भूपेन्द्र खुदाङ लिम्बू

पर्वहरू सामाजिक सद्भाव र रीतिथिति, संस्कार, संस्कृतिका निरन्तरता हुन् । सबै चाड समय, मौसम परिवर्तन, ऋतु परिवर्तन अनुसार आफ्नै रीतिथितिबाट मान्ने प्रचलन पाइन्छ । खास गरेर लिम्बू समुदाय बसोबास गर्ने पूर्वी नेपाल लिम्बुवान क्षेत्र र हाल आएर विभिन्न क्षेत्रमा बसोबास गर्ने लिम्बू जातिले सामूहिक रूपमा चाडपर्व मान्दै आएका छन् ।

लिम्बू जाति आफ्नै मौलिक संस्कृति र संस्कार विविधताले सम्पन्न जाति हो । हाल विभिन्न पेशा र जीवनशैली अपनाए तापनि कृषिमा आधारित जीवनशैली अपनाउने लिम्बू जाति प्राकृतिक पूजक हुन् । मूलतः लिम्बू चाडपर्व कृषिमा आधारित छन् । ऋतु परिवर्तन सँगसँगै खेतीपाती र जीवन यापनमा पर्ने असर र फेरबदलमा लिम्बू चाडपर्वका अर्थ झल्कन्छ ।

के हो, त चासोक तङनाम

लिम्बू समुदायले महान् चाडको रूपमा मान्दै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम न्वागी पूजा उँधौली याममा बालीनाली भित्राउने बेलामा सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको फलाईएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङनाम भनेको पर्व हो ।

मुन्धुममा चासोक पूजाको उत्पत्तिका सम्बन्धमा सविस्तार वर्णन पाइन्छ । किरात याकथुङ चुम्लुङले २०५९ सालमा प्रकाशित गरेको किरात चाड एक परिचय पुस्तकमा उल्लेख अनुरूप मुन्धुम अनुसार कृषि युग सुरु हुनुअघि लिम्बूहरूका आदिम पुर्खा सावा येत्हाङहरुले कन्दमूल काँचै खाएर जीवनयापन गर्दथे, जसले गर्दा उनीहरू कुपोषण र अनेक रोगव्याधीको शिकार हुन्थे । यी समस्या समाधानको विकल्प खोजीमा सर्वशक्तिमान् तागेरानिङवाभु माङसँग प्रार्थना गर्दथे ।

यही प्रार्थनाले गर्दा नै उनीहरूले पेना÷माङदःक कोदो, परामा कोदोसँग उम्रने फल्ने, ताक्मारु घैया, तुम्री जुनेलो आदि बीउ विजन तागेरानिवाभु माङले उपलब्ध गराई दिए । यसरी धान र अन्नका बिउ विजन पाएपछि लिम्बू जातिको आदिम पुर्खा सावायेहाङका चेली सिबेरा एःक्थुम्माले काठमो खन्ती, अङ्कुसे आदिको प्रयोग गरी भस्मे फाँडेर बिउ विजन रोपी छरी अन्न फलाइन ।

यसरी छर पोख गरी उब्जाएर खानु भन्दा अगाडि माङहरु देवीदेवतालाई चढाउने प्रचलन बसाले, यसैलाई चासोक न्वागी पूजा भनियो भन्ने पाइन्छ । मनुष्यलाई खेतीपाती सिकाउने देवीका रूपमा येत्हाङका चेला सिबेरा एःक्थुक्मा सिबोरा याभुङगेम्मा हुन् भनी लिम्बू जातिले मान्दछन् ।

यिनै कथन अनुसार माङहरुलाई अन्नबाली पाकेपछि चढाएर मात्र ग्रहण गर्ने परम्परा रहिआएको पाइन्छ । आफूले लगाएको बालीनाली पाकेपछि माङहरुलाई चढाएपछि खाने र रमाउने चाडको रूपमा लिइएको पाइन्छ । सम्पूर्ण देवीदेवता तथा प्रकृतिको पूजा गर्ने क्रममा तीनराते धार्मिक अनुष्ठान तङसिङ पनि गर्ने गरिन्छ ।

आफूले उब्जाएको अन्नबाली देवीदेवतालाई नचढाई खाएमा धताउने, बौउलाउने, रगत छदाउने, कुन्जे सापे बनाउने, सोला हान्ने, जिउ सुकेर जाने, गाँड निस्कने, आँखा दुखाउने अन्धो बनाउने, कान दुखाउने बहिरा बनाउने जस्ता रोग व्याधिले दुःख पाइने लिम्बू जातिमा विश्वास रहिआएको छ ।

