इटहरी : उद्योग वाणिज्य सङ्घ इटहरीमा व्यवसायीको भन्दा राजनीतिक दलको प्रभाव बढ्दै गएको छ। दलीय समीकरणमा नेतृत्व चयन भएको उवासंघ इटहरी दलकै पक्षमा देखिएको हो ।

पछिल्लो समय स्थानीय सरकारको कर समायोजन, घर बहाल कर, कोरोना महामारी देखी बाढी पीडित व्यवसायीका यावत समस्यामा बेखबर देखिएको छ उद्योग वाणिज्य सङ्घ इटहरी । जसको कारण इटहरीका व्यवसायी नै आफ्नो छाता सङ्गठनप्रति असन्तुष्ट देखिन थालेका छन् । २०५० सालमा स्थापना भएको सङ्घ इटहरी पछिल्लो समय आफूहरूबाट टाढिँदै गएको व्यवसायीको गुनासो छ ।  
सङ्घका पूर्व अध्यक्ष रोहित प्रसाईँको पहिलो कार्यकालसम्म दलीय प्रभाव थिएन । प्रसाईँको दोस्रो कार्यकाल सर्वसम्मत हुन सकेन । निर्वाचनमै दलीय समीकरण देखापर्यो । काँग्रेसको समर्थनमा प्रसाईँ र एमालेको समर्थनमा उमेश पौडेल बिच चुनावी प्रतिस्पर्धा भयो । प्रसाईँ विजयी भए । उनको कार्यकालमा पनि राजनैतिक दलको प्रभाव कमै देखियो । प्लास्टिक मुक्त इटहरी देखी उवासंघ इटहरीको भवन बनाउने अभियानको नेतृत्व उनै प्रसाईँले गरे । 
त्यसपछि उवासंघमा राजनीति छचल्कियो । एमालेको तर्फबाट लिलम बस्नेत र काँग्रेस, माओवादी र राप्रपा गठबन्धन बाट ईश्वरी पराजुली प्यानल बिच चुनावी प्रतिस्पर्धा भयो । बस्नेत अध्यक्षमा निर्वाचित भए । त्यसैको आडमा सुनसरी क्षेत्र नम्बर ३ (१) को प्रदेश सांसदको उम्मेदवार भएर विजयी समेत भए । पार्टीको काममा बढी सक्रिय देखिएका उनले व्यवसायीक कार्यक्रमलाई समय दिन भ्याएनन् । प्रदेश सांसद भएकै कारण उनको प्रभाव पनि जिल्ला देखी केन्द्रसम्म नै पुगेको छ । उनी सुनसरी एमालेमा प्रभावशाली नेताको रूपमा उदाएका छन् । 
बस्नेतले व्यवसायीको पक्षमा काम नगरेको भन्दै वामपन्थी विरोधी नारा बल्झियो । ३ वर्ष अगाडी भएको निर्वाचनमा भीम बहादुर पौडेलको लोकतान्त्रिक प्यानल र वामपन्थी गठबन्धनबाट शैलेष विष्ट चुनावी मैदानमा होमिए । बस्नेतले काम गर्न नसकेको भन्दै १० प्रतिबद्धता सहित पौडेलले चुनावी अभियान तीव्र पारे । बस्नेतकै प्यानलबाट उम्मेदवार भएका विष्ट पराजित भए ।
हालसम्म पौडेल अध्यक्षको भूमिकामा छन् । त्यसैको प्रतिफल स्वरूप उनी काँग्रेसको राजनीतिमा सक्रिय देखिए । बस्नेतले झैँ एकै पटक राजनैतिक छलाङ हान्ने दाउमा छन् उनी । भर्खरै सम्पन्न काँग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत निर्वाचित भए उनी । एकपछि अर्को राजनैतिक सफलताले उनमा महत्त्वाकाङ्क्षा थप बढाएको छ । हाल उनी इटहरी उपमहानगरपालिकाको मेयरमा दाबी गरिरहेका छन् । काँग्रेसको ससानो बैठक र छलफलमा समेत सहभागी हुँदै आएका उनी पूर्णकालीन राजनीतिज्ञको रूपमा देखा परेका छन् । 
