झापा : अहिले नै यो देशमा कस्तो सरकार बन्ला भनेर ठ्याक्कै भन्न सकिने अवस्था त छैन । तर, नेताहरूको कुरालाई आधार मान्ने हो भने फेरी पनि अहिलेकै सत्ता गठबन्धनले सरकार बनाउने चर्चा चुलिएको छ । त्यसका लागि आन्तरिक छलफल र भेटघाट बाक्लिएका छन् । उता एमाले पर्ख र हेरको रणनीति अपनाइरहेको छ । चाहे जे भए पनि अनि जसको सरकार बने पनि अब बन्ने सरकारले धेरै कुराको सामना गर्नुपर्ने देखिन्छ । अब जसको र जस्तो सरकार निर्माण भए पनि त्यो सरकारका सामु चुनौतीका चाङ छन् ।
अब बन्ने सरकारले सुरुमै सामना गर्ने मुख्य चुनौती भनेको राजनीतिक अस्थिरताको डर र जुनसुकै बेला सरकार ढल्न सक्छ भन्ने अवस्था देखिन्छ । यस्तो अवस्थामा बनेको सरकारले नागरिकलाई खासै केही दिन नसक्ने विश्लेषण छ राजनीतिक विश्लेषक डा. रामजी तिम्सिनाको ।
राजनीतिक विश्लेषक डा. राजेश अहिराज आगामी सरकारले झेल्नुपर्ने अर्को ठुलो चुनौती भनेको सङ्घीयतालाई संस्थागत तथा कार्यान्वयन गर्ने कुरामा अवरोध रहेको विश्लेषण गर्छन् । उनी संसद्‌मा सङ्घीयता विरोधी वा प्रदेशप्रति अनुदार शक्तिको उदयलाई त्यसको कारण ठानिरहेका छन् ।
यस्तै, नयाँ बन्ने सरकार सामु चुनौतीका चाङहरू मध्येको अर्को मुख्य सामना गर्नुपर्ने समस्या भनेको आर्थिक सङ्कट रहेको अर्थ विश्लेषक डा.अर्जुन कुमार बरालको ठम्याई छ । नेपाल आर्थिक सङ्कट उन्मुख रहेको उनी बताउँछन् ।
कैयौँ अर्थशास्त्रीहरूले नेपालको गत वर्षदेखि नै नेपाली अर्थतन्त्रलाई सङ्कटोन्मुख बताउँदै आएका छन् । त्यसमा केही सुधारको सङ्केत देखिने तर फेरि केही आर्थिक पाटाहरूमा जटिल समस्या देखिने क्रम नरोकिएको ठान्नेहरू धेरै छन् । आर्थिक सङ्कटलाई कम गर्न नसके त्यसले जटिल अवस्था निम्त्याउने अर्थ विश्लेषक डा. बरालको बुझाइ छ ।
यस्तै, अब बन्ने सरकारका लागि विशेष गरी राजनीतिक दल तथा सरकारमाथि घटेको जनविश्वासलाई बढाउनुपर्ने चुनौती रहेको ठान्नेहरू धेरै छन् । विश्लेषकहरूको नजरमा अहिले स्वतन्त्र पार्टीले पाएको मत भनेको जनआक्रोश र निराशाको मत हो । त्यसलाई चिर्न अब बन्ने सरकारले काम गर्नुपर्ने चुनौती देखिन्छ ।