धरान : संसद्मा सबैभन्दा ठुलो दल भएर पनि सत्ताबाट बाहिरिएको नेपाली काँग्रेसमा चुनावी गठबन्धन र अन्तर्घातका कुरा विवादको विषय बनिरहेको बेला शनिवार पार्टीले ४७ औँ राष्ट्रिय मेलमिलाप दिवस मनाएको छ । धरानमा आयोजित कार्यक्रममा अप्रत्याशित रूपमा काँग्रेस सत्ताबाट बाहिरिनुमा पार्टी भित्र आन्तरिक ‘मेलमिलाप’ नहुनु मुख्य कारण भएको स्थानिय नेताहरूले बताए ।
झन्डै पाँच दशक अघि काँग्रेसका संस्थापक नेता बिपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय मेलमिलापको नीति नेपालको राष्ट्रियता र पार्टी एकताको सन्दर्भमा अहिले पनि प्रासङ्गिक रहेको उनीहरूले बताए । राजा महेन्द्रले काँग्रेस सरकारको सत्ता पल्टाएपछि भारतमा निर्वासित बिपी कोइराला गणेशमान सिंह सहितका नेताहरू २०३३ साल पुष १६ गते नेपाल फर्किएका थिए । त्यसै दिनको सम्झनामा काँग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै आएको हो ।
नेपालमा बिपीलाई मृत्युदण्ड समेत हुनसक्ने मुद्धाहरु रहेको बेला मुलुकको राष्ट्रिय अस्तित्व खतरामा रहेकोले आफू फाँसीमा झुन्डिन पनि तयार रहेको उद्घोष गर्दै बिपी नेपाल फर्किएका थिए । भारतमा इन्दिरा गान्धीको सङ्कटकाल, सिक्किमको विलय, पाकिस्तान, बङ्गलादेशमा सैनिक तानाशाही जस्तो छिमेकी र अन्तर्राष्ट्रिय खराब परिस्थितिका बिच नेपालको राष्ट्रियता खतरामा रहेको बिपीको निष्कर्ष थियो । 
काँग्रेसका पुराना नेता पूर्व सांसद हरिनाथ बास्तोलाले कार्यक्रममा भने ‘त्यसैले बिपीले त्यस बेला राजासँग मेरो गर्दन जोडिएको छ भनेका हुन ।’ राजाको शासन रहेकाले राजासँग मेलमिलाप नगरी राष्ट्रियता नजोगिने हुँदा बिपीले इन्दिरा गान्धीसँग भन्दा राजा सँग सम्झौता गर्नु उचित भएको ठहर गर्दै राष्ट्रिय मेलमिलापको नीति प्रतिपादन गरेको उनले बताए ।
राष्ट्र बचाउने र राष्ट्रियता जोगाउने ऐतिहासिक जिम्मेवारी लिएको काँग्रेस पछिल्लो समय आन्तरिक विवादका कारण कमजोर बन्दै गएकाले संसद्मा सबै भन्दा ठुला पार्टी बन्दा पनि काँग्रेसको हातबाट सत्ता गुमेको उनले बताए । काँग्रेस अहिले राष्ट्रिय मेलमिलापको नीति पार्टी भित्रै अपनाउने अवस्थामा रहेको बताउँदै उनले स्थानिय नेता, कार्यकर्ताहरूले उदाहरण देखाउन जरुरी भएकोमा जोड दिए ।
काँग्रेसका अग्रज बास्तोलाले प्रश्न गरे ‘तिलक राईले चुनाव जीतेको बेलाको काँग्रेस एकता धरानमा खोइ ?’ धरान उपमहानगरपालिका मेयरको उपचुनावमा तिलक राईको जीतले धरानको इतिहासमा इज्जत जोगाएको बताउँदै उनले काँग्रेसको त्यो एकता स्थानिय काँग्रेस नेताहरूले पुनः कायम गर्नु जरुरी भएको बताए । उनले भने ‘हामी कार्यकताले (पार्टीभित्र एकताका लागि) शेरबहादुर र शेखरलाई देखाउने होइन, नेताहरुलाई भेट हुँदा सुझाव दिने हो ।’  
काँग्रेसका बौद्धिक नेता डा।आनन्द आचार्यले नेपालको राजनीतिमा खलनायकहरूको खेल दोहोरिँदै आएको बताउँदै बिपीलाई १८ महिनामै सत्ताच्युत गरियो, दुई वर्षअघि मात्र दुई तिहाइको सरकारका प्रधानमन्त्री केपी ओलीलाई सत्ताबाट हटाएको उल्लेख गरे । उनले भने ‘शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्न त्यस्तै खलनायकहरूले खेल खेलेका हुन् ।’ आचार्यले पार्टी भित्रैबाट पनि खलनायकी खेल भएको आशङ्का जनाउँदै अब काङ्ग्रेसबाट युवा नेतृत्वको नाममा वा कुनै पनि नाममा गुटको खलनायक बन्ने प्रवृत्तिको अन्त्य गरिनु पर्ने बताए ।   
