इटहरी : दैनिक उपभोग्य बस्तुको भाउ दिनानुदिन बढ्दै गएपछि उद्योग वाणिज्य सङ्घ इटहरीले नियमनको प्रक्रिया अगाडी बढाएको छ ।

लकडाउनको मौकाछोपी व्यापारीले भाउ बढाउन थालेपछि सङ्घले नियमनको प्रक्रिया अगाडी बढाएको हो ।
दैनिक रूपमा भाउ बढ्दै जाँदा उपभोक्ता मारमा परेको भन्दै कालोबजारी नगर्न आग्रह गरिएको उवासंघ इटहरीका अध्यक्ष भीम बहादुर पौडेलले बताए ।

यस विषयमा उवसंघ गम्भीर भएको भन्दै उनले मङ्गलवार सम्ममा अत्यावश्यक सामग्रीको मूल्य सुची (रेट लिस्ट) नै सार्वजनिक गरिने उनको भनाई छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै उनले यो विपतको समयमा कालोबजारी गरेको उजुरी आए कडा कदम चालिने चेतावनी दिएका छन् । अध्यक्ष पौडेल र महासचिव पीताम्बर पोखरेलद्वारा जारी विज्ञप्तिमा नेपाल सरकारले तोकेका नियम र परिधिभित्र बसेर आफ्नो व्यवसाय सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ ।

व्यवसाय सञ्चालन गर्दा अनैतिक, मर्यादाहीन र कानुन विपरीतका काम कसैबाट भएमा त्यस विरुद्ध सङ्घले कडा कदम चालिने विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै सङ्घले कुनै व्यवसायीले कालोबजारी जस्ता अवाञ्छित गतिविधि गरेको भए तत्काल खबर गर्न नगरबासीहरूमा अनुरोध पनि गरेको छ ।

लामो समय व्यापार व्यवसाय बन्द गरेर बसेका व्यापारीको लागी घरधनीलाई घर भाडा छुट गर्न  पनि संघले आग्रह गरेको छ। अहिले अधिकांश घरधनीहरू घर भाडा छुट दिन तयार भइसकेको अवस्थामा उवासंघले सहजीकरण गरिदिएको पौडेलको भनाई छ । पछि कुनै घरधनीले छुट नदिएको गुनासो आएमा थप सहजीकरण गरिने उनले बताए ।

विषम परिस्थितिमा इटहरीमा घरभाडा लगाउनुहुने घरधनीहरूलाई सहुलियत दिन र बैंक तथा वित्तीय संस्थाहरूलाई ऋण, ब्याजमा सहजीकरण गर्न पनि अनुरोध गरिएको अध्यक्ष पौडेलले जानकारी दिए ।
साथै उवासंघद्वारा जारी विज्ञप्तिमा वित्तीय संस्थाहरूको ब्याज तथा नेपाल सरकारलाई बुझाउनुपर्ने कर छुट समय अनुकूल नभएसम्मका लागि सहजीकरण गरिदिन नेपाल उद्योग वाणिज्य महासङ्घ, प्रदेश-१ मार्फत प्रदेश सरकार तथा नेपाल उद्योग वाणिज्य महासङ्घ मार्फत नेपाल सरकारलाई अनुरोध गरिसकेको उल्लेख गरिएको छ ।