धरान : धनकुटा-धरान एकता समाजद्वारा आज शनिवार आयोजित न्युरो सम्बन्धी बिरामीको निःशुल्क स्वास्थ्य शिविरमा १०० जना भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ। शिविरमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ‘वीपीकेआइएचएस स्ट्रोक टिम’का न्युरोलोजिष्ट ५ तथा विजयपुर हस्पिटलका १ सहित ६ जना डाक्टरहरूले जाँच गरेका थिए।
यसअघि उद्घाटन कार्यक्रममा डाक्टरहरूले परीक्षणका लागि आएका सहभागीहरूलाई नशा सम्बन्धी समस्याबाट हुने 'स्ट्रोक' पक्षाघातको कारण र उपचारका बारेमा जानकारी दिएका थिए । डा.भूपेन्द्र साहले बिपी प्रतिष्ठानमा समयमै ल्याएका ‘स्ट्रोक’का बिमारीको बाहिर लैजाँदा लाखौँ रुपया लाग्ने उपचार ३० हजारमै पनि हुनसक्ने बताए।
समयमै अस्पताल पुर्‍याए बिपीमै इलाज हुने बताउँदै उनले बिपीमा हुने उपचारका विशेषताका बारेमा सर्वसाधारणलाई पूर्ण जानकारी नभएकाले जनचेतना बढाउन डाक्टरहरू शिविरहरूमा सहभागी भएको स्पष्ट गरे । उनले भने ‘डाक्टरहरूको सिधा सम्बन्ध समुदायसँग भएमा स्वास्थ्य चेतना बढाउने काम प्रभावकारी हुनसक्छ।’ 
स्ट्रोक तथा नशा रोग विशेषज्ञ डा।निशान्त मिश्रले रक्त सञ्चारमा हुने सानो स्ट्रोकको समयमै उपचार नभए सङ्क्रमण बढेर पक्षाघात हुने बताउँदै ब्लड प्रेसर, सुगरका बिरामीले स्ट्रोकको सामान्य सङ्केतलाई गम्भीर रूपमा लिएर तत्काल अस्पतालमा जाँच गराउन जरुरी भएकोमा ध्यानाकर्षण गराए ।
शिविरमा वीपीकेआइएचए स्ट्रोक टिमका डा.भूपेन्द्र साह, डा.आलोक दाहाल, डा.सञ्जीवकुमार मिश्र, डा.निशान्त मिश्र, डा.ऊर्जा भट्टराई र विजयपुर अस्पतालका डा.गुञ्जन रेग्मीले बिहान १० बजे देखी दिउँसो ३ बजे सम्म बिरामीहरूको चेकजाँच गरेका थिए ।
बिपी प्रतिष्ठानका नर्सिङ स्टाफहरू शुभद्र ओझा, पुष्पा गडतौला, धनकुमारी राई, अमल राई, पार्वतीकुमारी लिम्बु शिविरमा प्राविधिक सहयोगी टिमको रूपमा खटेका थिए । शिविरमा बिपी प्रतिष्ठान तथा अन्य अस्पतालहरूमा उपचार गराई रहेका फलोअपका बिरामीहरू पनि परीक्षण तथा परामर्शका लागि आएका थिए।
प्रमुख अतिथि धरान-१२ का वडाध्यक्ष टङ्कबहादुर राईले धनकुटा धरान एकता समाजको नशाका रोगका छुट्टै शिविर उदाहरणीय भएको बताए । एकता समाजमा विभिन्न विचारका व्यक्तिहरू भए तापनि सबैका लागि सामाजिक सेवा गर्न आयोजना गरेको शिविर जस्तै समाज राजनीतिबाट मुक्त राखेर निरन्तर अघि लैजान सुझाव दिए ।
समाजका अध्यक्ष गङ्गाप्रसाद रेग्मीको सभापतित्वमा भएको उद्घाटन समारोहमा पब्लिक हाई स्कुलका निमित्त प्रधानाध्यापक लेखनाथ भट्टराईले डाक्टरहरू अस्पताल र क्लिनिकमा मात्र सीमित नभई यस्ता शिविरहरूमा पनि नियमित संलग्न हुनुपर्ने सुझाव दिए ।
sibar-dhankuta--dharan