प्रजातान्त्रिक विचार समाजका अध्यक्ष यमनाथ बरालले बिपीले प्रतिपादन गरेको राष्ट्रिय मेलमिलापको नीतिका दार्शनिक र व्यवहारिक दुइटा पक्ष भएको बताउँदै भने ‘काँग्रेसमा दुई पक्षका बारेमा कार्यकर्ताहरूलाई स्पष्ट धारणा बनाउन बहस हुनुपर्दछ ।’ उनका अनुसार राष्ट्रिय मेलमिलापको नीतिले मुलुकको अन्तर्राष्ट्रिय नीति र अन्तरपार्टी सम्बन्धबारे स्पष्ट धारणा बनाउन पनि दिशा निर्देश गरेको छ । नेपालले सम्झौता गरेको एमसीसी तथा बीआरआईका बारेमा पार्टीको नीतिबारे कार्यकर्तालाई स्पष्ट गराउनु जरुरी छ । 
यसैगरी मेलमिलापको नीतिले काँग्रेस बचाउन र बलियो बनाउनका लागि पनि दिशानिर्देश गरेको अध्यक्ष बरालले बताए । लामो समय निर्वासनमा बसाई र नेपालमा पञ्चायतको रजगजले काँग्रेस जनसम्पर्कबाट टाढा भएकाले मुलुक भित्र पार्टी सङ्गठन बलियो बनाएर आन्दोलन सिर्जना गर्ने उद्देश्य राष्ट्रिय मेलमिलापको नीति भित्र रहेको मुख्य उद्देश्य भएको उनले व्याख्या गरे । उनले भने ‘वास्तवमा अहिले काँग्रेसले पार्टी भित्रको मेलमिलापलाई प्राथमिकता दिनुपर्ने बेला देखिएको छ ।’ उनले मेलमिलाप दिवस राष्ट्रिय एकता दिवस नभई राष्ट्रिय मेलमिलाप दिवसको रूपमा मनाइँदै आएको पार्टी कार्यक्रम भएको स्पष्ट गरे । 
नेविसंघका नेता दोर्ची शेर्पाले काँग्रेस सरकार बनाउन चुकेपछि देशैभरि काँग्रेस कार्यकर्तामा निराशा छाएको बताउँदै पार्टी भित्रको आन्तरिक खिचलोकै कारण काँग्रेस सत्ताबाट बाहिरिएकोले पार्टीमा गुटबन्दीको अन्त्य हुन जरुरी भएकोमा जोड दिए । काँग्रेसका पुराना नेता भीष्म काफ्ले बिपीले त्यस बेला प्रतिपादन गरेको राष्ट्रिय मेलमिलापको सन्दर्भ र अहिलेको अवस्थाको विश्लेषण जरुरी भएको बताउँदै भने ‘काँग्रेस अहिले सडकमा छ । कसरी अगाडि बढ्ने वैचारिक बाटोमा एकताबद्ध हुन जरुरी छ ।’ 
कार्यक्रमको आयोजक बिपी चिन्तन प्रतिष्ठान र नेपाली काँग्रेस प्रदेश समिति (ख) कला साहित्य विभागको व्यवस्थापनमा भएको हो । दुई सत्रमा भएको कार्यक्रमको दोस्रो सत्रमा नेपाली काँग्रेसका नेता गिरिराज आचार्य र डा.आनन्द आचार्य बिच बहस सञ्चालन गरिएको थियो । युट्युबमा प्रसारण गर्न बहसको सहजीकरण विजय घिमिरेले गरेका थिए ।
मेलमिलाप दिवसको प्रमुख अतिथि काँग्रेस सुनसरी-१ क्षेत्रीय सभापति सुजेन्द्र तामाङ गोले थिए । कार्यक्रममा नेकपाका पूर्व सल्लाहकार हिमालधन राई, काँग्रेसका विश्वराज शर्माले पनि काँग्रेसमा आन्तरिक मेलमिलाप जरुरी भएकोमा जोड दिए । स्वागत भाषण प्रतिष्ठानकी सदस्य काँग्रेस नेतृ श्यामा रेग्मीले गरेकी थिइन् । कार्यक्रम धरान-१२ स्थित होटेल पूर्वी स्टारमा सम्पन्न भएको थियो ।

-भुल सुधार गरिएको
शनिवार प्रकाशित धरानमा नेपाली काँग्रेसको राष्ट्रिय मेलमिलाप दिवसको समाचारमा कार्यक्रमको दोस्रो चरणमा नेपाली काँग्रेसका नेता गिरिराज आचार्य र डा.आनन्द आचार्य बिच बहस हुनुपर्नेमा गिरिराज आचार्यको नाम छुट्न गई, असावधानीवश "नेपाली काँग्रेस सुनसरीका संस्थापक सचिव"   वाक्य पर्न गएकोमा भुलसुधार गरिएको छ । यसबाट पाठक वर्गलाई पर्न गएको अन्योलप्रति क्षमायाचना गर्दछौँ । -सम्पादक