धरान : आउँदो बिहीबार फागुन ११ देखी धरान रङ्गशालामा ‘धरान एक्स्पो २०७९’ मेला लाग्दैछ । मेलामा दैनिक घरायसी काम, भान्सामा चाहिने प्राविधिक सामाग्री सहित भारत, पाकिस्तान, बङ्गलादेशीमा उत्पादित वस्तुहरू किनमेल गर्न पाइने छ । एक्स्पो सुनसरी उद्योग वाणिज्य सङ्घले लगाउने भएको हो । 
एक्स्पोमा धरान सहित स्वदेशका उत्पादनहरू तथा भवन निर्माण देखी कृषि प्रविधिका औजारहरू पनि व्यापारिक प्रयोजनले प्रदर्शन गरिने छ । १० दिने एक्स्पोमा दैनिक सांस्कृतिक कार्यक्रम, खानपिनका सुविधाहरू पनि रहने आज आयोजित पत्रकार सम्मेलनमा बताइएको हो ।
उद्योग वाणिज्य सङ्घका सभापति विजय श्रेष्ठले भने ‘धरानको व्यापार व्यवसायलाई नयाँ गतिमा विस्तार गर्न र पर्यटन प्रवर्द्धनका लागि धरान एक्स्पो आयोजना गरिएको हो ।’ एक्स्पो सञ्चालनका बिच धरानको पर्यटन प्रवर्द्धनका लागि सरोकारवालाहरू टम्पो चालक, बस व्यवसायी, होटेल रेस्टुरेन्ट सञ्चालकहरूको सहभागितामा पर्यटन सम्बन्धी गोष्ठी हुनेछ ।
यसैगरी धरानको खानेपानी समस्या समाधानको उपायका छलफल हुनेछ । धरानमा स्वरोजगार सिर्जना गर्न घरेलु उद्योग सम्बन्धी प्रशिक्षण कार्यक्रम पनि आयोजना गरिने छ । धरानका सबै वडाबाट २/२ जना सहभागी हुने प्रशिक्षणबाट धरानमा स्वरोजगारी प्रोत्साहित हुने विश्वास गरिएको छ । 
मेलाका स्टल संयोजक विष्णु बरालका अनुसार एक्स्पोको तयारी अन्तर्राष्ट्रिय तह व्यवस्थापनको हिसाबले भइरहेको छ। वर्षा, हावाहुरीबाट नोक्सानी पुर्‍याउन सक्ने वस्तु, सामाग्रीहरूको सुरक्षाका लागि यसपालि अन्तर्राष्ट्रिय प्रदर्शनीहरूमा प्रयोग हुने महँगो प्रविधि ड्रोम ह्याङगर लगाइने छ ।   
 एक्सपोमा धरानको स्थानीय उत्पादन बेसार, मह, अचार देखी ढाका कपडा सहित पूर्वी पहाडी क्षेत्रका कृषि उत्पादनहरू अल्लोको कपडा किनमेल गर्न सकिने छ । कर्णालीको उत्पादन भिर मौरीको मह, मार्सी चामल उपभोक्ताहरूले किनमेल गर्न सक्नेछन् । 
एक्स्पोका संयोजक गोपाल श्रेष्ठका अनुसार बदलिँदो प्रविधि, उत्पादन र बजारीकरणको अनुभूति दिलाउन व्यवसायी तथा उपभोक्तालाई एकै ठाउँमा ल्याउने भूमिका एक्स्पोले खेल्ने छ । प्रदेश १ स्तरीय एक्स्पो भएकाले प्रदेशका आठै जिल्ला झापा, मोरङ, सुनसरी, इलाम, उदयपुर, धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुरका व्यवासयीहरुको एक्स्पोमा सहभागी हुने पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा उल्लेख छ ।
एक सय वर्ष भन्दा पुरानो इतिहास बोकेको प्राचीन सहर धरान प्रदेश १ कै शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद र आर्थिक, धार्मिक तथा सांस्कृतिक केन्द्र रहँदै आएको थिया । पूर्वी पहाडी जिल्लाको प्रवेशद्वार रहेका धरानको भूमिका पहाडी जिल्लामा सडक सञ्जाल र यातायातको सुविधा बढेपछि बदलिएको छ । बदलिँदो परिस्थितिमा आर्थिक, व्यवसायीक क्षेत्रमा धरानको नयाँ भूमिकाको प्रवर्द्धन गर्न एक्स्पो आयोजना गरिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिको पूर्ण पाठ यस्तो छ :