यति बेला लिम्बू समुदाय बसोबास रहेको लिम्बुवानको माथिल्लो पहाडी क्षेत्रको बारी नै भरि पैंयू फुलेको छ । यसरी पैँयू फुलेको समयलाई लिम्बूहरूले उँधौली याम दक्षिणायन सुरु भएको सङ्केतको रूपमा मान्छन् ।

उँधौली सुरु भएपछि माछा, चराचुरुङ्गी दक्षिणतिर लाग्दछ । खास गरेर जाडो छेक्नलाई यसो गरिएको हो भन्ने गरिन्छ । यही समयमा हिमाली भागमा हिउँ पर्ने भएकोले उच्च पहाडी भाग तथा हिमाली भेगको खर्कतिर लगिएको गाईगोठहरु पनि तल बस्तीतिर झारिन्ने गरिन्छ, जसलाई उद्यौली झारिएको भन्ने गरिन्छ ।

यिनै गाईगोठहरुलाई हिउँदे भरी खेतबारीमा मलजल गराई पुनः वैशाख महिनामा उकालो लगिइन्छ, जसलाई उभौली भन्ने गरिन्छ । जुन समयमा खेतबारीमा अन्न लगाउने समय भएको हुन्छ । प्राकृतिक पूजक लिम्बूहरूले यो समयमा पनि आफूले लगाएको अन्नबाली सप्रियोस् भनी देवीदेवताहरूसँग प्रार्थना गर्ने गरिन्छ । जसलाई यक्वा पूजा उभौली भन्ने गरिन्छ ।

पहिला घर घरमा चासोक थिसोक न्वागी पूजा गरी रमाउने लिम्बूहरूले हाल आएर सामूहिक रूपमा यसलाई महान् उत्सवको रूपमा मान्दै आएको छ । लिम्बू समुदाय रहेको लिम्बुवान बाहेक काठमाडौँ उपत्यका तथा विदेशमा समेत यसलाई सामूहिक पुजा तथा खुसीयाली मनाउँदै आएका छन् ।

वर्षमा एक पटक आउने यो पर्वमा खुसीयाली साटासाट गर्ने तथा वर्ष भरी भेट नभएको आफन्तजन तथा साथिभाइहरुसँगको भेटघाटको अवसर मानिन्छ । यस्तै यो अवसरमा विभिन्न मेलाको आयोजना गरी शुभकामना आदानप्रदान तथा मौलिक गीत सङ्गीत सहितको सांस्कृतिक कार्यक्रम, यालाङ, केलाङ धान तथा च्याब्रुङ नाच पनि नाचिन्छ ।

उँधौली पूजालाई किरात समुदायले मुख्य पर्वको रूपमा मानिँदै आइरहेका छन् । किरातहरू भन्नाले किरातको चार शाखा लिम्बू, राई, याक्खा र सुनुवारलाई बुझिन्छ । यसरी मनाईने किरातहरूको महान् चाड तथा राष्ट्रिय पर्व लिम्बूहरूले उँधौलीलाई चासोक तङ्नामको रूपमा मान्छन् ।

अन्य किरात वंशका शाखाहरूमध्ये राईले उँधौली साकेला, याक्खाले चासुवा र सुनुवारले फोलष्याँदरको रूपमा मान्ने गर्दछन् । नेपाल सरकारले यस राष्ट्रिय चाड चासोक तङ्नाम अर्थात् मङ्सिर पूर्णिमाका दिन सार्वजनिक बिदा २०५८ सालदेखि दिँदै आएको छ । नेपाल सरकारले सो बिदा दिने घोषणा २०५८ चैत २६ गतेको नेपाल राजपत्र भाग ५० अङ्क ५१ मा प्रकाशित गरेको थियो ।

चासोक पूजा तथा पुजिन्ने देवीदेवताहरू

मुख्यतः युमा, थेबा तथा थङदाङबाको पूजा गरिने भएता पनि पूजा प्रार्थनामा विध्नवाधा नहोस्, प्रार्थना गरे अनुरूप सफलता प्राप्त होस भनी चासोक थिसोक पूजा गरिन्छ । पूजामा पुजिने देवीदेवताहरू निम्न छन् ।

१,मिसेकः सम्पन्न गरिन लागेको पूजा कार्य विध्नवाधा रहित सम्पन्न होस् भनी सर्वप्रथम मिसेक्पा पूजा गरिन्छ ।

