झुम्के फुली, नकैमा बुलाकी
यसपालि त यसपालि त घरबार होल की......
पोहोर पनि ढाँट्यौ आमा, यसपालि नि ढाँट्यौ
खोइ त मलाई झुम्के बुलाकी.....
एउटा जमानादेखी सुनिदै आएको लोक गीत हो यो । अर्को अहिलेकी पुस्ता आस्था राउतको स्वरको पप गीत । दुवैमा भनिएजस्तो बुलाकी लगाएका नयाँ पुस्ता सहरमा प्रायः भटिन्न । स्वयम् आस्था पनि बुलाकी लाउँदिनन् ।
परम्परागत यो गहना अब चलचित्र, नृत्य वा फेसन सो बाहेक देख्न पाइने ग्रामीण भेगमा हो । पुराना पुस्ताका महिलाहरूले बुलाकी, ढुङ्ग्री छाडेका छैनन् । तर, नयाँ पुस्तामा यो गहनाको ठाउँ अन्य गहनाले लिइरहेको छ ।
टिकटके पुस्तामा ढुङ्ग्री, बुलाकी लगाएको टिकटक नदेखिने कुराले पनि यसलाई विदाई नै गरेको भान हुन्छ । धरानकी ममता पाहिम लिम्बु किशोरी वयमा सांस्कृतिक पर्वहरूमा पुरै गरगहनाले सजिएर च्याब्रुङ टोली (के लाङ)मा नाच्ने युवतीहरूकी अगुवा थिइन् । उनको ढुङ्ग्री, बुलाकी लाउने रहर यस्तैमा सीमित रह्यो ।
पूर्वमा लिम्बु समुदायका महिलाहरू सुन, चाँदीका अन्य गरगहनाका साथमा बुट्टेदार ठूलो आकारको ढुङ्ग्री र बुलाकी दुवै लगाउँछन् । राई र तामाङ जातिको महिलाले कम मात्रामा लगाउँछन् । अन्य जातिका महिलाले प्रायः लगाउँदैनन् । ताप्लेजुङ, ढुंगेसाँघुका रामकृष्ण विश्वकर्माको भनाई छ ।
चौध वर्षकै उमेर देखी सुनका गहना बनाउने काम गर्दै आएको उनका अनुसार क्षेत्री, बाहुन महिलाले सानो सोलीवाल ढुङ्ग्री बढी लगाउँछन् । उनीहरू बुलाकीमा सादा र भुन्टे बुलाकी बढी लगाउँछन् । ढुङ्ग्री बुलाकी समान्यतया चार आना देखी एक तोला सम्म सुनको बन्छ । लिम्बुनीहरुले १ तोला ६ आना सम्मको बनाएका छन् । अन्य समुदायका महिलाले ४ देखी ६ आना सम्मको बनाउँछन् ।
‘यो नै सबै भन्दा जेठो (पहिलो) पुरानो र गरिबहरुले पनि लगाउन सक्ने गहना हो’ धरान-१२ की रुपा लिम्बु भन्छिन् । उनका अनुसार अरू सुनका गहनाहरू पछिमात्र लगाउन थालेका हुन् । राई, लिम्बु दाजुभाइहरू पल्टन जान थालेपछि घर परिवारमा पुगीसरी हुनेहरूले सुनका अरू गहनाहरू लगाउन थाले । गरगहना लगाएर शान देखाउने चलन अहिले पनि छदैंछ ।
धन नहुने गरिबहरुले अहिले पनि केही नहुँदा पनि सानोतिनो बुलाकी वा ढुङ्ग्री लगाएकै हुन्छ । केटाकेटीमा बेज्युले लगाएको देख्दा आफू ठूली भएपछि लगाउने गहनाको रूपमा बुझेको रुपा बताउँछिन् । खासमा महिला भएपछि अरूभन्दा सुहाएको देखिनु ढुङ्ग्री, बुलाकी लगाउने चलन बसेको हो । पहाडको मेलापातमा धान नाच्न जाँदा ढुङ्ग्री, बुलाकीले असाध्यै सुहाएको भन्दै प्रशंसा गरेको सम्झदैं भन्छिन् ‘सधैँ र सबै समय लगाउनु चैँ अलि गाह्रो हुन्छ बानी नहुने लाई ।’
उनी पनि चाडपर्व, बिहेतिर जाँदा मात्र लगाउँछिन् । नाकमा लगाउने गहना भएकोले खानेकुरा खानु पर्दा, कुराकानी गर्दा, अनुहार धुँदा अप्ठ्यारो मात्र होइन लुछिएर घाउचोटनै बनाउन सक्छ । रात साँझमा हिँड्नु पर्दा शहर बजारमा दुव्र्यसनीहरुको खतरा लुटपाट गर्नेहरूले पहिले गहनानै ताक्छन् । भन्छिन् ‘नयाँ’ र सजिलो गहनाहरूको चलन बढेकोले ढुङ्ग्री, बुलाकी हराउँदै गएको हो ।’
रामकृष्ण भने ढुङ्ग्री, बुलाकीको चलन हराएको मान्दैनन् । धरान, चतरा लाइन स्थित उनको रामकृष्ण ज्वेलर्समा त्यस्तो गहना बनाउन आउने नघटेको उनी बताउँछन् । ढुङ्ग्री बुलाकी बनाउनेहरूमा पहाडबाट झरेकाहरूले बढी छन् । सुनको गहना हो हिजोआज लुटपाट हुने डरले पनि जहिले सुकै लगाउँदैनन्। चाडपर्व, सार्वजनिक कार्यक्रमहरू र बिहे बटुलोमा लगाउने गहना बनेको छ । आफ्नो जातिको पुर्ख्यौली गहनाको रूपमा प्रायः महिलाहरूले बनाएर चैँ राखेका छन् । उनी भन्छन् ‘शहर बजारका आधुनिक पुस्ता भने बनाउन आएका छैनन् ।’