पछिल्लो राजनैतिक सक्रियताले चुनावमा उनी आफैले गरेको बाचा भुलेका छन् । व्यवसायी मैत्री कार्य सम्पादन, ५ लाखको निःशुल्क बिमा, प्रदर्शनी स्थल र औद्योगिक क्षेत्रको वर्गीकरण देखी विज्ञ परामर्शदाताको व्यवस्था गर्ने उनको प्रतिबद्धता थियो । त्यसबाहेक कर तथा घर बहालको समायोजन, जब फेयर/ट्रेड फेयर जस्ता कार्यक्रम सञ्चालनमा ल्याउने, महिला उद्यमशीलता विकास, पर्यटन र सहरी सौन्दर्यीकरण, सडक विस्तारमा समन्वय, तालिम तथा भ्रमणको व्यवस्था मिलाउने व्यसायीक कार्यक्रम सार्वजनिक भएका थिए । उवासंघको निर्वाचनमा गरिएका वाचा पुरा नगरेका उनले पुनः स्थानीय तहको निर्वाचनमा नयाँ बाचा गर्ने तयारी थालेका छन् । 
नेतृत्वले जिम्मेवारी बिर्सिए : पूर्व अध्यक्ष
पूर्व अध्यक्षहरू भने राजनीतिकरणले इटहरीका व्यवसायीलाई मर्का परेको बताउँछन् । व्यवसायीको भरोसा बन्नुपर्ने अवस्थामा आफ्नो जिम्मेवारी भुल्नु गलत भएको संस्थापक अध्यक्ष विश्व प्रसाद रिजालको तर्क छ । आफुपनि जनता बहुमुखी क्याम्पसको पुर्वअध्यक्ष रहेको स्मरण गर्दै उनले नेतृत्वले जिम्मेवारी बहन गर्न सक्नुपर्ने बताए । उद्योग वाणिज्य सङ्घलाई राजनीतिकरण भन्दा बाहिर राख्न अध्यक्षको भूमिका महत्त्वपूर्ण हुने उनको तर्क छ । आफ्नो पक्ष विपक्षमा लागेर भन्दा पनि आफ्नो जिम्मेवारीप्रति बफादार रहँदा सबैको भलाई हुने उनले सुनाए ।
'ओहदामा बस्नेले जायज मुद्दा उठाएर अगाडी बढ्नुपर्‍यो । व्यवसायीको पक्षमा लाग्नुपर्ने संस्था आफ्नो स्वार्थमा र व्यक्तिगत पदको लागी प्रयोग हुनुहुँदैन भन्ने मेरो बुझाई छ,' उनले भने ।
अर्का पुर्वअध्यक्ष टङ्क प्रसाद दुलाल पछिल्लो समय उवासंघ इटहरी व्यवसायीक प्रवर्द्धनको लागि नलागेको बताउँछन् ।  विशुद्ध व्यवसायीक संस्था लिलम बस्नेतको कार्यकाल देखी राजनीतिकरण भएको उनको बुझाई छ । 
"व्यवसायीका काम नगर्ने तर महत्त्वाकाङ्क्षा पालेर राजनैतिक छलाङ मार्ने काम हुन थाल्यो । काम चाहिँ नगर्ने तर संस्थालाई प्रयोग मात्र गर्ने भएपछि यसले उपलब्धि दिँदैन ।," उनले भने, "कामको आधारमा पार्टीले मूल्याङ्कन गर्ने भन्दा आफ्नो जिम्मेवारी बिर्सिएर राजनीतिमा लाग्ने चलन बढ्दै गएको छ । व्यवसायीका साना समस्या समाधान गर्न सक्ने अवस्था छ त्यतातिर ध्यान दिनुपर्‍यो ।"