इटहरी : उद्योग वाणिज्य सङ्घ इटहरीमा नयाँ नेतृत्वको प्रतिस्पर्धा रोचक बन्दै गएको छ। अध्यक्षको रूपमा उम्मेदवारी दिने तयारीमा रहेका आकाङ्क्षीहरूले चुनावी अभियान तीव्र बनाएका छन् । सम्भावित उम्मेदवारहरू सामाजिक सञ्जाल तथा सञ्चार माध्यमबाट उम्मेदवारीबारे जानकारी गराइरहेका छन् । 
दुई खेमामा बाँडिएको चुनावी सरगर्मी लोकतान्त्रिक र प्रगतिशील धारमा विभाजित भएको छ । नेपाली काँग्रेसले लोकतान्त्रिक धारको नेतृत्व गरेको छ भने नेकपा एमालेले प्रगतिशील धार । प्रगतिशील खेमाबाट रञ्जु सिग्देलले उम्मेदवारि दिने पक्का भएको छ भने लोकतान्त्रिक प्यानलले उम्मेदवार तय गर्न सकेको छैन  । 
लोकतान्त्रिक प्यानलबाट अध्यक्षको दाबी गरिरहेकी गायत्री कट्वाल भण्डारी सशक्त उम्मेदवारको रूपमा देखिपरेकी छिन् । जुनसुकै हालतमा अध्यक्ष हुने तयारीमा रहेकी उनी रेडिमेड व्यवसायी सङ्घकी संस्थापक अध्यक्ष हुन् । जी फोर कलेक्सनकी सञ्चालिका भण्डारी इटहरीकी प्रतिष्ठित महिला हुन् । इटहरी लेडी जेसीज लगायत सामाजिक संस्था मार्फत उनले प्रभाव बढाएकी हुन् । 
सिग्मा सप्लायर्सकी सञ्चालक रन्जु २०७३ देखी २०७६ सम्मकी कार्यसमिति सदस्य हुन् । तत्कालीन अध्यक्ष लिलम बस्नेतको कार्यसमिति सदस्य रहेकी उनले उद्यमी महिलाहरूको नेतृत्व गरिरहेकी छिन् । इटहरीमा साना तथा मझौला व्यवसायीहरू बढी भएकाले उनीहरूकै ससाना मुद्दा बोकेर चुनावमा होमिएको उनी बताउँछिन् । व्यवसायीक ज्ञान, दक्षता र सीप अभिवृद्धि गर्नु आफ्नो प्रमुख दायित्व रहेको उनको भनाई छ । स्थानीय तह सँगको समन्वयमा पार्किङ तथा घर बहालको समस्या समाधान गर्ने उनले बाचा गरिन् । 
सहमतिको आधारमा कार्यसमिति विस्तार गर्ने प्रयासमा छन् वर्तमान अध्यक्ष भीम बहादुर पौडेले । आफ्नै नाममा सहमति जुटाउने उनले तयारी गरिरहेका छन् । निर्वाचन प्रक्रिया महँगो बन्दै गएको भन्दै उनले व्यापारिक संस्थामा राजनीतिक प्रतिस्पर्धा गर्न नहुने तर्क गरेका छन् । यसअघि लोकतान्त्रिक प्यानलबाट विजयी भएका पौडेल इटहरीका प्रतिष्ठित व्यवसायी हुन । सकेसम्म कार्यसमितिमै सहमति नभए प्यानलबाट सहमतिको उम्मेदवार बन्ने उनको योजना छ । 
उता पौडेलको कार्यसमितिबाट जीवन पराजुली र गायत्रीले उम्मेदवारी दाबी गरिरहेका छन् । उवासंघ अध्यक्षको प्रबल दाबेदार मानिएका दिवस पोखरेल वडा नम्बर ६ को अध्यक्ष निर्वाचित भएसँगै प्रतिस्पर्धाको माहौल रोचक बनेको हो । पोखरेल गायत्रीको पक्षमा माहौल बनाउने अभियानमा छन् । 
सहमतिमै कार्यसमिति विस्तार गर्ने प्रयास अब सफल नहुने बताउँछीन गायत्री । ६ महिना अगाडी आफूले राखेका तर्कमा अब फर्किन नसक्ने उनले बताइन् । यसबिचमा धेरै अगाडी बढिएको उनको भनाइ छ । आफू जुनसुकै हालतमा उम्मेदवार बन्ने उनले घोषणा गरेकी छिन् । 