नयाँ पुस्ताका युवतीहरू परम्परागत गहना आफै बनाउँदैनन् तर, फेसनको रूपमा बेला बेखत लगाउने गर्छन् । आफ्नो अभिभावकको ढुङ्ग्री, बुलाकीनै उनीहरूका लागि पर्याप्त छ । फेशनमा चासो राख्नेहरू लुगा अनुसार जुत्ता देखी सम्म मिल्ने गहना लगाउने चलन बढेकाले पनि बजारमा ढुङ्ग्री, बुलाकी लगाउने देखिन छोडेको हो ।
ढुङ्ग्री ३ किसिमको डिजाइनमा बनाइन्छ । १–डाईभरे ढुङ्ग्री गोलाकारको बिचमा पत्थर जडान गरिएको हुन्छ । पाँच लहरको वरिपरि २ हार काँडा छिलेको बुट्टा घुमाइएको हुन्छ । थप १ हार डाईस (डाईमण्ड कटिङ) ले घेरिएको हुन्छ ।
२. सोलीवाल ढुङ्ग्री (यसलाई सादा ढुङ्ग्री पनि भनिन्छ । यसमा ३ हार गोलाकार काँडा छिलेको बुट्टा घुमाइएको हुन्छ ।
३. दार्जिलीङगे ढुङ्ग्री (यसलाई हावा ढुङ्ग्री पनि भनिन्छ ) यसको गोलाकारमा हावा छिर्ने दुलै दुलो हुने भएकोले हावा ढुङ्ग्री भनिएको हो । रामकृष्ण भन्छन् ‘यो प्रायः सर्राफी सुनको बनाइने भएकाले नेपालमा लगाईदैन् ।’
बुलाकी ६ किसिमको डिजाइनमा बनाइन्छ । १.सादा बुलाकी अर्धचन्द्रमा आकारको गोलाईको आधा भागमा तारले बेरिएको हुन्छ ।
२. भुन्टे बुलाकी यसलाई जुके बुलाकी पनि भनिन्छ । जुका जस्तै अर्धचन्द्र गोलाई तल्लो भाग केही मोटो हुन्छ । त्यसमा बुट्टाहरू खोपिएको हुन्छ ।
३. पिटे बुलाकी अर्धचन्द्रमा अकारको यो बुलाकी भुन्टे भन्दा अलि मोटो हुन्छ । यसको सबै भागमा ठाडो धर्काको बुट्टा हुन्छ ।
४. झम्के बुलाकी तल माथि लम्चो ईटा आकारको बुट्टेदार फ्रेममा सोही आकारको पत्थर राखिएको हुन्छ । त्यसको तल्लो टुप्पोमा गुलाब फुलको केस्रा आकारको ४ पत्ता सहित गुलाबको कोपिला आकारको झुम्का झुन्डाइएको हुन्छ । त्यसको दुई कानतिरबाट अर्धचन्द्राकार हुँदै माथितिर गएको हुन्छ ।
५. पाँच हाँगे बुलाकी यो झुम्के बुलाकी जस्तै देखिन्छ यसमा बुट्टा र तल झुन्डाउने झुम्का फरक हुन्छ ।
६. चुच्चे बुलाकी यसमा कुनै बुट्टा हुँदैन । अर्धचन्द्राकारमा चुच्चो झुम्का झुन्डाइएको हुन्छ । बुट्टेदार बुलाकी बनाउन एक जनालाई १ दिन लाग्छ । झुम्के बुलाकी बनाउन एक जनालाई २ दिन सम्म लाग्छ ।
रामकृष्णका अनुसार बुढापाका नभई पुरानो शैलीका ढुङ्ग्री र बुलाकी बनाउन नयाँ पुस्ताले सक्दैनन्, उनीहरूलाई सिकाउने काम हँुदैछ । लाहुरे परिवारले बढी परम्परागत गहना बनाउछन् । उनीहरू सबै शहर बजार झरेकाले पहाडका गहना बनाउनेहरू पनि शहर झरे । भन्छन् ‘मेरो पसल पनि ताप्लेजुङ ढुंगेसाँघु बाट धरान झरेको हो ।’
प्रायः दशैंको चहल पहल सँगै सुन चाँदीका गहना पसलहरूमा ग्राहक बाक्लिन्छ । तर, गहनाको रोजाईमा भने परम्परागत ढुङ्ग्री, बुलाकीको माग फाट्ट फुट्ट मात्र हुन्छ । त्रिवेणी गहना गृहका प्रोप्राईटर झनेन्द्र मगर भन्छन् ‘पहाड वा गाउँतिर बाट आएकाले मात्र ढुङ्ग्री बुलाकी खोज्छन् ।’
पुरानो डिजाइनको यस्तो गहना खोज्ने अधवैंशे पाका महिलाहरू हुन्छन् । नयाँ पुस्ताका युवती, किशोरीले सोध्दैनन् पनि । सुन र चाँदीका धेरै प्रकारका गहनाहरू तत्काल विक्रीका लागि शोकेशमा देखिन्छन् तर, ढुङ्ग्री बुलाकी तयारी भेटिन्न । उनका अनुसार धरानका प्रायः सबै गहना पसलले अर्डर गरे बनाएर बिक्री गर्छन् तयारी अवस्थामा भने प्रायः राख्दैनन् ।