इटहरी : उद्योग वाणिज्य सङ्घ इटहरीमा नयाँ नेतृत्व आएको २ वर्ष पुरा भएको छ। ३ बर्से कार्यकालको लागी निर्वाचित समितिको कार्यअवधी एक बर्षमात्र बाँकी छ। २०७६ असारमा भएको निर्वाचनमा वाम गठबन्धनलाई हराउँदै भीम बहादुर पौडेल नेतृत्वको लोकतान्त्रिक प्यानल विजयी भएको थियो।

तत्कालीन वरिष्ठ उपाध्यक्ष शैलेश विष्ट र कार्यसमिति सदस्य पौडेल बिचको चुनावी प्रतिस्पर्धा निक्कै रोचक देखिएको थियो । स्थानीय तहकै निर्वाचनको झल्को दिने गरी चुनावी अभियान चलेको थिए। आक्रामक चुनावी प्रचार गरेको पौडेल नेतृत्वको लोकतान्त्रिक प्यानलले चुनावमा पहिलो पटक प्रोजेक्टर मार्फत डकुमेन्ट्री प्रस्तुत गरेको थियो। निक्कै सुझबुझका साथ तयारी पारिएको प्रतिज्ञा पत्रका आधारमा उनी निर्वाचित भए । उनको विजयी सँगै व्यापारीका अधिकांश समस्या समाधान हुने अनुमान गरिएको थियो।

महत्त्वाकाङ्क्षी चुनावी एजेन्डामा १० वटा महत्त्वपूर्ण सङ्कल्प समेटिएका छन् । हाल उवासंघ इटहरीको कार्यालयमा संकल्पपत्र टाँसिएको छ । पत्रमा उल्लेखित १० बुँदा मध्ये अहिलेसम्म कुनै पनि पूर्ण कार्यान्वयन भएको देखिँदैन।

१. व्यवसायी मैत्री कार्य सम्पादन : ‘अध्यक्ष वा पदाधिकारी मध्ये एक जना दैनिक ४ घण्टा कार्यालयमा रही व्यवसायीका समस्या समाधानमा सहजीकरण गर्ने ।’
२. रु.५ लाखको निःशुल्क बिमा : ‘इटहरीका व्यवसायीहरूको ५ लाख सम्मको निःशुल्क इन्स्योरेन्स (बिमा) को व्यवस्था गर्ने ।’ 
३. प्रदर्शनी स्थल र औद्योगिक क्षेत्र : ‘इटहरीमा एउटा व्यवस्थित प्रदर्शनी स्थल र औद्योगिक क्षेत्र स्थापनाका लागि विशेष पहल गर्ने ।’ 
४. विज्ञ परामर्शदाताको व्यवस्था ‘विज्ञ परामर्श दाताको व्यवस्था गरी इटहरीका सबै व्यवसायीहरूका लागि लेखा कर र कानुनी कुरामा निःशुल्क परामर्शको व्यवस्था गर्ने ।’ 
५. कर तथा घर बहाल : ‘इटहरी, प्रदेश नं. १ को अत्यधिक व्यवसायीक कर लिने स्थानीय तहमा पर्दछ । व्यवसायीक कर व्यवहारिक बनाउन र घर बहालको विषयमा ऐन निर्माण गर्न पहल गर्ने ।’ 
६. जब फेयर/ट्रेड फेयर ‘रोजगारी अभिवृद्धिका लागि हरेक वर्ष जब फेयर (रोजगार मेला) गर्ने र उद्योग व्यापार विस्तारका लागि ट्रेड फेयर आयोजना गर्ने ।’ 
७. महिला उद्यमशीलता विकास : ‘महिला उद्यमीहरूका लागि महिला उद्यमशीलता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्ने ।’ 
८. पर्यटन र सहरी सौन्दर्यीकरण ‘असरल्ल तार, अस्तव्यस्त सडक पेटी र दुर्गन्धित नालीलाई व्यवस्थापन गरी इटहरीलाई सुन्दर पर्यटकीय शहर बनाउन सरोकारवाला सँग सहकार्य गर्ने, व्यवस्थित शौचालय बनाउने ।’ 
९. सडक विस्तारमा समन्वय ‘निर्माण कम्पनी र सरकार सँग समन्वय गरी भत्काउन थालेको ६ महिना भित्र मुख्य बजार भित्रको सडक निर्माण सम्पन्न गराउन पहल गर्ने ।’ 
१०. तालिम तथा भ्रमण ‘उद्यमशीलता विकास सम्बन्धी तालिमहरूको आयोजना न व्यवसायीक ज्ञान आदान प्रदान गर्न देश विदेशमा भ्रमणको व्यवस्था गर्न ।’
तर सङ्कल्प गरिएका विषयहरूमा अहिलेसम्म उपलब्धि शून्य देखिएको छ । हरेक दिन ४ घण्टा कार्यालयमा पदाधिकारी उपस्थित हुने भनीएपनि कर्मचारीका अनुसार कहिले काहीँ झुक्किएर मात्र पदाधिकारीहरू कार्यालयमा जाने गरेका छन् । हाल नवीकरण तथा नयाँ दर्ताको प्रक्रिया चलिरहेकाले पदाधिकारीहरू कार्यालयमा पुग्ने गरेका छन् । अन्यथा सामान्य अवस्थामा उनीहरूको उपस्थिति कम हुने गरेको एक कर्मचारीले बताए ।