इन्टुरिस्ट होटेलका सञ्चालक जीवन पराजुली लोकतान्त्रिक प्यानलबाट उम्मेदवारी दिने तरखरमा छन् । पूर्व अध्यक्ष तथा नेताहरूको सल्लाहमै आफू अगाडी बढ्ने उनले बताए । नेतृत्वको आग्रहलाई स्वीकार गर्न तयार रहेको उनको भनाई छ । होटेल व्यवसायी सङ्घ इटहरीको दुई कार्यकाल अध्यक्ष भएका उनी सफल उद्यमीको रूपमा चिनिन्छन् ।
महिलाको सेन्टीमेन्ट 
प्रगतिशील समूहले लोकतान्त्रिक प्यानलले गर्ने सम्भावित उम्मेदवारलाई बुझेर महिला उम्मेदवार तय गरेको छ । महिला उम्मेदवार भएकैले आकर्षक मुद्दा बनाउने तयारीमा रहेकी गायत्रीलाई रञ्जुको उम्मेदवारीले दबाब बढाउने भएको छ । दुई महिला बिचको प्रतिस्पर्धा नयाँ परीक्षण हुने भएको छ । भण्डारी हालसम्म महिलाले नेतृत्व गर्ने अवसर नपाएको भन्दै उम्मेदवारी दिने तयारीमा रहेको बेला रञ्जुले उम्मेदवारी दिने प्रस्ट भइसकेको छ । जसले गर्दा महिलाकै कारण गायत्रीले पाउने मत विभाजित हुने देखिएको छ । 
दुवैतर्फ महिला मतदाता आकर्षित गर्न सकिने रणनीति असफल हुने सम्भावना भएको छ । टिमबाट टिकट नभए पनि उम्मेदवार हुने बाचा गरेकी गायत्रीले महिला भएकै कारण पाउने मत रन्जुले समेत पाउने भएकी छिन् । लोकतान्त्रिक प्यानलबाट पौडेल वा पराजुली उम्मेदवार भए त्रिपक्षीय प्रतिस्पर्धा हुने सम्भावना देखिन्छ । 
लोकतान्त्रिक प्यानलको उम्मेदवार तय गर्न नेपाली काँग्रेसका नगर सभापति, उपसभापति लगायत पूर्व अध्यक्षहरूको समूह सक्रिय भएको छ । त्यस सँगै बजारमा प्रभावशाली मानिएको राप्रपा र माओवादी निकट केही मत आकर्षित गर्न गठबन्धन हुनसक्ने सम्भावना छ । राष्ट्रिय राजनीतिकै हिसाबमा गठबन्धन भए लोकतान्त्रिक प्यानल दबाबमा पर्ने प्रस्ट छ । अन्यथा ५२१३ मतदाता रहेको उवासंघ इटहरीमा लोकतान्त्रिक पक्ष हाबी छ । व्यवसायी नवीकरणमा लोकतान्त्रिक पक्ष बलियो देखिएको छ । तथापि उम्मेदवार र समूहगत एकता लोकतान्त्रिक प्यानलको चुनौती हो । 
सहमति भए राम्रो: पुर्वअध्यक्ष 
दुई महिला आकाङ्क्षी उम्मेदवारको बिचमा सहमतिको प्रयास भइरहेको पूर्व अध्यक्षहरू बताउँछन् । संस्थापक अध्यक्ष टङ्क प्रसाद दुलाल दुई खेमामा विभाजित सङ्घलाई एकीकृत गर्न जरुरी रहेको बताउँछन् । निर्वाचनै भए पनि निर्वाचित समितिले व्यवसायीको पक्षमा काम गर्नुपर्ने उनको तर्क छ । पछिल्लो समय व्यवसायीहरू मर्कामा परेको बताउँदै उनले ब्याजदर देखी व्यवसायीक सुरक्षाको विषयमा नेतृत्वदायी भूमिका खेल्ने नेतृत्व आवश्यक परेको बताए । जसको लागि सहमतिकै आधारमा चयन गर्नु उपयुक्त हुने उनको बुझाई छ । 
अर्का पूर्व अध्यक्ष रोहित प्रसाईँले पनि सहमति भए सबैलाई फाइदा हुने तर्क राखे । पछिल्लो समय व्यापार व्यवसायमा आएको सुस्तता र बढ्दो आर्थिक सङ्कटको समयमा एकताको सन्देश दिनु उपयुक्त हुने उनको भनाई छ । निर्वाचनकै माध्यमबाट नयाँ नेतृत्व छनौट भए पनि व्यवसायीको नेतृत्व बुझ्न सक्नुपर्ने बताए ।