२, कुइकुदाप वा ताक्फेङमा वा ताम्भूङनाः गृहस्थी जीवनमा विध्नवाधा आई नपरोस् भनी मनाइने शिकारी पूजा । निम्न शिकारी वनदेवता, वनदेवीहरू मान्ने गरिन्छ । क- तक्सङबाः विध्नवाधा नाशक शिकारी देवता, ख– सिरिङमा वा मुदेनहाङमा साया मुदेनः लिम्बूहरूले मान्दै आएको रक्षा गर्ने उत्तरबाट याक्थुङलाजे प्रवेश गरेकी वनदेवी, ग–तेन्छामाः दक्षिणबाट याक्थुङलाजेमा प्रवेश गरेकी वनदेवी, घ– खञ्जमा वा खजुमाः कहिले उत्तर कहिले दक्षिण घुमी हिँड्ने वनदेवी । ङ–वजमाः बिजुवा, येवा, येमा आदि तान्त्रिकहरूले पनि गुरु मानी उनीहरूमा शक्ति गर्ने वनदेवी आदि ।

३, काप्पोबा हिम्साम्याङः घरको रक्षा गर्ने बुढा देवता ।

४, काशीहाङमाः युमा साम्याङसँग साथ लागि आएकी उनको सहयोगी देवी ।

५, युमा साम्याङः तागेरानिङवाफुमाङ मातृ शक्तिको रूपमा प्रकट भएकी लिम्बूहरूको सर्वोपरि इष्टदेवी ।

६, थेबा साम्याङः तागेरानिङवाफुमाङ पितृ शक्तिको रूपमा प्रकट भएका लिम्बूहरूका आदि पुरुष देवता बाजे ।

७, थुङदाङबाः अन्नबाली उत्पादनमा घामपानी मिलाई उब्जाउ गराइदिने, राखन धारन, खानपिन, कलाकौशल समेत सिकाउने चासोक पूजामा अनिवार्य रूपमा पुजिन्ने इष्टदेवता । सँगसँगै सिवेरा, चखोबालाई पनि पूजा गर्ने गरिन्छ ।

चासोकको महत्त्व

चासोक तङनामले धार्मिक महत्त्व जति बोकेको छ त्यतिकै सामाजिक महत्त्व पनि बोकेको पाइन्छ । वर्ष दिन काम गर्दा, बोल्दा कसैलाई चोट पुगी गाली गर्न सराप्ने आदि भए गरेका गाली सराप नलागोस् भनी बगाई पठाउने अनुष्ठान गर्ने प्रचलन लिम्बू जातिमा रहिआएको छ ।

लिम्बू भाषामा यस अनुष्ठानलाई माङहुप वादेम्मा भनिन्छ । यसो गर्नालेगाली सराप बग्छ भन्ने विश्वास गरिन्छ । यो अनुष्ठान अरू समयमा गर्ने भएता पनि सामूहिक भेला भएको अवसर पारेर चासोक तङनाममा गरिँदै आएको पनि पाइन्छ ।

यस्तै चासोक कै अवसर पारेर एकराते तङसिङ पनि गर्ने चलन बढन थालेको पाइन्छ । आफूले मान्दै आएको प्रमुख पर्व कै अवसरमा गर्दा प्रभावकारी हुने ठानी लिम्बूहरूले चासोक कै अवसरमा यो तङसिङ गर्ने गर्दछन् । तङसिङ खास गरेर लिम्बू जातिको सृष्टि तथा अन्य मानव सभ्यताको बारेमा मुन्धुमअनुसार साम्बा, बिजुवाहरूबाट मुन्धुम गाएर सम्पन्न गर्ने गरिन्छ ।

धार्मिक महत्त्व बाहेक सामाजिक महत्वमा चासोक तङनाममा रिस, ईष्याहरु बिर्सेर आत्मीयताका साथ लिम्बू दाजुभाइ, दिदीबहिनीहरू भेटघाट र शुभकामना आदान–प्रदान गर्दछन् । पाहुनाहरू आउने–जाने, मिठो मसिनो विभिन्न खानपिन बनाई खाने, सुख–दुःख साटासाट गर्दै खुसीयाली मनाउने, चेलीबेटीहरूबाट हुक्वा, चेसुङ ल्याउने, माईत तथा ससुराली जाने अवसरको रूपमा यस पर्व मान्दै आएका छन्, लिम्बूहरूले । सामूहिक रूपमा भेला भएर केलाङ, यालाङ, नाचेर, पालाम, सांस्कृतिक कार्यक्रम गरेर, साम्लो गीत आदि गाएर मनोरञ्जन गर्दछन् ।

यस्तै परम्परागत खेल पक्लुङ लेप्मा छेलो हान्ने खेल खेल्ने गर्दछन् । यस चाडले लिम्बू जातिको पहिचान र सांस्कृतिक गौरव राख्ने काम एकातिर गरेको छ भने अर्कोतिर यसले लिम्बू जातिबिच सामाजिक सद्भाव, एकता र पारस्परिक सहयोगको भावना अभिवृद्धि गर्नमा भूमिका निर्वाह गरेको छ ।

‘सेवारो पोस्ट’ बाट सम्पादित अंश