स्थानीय तहको निर्वाचनकै झल्को दिने प्रदर्शनी स्थल तथा औद्योगिक पार्क बनाउने भनीएपनि कुनै प्रक्रिया सुरु नभएको पदाधिकारीहरूले जानकारी दिएका छन् । इटहरीका प्रदर्शनी स्थल र औद्योगिक क्षेत्र बनाउने पर्याप्त जग्गाकै अभावका बिच चुनावी सङ्कल्प प्रस्तुत भएको थियो । व्यवसायीको समस्या समाधान गर्न कानुनी परामर्श दिने कुरा ओझेलमै छ । आफै परामर्श लिने बाहेक अन्य कुनै संस्थाबाट यो सुविधा पाएका छैनन्। कतिपय व्यावसायीहरु सामान्य जानकारी तथा परामर्शको अभावमा जरिवानामा पर्ने गरेका छन्।

इटहरीका व्यवसायीको लागी समस्याको विषय बन्दै आएको घर बहाल कर अझै समाधान हुन सकेको छैन । व्यवसाय सुरु गर्नुभन्दा पहिला लाखौँ धरौटी बुझाउनुपर्ने र बहालकर पनि स्वयम् आफै तिर्नुपर्ने बाध्यताका बिच व्यावसायीहरु मर्कामा परेका हुन्।

उवासंघको निर्वाचन भएको २ वर्ष नाघिसक्दा एक पटक पनि व्यवसायीको समस्या बारे वृहत् छलफल तथा परामर्श हुन सकेको छैन । हरेक वर्ष रोजगार मेला लगाउने भनीएपनि त्यसको कुनै कार्यक्रम सार्वजनिक हुन सकेन । सिप नभएका कारण बेरोजगार बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने विषयमा उवासंघ मौन देखिन्छ।

कुनै पनि प्रकारका उद्यमशीलताका कार्यक्रम हालसम्म सञ्चालन हुन सकेका छैनन् । महिला उद्यमशीलताको अमूर्त विषयमा उवासंघले सिप र क्षमता अभिवृद्धिको पाटोमा कुनै कदम चालेको देखीनदैन। 
इटहरीको मुख्य समस्याको रूपमा रहेको फोहोर मैला व्यवस्थापन तथा सार्वजनिक शौचालयको विषयलाई उवसंघले सङ्कल्प पत्रमा उल्लेख गरेको थियो। जसले गर्दा धेरै व्यवसायी तथा स्थानीयले आशा गरेका थिए । तर हरेक वर्ष नालीमा फोहोर जमेको कारण इटहरी डुबानमा पर्ने गरेको छ। इटहरी चौक आसपास असरल्ल छरिएका तारको कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ । त्यसको उचित व्यवस्थापन हुन नसक्दा इटहरी प्रदूषित सहरमा दर्ज हुने खतरा छ ।

अध्यक्ष पौडेलले इटहरी चौकमा अन्डरग्राउन्ड शौचालय बनाउने प्रस्तावमा उपमहानगरपालिकाले सहयोग नगरेको बताएका छन् । सार्वजनिक शौचालय बनाउने विषयमा आफू गम्भीर भएको तर स्थानीय तहले सहयोग नगरेको उनको निष्कर्ष छ ।

रानी, विराटनगर इटहरी, धरान सडक बिस्तारको काम धमाधम भइरहेको छ । उवासंघले सडक बिस्तारमा समन्वय गर्ने बाचा गरे पनि इटहरी चोकको विराटनगर लाइनमा अझै सडक क्षेत्र कायम रहेको जग्गामा काम हुन सकेको छैन । सडकको क्षेत्राधिकार मिचेर बनेका स्थायी संरचना हटाउन आनाकानी गर्दा लामो समय देखी सडक बिस्तारको काम अलपत्र छ । साथी पेट्रोल पम्प देखी हलगडा सम्म धेरै स्थानमा विवाद कायमै छ। सडक विस्तारको काम ढिलाइ हुँदा स्थानीय व्यापारी तथा व्यवसायी समस्यामा परेका छन् ।

व्यवसायी लाई ज्ञान दिलाउने उद्देश्यले विदेश भ्रमण गराउने विषय ओझेलमा परेको छ । तर यसमा भने कोरोना भाइरसको कारण भ्रमण गराउन नसकिएको भन्ने अवसर प्राप्त भएको छ । तथापि स्थानीय स्तरमै उपलब्ध गराउन सकिने क्षमता अभिवृद्धि तालीम पनि हुन सकेको छैन ।

उता महासचिव पीताम्बर पोखरेल कोरोना महामारी सँगै भएको लकडाउनको कारण कार्यान्वयनमा समस्या आएको बताउँछन् । यस बिचमा धेरै काम गर्ने योजना भए पनि कोरोनाकै कारण असफल भएको उनले बताए। 

सार्वजनिक शौचालय बनाउन स्थानीय सरकार सँग जग्गा माग गर्दा कुनै वास्ता नगएको उनको भनाई छ। घर बहाल करको विषयमा व्यवसायी र घरधनी बिचको गोप्य सहमतिले समस्या खडा गरेको पोखरेलले प्रस्ट पारेका छन्। बिमाको विषयमा धेरै व्यवसायीको बिमा गरिसकिएको र बाकी बुँदाहरू १ वर्षभित्र पुरा गर्ने उनले सुनाए। अब धमाधम काम थालिने भन्दै पोखरेलले व्यवसायीक हकहितको लागी सङ्घले दिनरात काम गरिएको बताए ।