयो । खासै ठुलो चोट छैन भनेपछि म ढुक्क भएको थिएँ । तर दुई दिन पछि बित्नुभयो भन्ने खबर आयो,’ घटना सम्झिँदै रेणुकाले भनिन् ।

अहिले सम्म के भएर मृत्यु भएको भन्ने कुनै जानकारी नपाएको उनले बताइन् । शनिवार रेणुकालाई भेट्न पुग्दा उनी घर नजिकै निर्माणाधीन कल्भर्टमा काम गरिरहेकी थिइन् । यसअघि विभिन्न अन्तर्राष्ट्रिय मिडिया र मानवअधिकार कर्मीहरूले समेत भेट गरेको उनले सुनाइन् । उनले थपिन् ‘सबैले के कारणले बित्नुभयो सोध्छन्, मैले के भनेर जवाफ फर्काउने ? मलाई थाहा छैन । कतार सरकारले अहिले सम्म कुनै जानकारी दिएको छैन ।’

श्रीमान् बितेको पिडाले छटपटाई रहेकी रेणुका अहिले परिवारबाटै अपहेलित भएकी छन् । काज किरिया पछि ‘मेरो छोरो खाइस् अलच्छिनी’ भन्दै सासू आमाले घर भित्र बस्न वञ्चित गरिन् । काखमा डेढ बर्से नानी च्यापेर उनी माइती पुगिन् । माइतीमा पनि आमा र बा मात्र छन् । दुई छोरी मात्र रहेको उनका बा आमाको सहारा थिइन् रेणुका । पछि उनै रेणुका बा आमाको सहारा खोज्दै पुगिन् । 

केही समयको अन्तरालमा कम्पनीको तर्फबाट २ लाख रियल २ लाख अन्दाजी नेपाली रूपमा ५५ लाख पाइन् । पैसा आउने भएपछि झनै पारिवारिक किचलो बढ्यो । पैसाकै निहुँमा जेठाजु तिलकराम थारुले उनलाई कुटपिट गरे । सम्पूर्ण पैसा घरमा दिनुपर्ने भन्दै सासू आमाले दुर्व्यवहार गरेको उनले सुनाइन् ।

श्रीमान् सँगै परिवारको साथ गुमाएकी उनले त्यही पैसाबाट इटहरीमा घर बनाइन् । अहिले उनी घरैमा स्थानीय रक्सी उत्पादन गरेर विक्री गर्छिन् । कहिलेकाहीँ लेबर गरेर अतिरिक्त आम्दानी गर्ने उनी त्यस बाहेक घर भाडा बाट आएको आम्दानीले छोरी पढाउने खर्च जुटाउँछिन् ।

कुराकानीको १० मिनेट समय बित्न नपाउँदै ठेकेदारले ढिला भइसकेको सङ्केत गरे । काममा ढिला भए पैसा त्यही अनुसार आउने धम्कीपूर्ण आग्रह गरे । रेणुका हतार गर्दै काममा लागिन् । विदेशको रोजगारीका कारण रेणुका जस्ता धेरै नेपाली चेलीहरूको सिउँदो खाली भएको छ । बेलायतको ‘द गार्डीयन’ पत्रीकाले रेणुका लगायत पीडित परिवारको बारेमा प्रकाशित अनुसन्धानात्मक सामग्रीमा  भनिएको छ ‘कतारमा विश्वकपको लागि स्टेडियममा बनाउने काममा संलग्न १६४५ नेपालीले मृत्युवरण गर्नुपरेको छ ।’

 स्टेडियम निर्माण कार्य गर्दागर्दै मृत्यु भएका बाहेक दीर्घकालीन रोगको सिकार भएका अधिकांश नेपाली कामदार कुनै परिश्रम गर्न नसक्ने अवस्थामा पुगेका छन् । मानवअधिकारको अधिकतम उल्लङ्घन गरेको कतार सरकारले नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्काका नागरिक माथि शोषण गरेको तथ्यलाई ‘द गार्डीयन’ले धेरै खुलाएको छ । गार्डियनले प्रकाशित गरेको तथ्याङ्क अनुसार स्टेडियम निर्माणकै क्रममा ६ हजार ५०० भन्दा बढी कामदारले ज्यान गुमाएको छ । यी कुराहरू भने विश्वकपको व्यापारिक चकाचौधले ओझेलमा पारेको छ ।

reuka chaudhary 123