धरान : फागुन २१ गते घोषित संसदीय चुनाव हुने, नहुने आशङ्का व्यक्त भइरहेको बेला धमाधम खुलेका नयाँ पार्टीहरू निकै हौसिएको देखिन्छ ।
ठुला र पुराना पार्टीहरू अधिवेशनमा अल्मलिएको बेला जनता समाजवादी पार्टी नेपाललाई चुनावले छोएको देखिएको छ । जसपाले आज शुक्रवार धरानको भानु चौकमा कोणसभा गरेर पार्टी चुनावको तयारीमा लागेको सङ्केत दिएको हो ।
सभामा जसपा केन्द्रीय सदस्य तथा धरान नगर अध्यक्ष ताजुब लिम्बुले नयाँ पार्टीहरूप्रति टिप्पणी गर्दै भने ‘पार्टी पपुलिज्मले होइन, विचार र सिद्धान्तले चल्नुपर्छ ।'
उनले ठुला पार्टीका नेतृत्वको कमजोरीका कारण ‘जेनजी विद्रोह’ भएको उल्लेख गर्दै मुलुकमा भ्रष्टाचार, नातावाद र एकाधिकारवाद दिनदिनै बढिरहेकोले विद्रोह स्वाभाविक भएको बताए । लिम्बुले भने ‘राज्य संयन्त्र कमजोर हुँदा जनआक्रोश बढेको हो ।’
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति अपनाउनुपर्ने बताउँदै भ्रष्टाचारी नेताहरूमाथि कडा कारबाही, निष्पक्ष छानबिन र सुशासन कायम गर्न राज्यले ठोस कदम चाल्नुपर्ने उनको भनाइ थियो ।
अध्यक्ष लिम्बुले जसपाले अन्तरिम सरकारसँग पहिचानको आधारमा संविधान संशोधन तथा पुनर्लेखन गर्नुपर्ने माग दोहोर्याउँदै हालको सङ्घीय संरचनालाई परिमार्जन गरी १०ंं+१ प्रदेश संरचना, प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली,पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने स्पष्ट माग राखेको बताए ।
उनले कोशी प्रदेशको नामाकरण पहिचानमा आधारित हुनुपर्ने धारणा राख्दै ‘मुक्कुलुम्ममा नो केबलकारको अवधारणाको पूर्ण कार्यान्वयन आवश्यक रहेको उल्लेख गरे ।
अध्यक्ष लिम्बुले नयाँ पार्टी खोलेर प्रधानमन्त्री हुने उद्घोष गरे हर्क साम्पाङ प्रति इङ्गित गर्दै भने ‘पपुलिज्मले हचुवाका भरमा फेसबुकमा भाइरल भएर मात्र पार्टी र राजनीति चल्दैन राजनीतिक दल र नेतृत्व स्पष्ट नीति, विचार, सिद्धान्तमा आधारित हुनुपर्छ ।’
उनले नयाँ पार्टी खोल्दा भावना बगेर, भिडभाडले हौस्याएको भरमा होइन, वैचारिक धरातलमा उभिएर पार्टी खोल्नु पर्ने बताए ।
सङ्घीयतालाई थप सुदृढ बनाउन संविधानमै संरचनागत सुधार आवश्यक रहेको अध्यक्ष लिम्बुको भनाई थियो ।