धरान : आज माघे सङ्क्रान्ति सँगै नेपालमा किरातकालीन शासनका बेला प्रचलित येले संवत् ५०८३ नयाँ वर्ष पनि सुरु भएको छ । नेपाली समाजमा परम्परागत रूपले मनाइँदै आएको संक्रान्तिलाई हेर्दा प्रकृतिको नयाँ आयाम सुरु भएको अनुभव हुन्छ । सनातनी हिन्दु आस्थावानहरुले मकर स्थान गरी यसलाई धार्मिक पर्वको रूपमा मनाउँछन् ।
प्रकृति पूजक आदिवासी किरात समुदाय भनिएका राई, लिम्बु, सुनुवार, याक्खाले ऋतु परिवर्तन येले तङबे, येले दोङ तथा नयाँ वर्षको रूपमा मनाउँछन् । तराईका थारु समुदायले माघी पर्वको रूपमा मनाउने यो सङ्क्रान्ति नै प्राग इतिहासकालमा संवत् थियो भन्ने विषयमा विद्वानहरूको कथन छ ।
येले संवत्को बारेमा पछिल्लो समय भएका खोज अनुसन्धानले किटान गरेको यसको काल निर्धारणमा नयाँ वर्ष मनाउनेहरू बिच मतभेद कायमै छ । ऐतिहासिक तथ्यको काल गणनामा संशय विद्यमान रहेको अवस्थामा यसपालि चल्दै आएको गणना अनुसार येले संवत् ५०८३ मनाइँदै छ ।
येले संवत्को आधिकारिक गणनाको बहस २०६५ देखी भएको हो । प्राज्ञ अमर तुम्याहाङ अनुसार सन २००९ मा प्राज्ञ वैरागी काइँलाको पहलमा भएको किरात येले संवत् अन्तर्राष्ट्रिय गोष्ठीले निष्कर्ष सहित येले संवत् घोषणापत्र-२००९ जारी गर्यो ।
२०६७ मङ्सिर २८ मा येले संवतको काल निर्धारण गर्न गोपालराज वंशावलीलाई मुख्य आधार मान्ने निर्णय गर्दै इतिहासकार प्रा.डा. जगदीशचन्द्र रेग्मीद्वारा २०६६ मा प्रस्तुत ३१ औँ किरात राजा खुरांजको शासन काल १८ वर्ष उल्लेख भएको तर मञ्जुल याक्थुम्बाले उक्त शासन काल १८ वर्ष नभई ७८ वर्ष भएको राय राखेपछि काल गणनामा मतभेद देखिएको थियो ।
उक्त मतभेदलाई टुङ्गो लगाउन त्यस बेला सत्य तथ्य प्रमाण हेरी स्रोत व्यक्तिहरू र किरात येले संवत् अध्ययन समन्वय समितिको संयुक्त पहलमा किटान गरी किरात समन्वय समितिमा पेस गर्ने निर्णय भएको थियो । सोही अनुसार सन् २०१० मा प्राडा रेग्मी, मञ्जुल र शङ्कर साम्पाङ राईले राष्ट्रिय अभिलेखालयको आधारमा ३१ औँ किरात राजा खुरांजको शासन १८ वर्ष वा ७८ वर्ष हो भन्ने पुष्टि गरे ।
इतिहासकार तथा लिपि विशेषज्ञ ऐश्वर्यधर शर्मा, लिपि विशेषज्ञ सिद्धि रत्न शाक्य, अभिलेखालय प्रमुख भीम नेपाल र अनुसन्धान अधिकृत राजु रिमालको रोहबरमा बसेर गरिएको गोपालराज वंशावलीको मूलप्रतिको परीक्षण पश्चात् ३१ औँ किरात राजा खुरांजको शासन १८ वर्ष नभई ७८ वर्ष नै रहेको पुष्टि भयो ।
तर, यसअघि मनाउँदै आएको येले सम्बत काल र नयाँ निर्धारित कालमा झण्डै २ हजार वर्षको फरक रहेपछि यो सम्बत मनाउँदै आएका किरात समुदाय सम्बद्ध सङ्गठनहरूले प्रचलनमा रहेको काललाई नै आधार मानेर नयाँ वर्ष मनाउँदै आएका हुन् । ऐतिहासिक तथ्यहरूको अनुसन्धानले किटान गरेको काललाई मान्ने हो भने यसपालि येले संवत् ३०८३ मात्र हुन्छ ।
जातीय सङ्गठनहरूले संवत्को काल २ हजार वर्ष घटेकाले काल गणनामा ऐतिहासिक तथ्य आधारको खोजीमा त्रुटि भएका छ र यसमा थप अनुसन्धान गर्न आवश्यक भएको बताउँदै आएका छन् । काल गणनाको यो मतान्तर नेपालमा किरात काल पाँच हजार वर्ष पहिले थियो कि तिन हजार वर्ष पहिले थियो भन्ने प्रश्नसँग पनि जोडिएको छ।
पछिल्लो समय मुलुकमा पहिचानको राजनीतिक सवालले पनि संवत्को बहसलाई महत्त्वपूर्ण बनाएको छ । किरात, लिम्बुवान, खम्बुवान, मगरात लगायतका नाम, शब्दहरू नेपालको इतिहासमा प्रचलित थिए । इतिहासको अध्ययनहरूमा अहिले पनि पढिन्छ, पढाइन्छ । तर राजनीति र राज्यको नीतिमा यसलाई ऐतिहासिक तथ्य मान्न इन्कार गर्ने निषेधकारी विचारहरू हाबी भएका छन् ।