इटहरी : धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) को विरुद्ध बोल्नु वा आलोचना गर्नु अगाडी गाली खान तयार हुनुपर्छ । साम्पाङका समर्थकको उक्साहटमा उनी स्वयम् विरोधी र आलोचक सँग निर्मम हुन्छन् । 

फेसबुकमा लाइभ बसेर वा स्ट्याटस पोष्ट गरेर साम्पाङले आलोचकको विरुद्धमा माहौल बनाउँछन् । राजनैतिक दल प्रति जनताको असन्तुष्टिलाई आफ्नो समर्थनमा ल्याउने रणनीति अनुसार आलोचकलाई दलको वा कुनै स्वार्थ समूहको झोले भन्ने सतही आरोप लगाइहाल्छन् । यो उनको अर्गानीक बानी हो । 

त्यस बाहेक उनका आफ्ना मौलिक बानी पनि छन् । सामाजिक सञ्जालको खपतको लागि जे कुरा भनेपछि वास्तविकतामा उनको व्यवहार फरक छ । धरान मात्र हैन देश आफ्नो भिजनमा मात्र बन्ने बिना आधारको महत्त्वाकाङ्क्षी उद्घोष गर्छन् उनी । तर साम्पाङका पछिल्ला गतिविधिले उनको बोली र व्यवहार बिचको भिन्नता प्रष्ट पारेको छ । 

झुक्दिन भन्दै माफी माग्दै 

माफी कहिल्यै नमाग्ने अभिव्यक्ति दिने उनले चमारे लेखेको विषयमा यसअघिकै माफी मागिसकेका छन् । ‘म कसैसँगै झुक्दिन’ भन्ने उनको अडान लामो समय टिक्न सकेन । लामो समयदेखि कार्यपालिका सदस्य र मेयर बिच विवाद चल्यो । जसको कारण कार्यपालिका बैठक मात्र हैन नगरसभा नै प्रभावित भइरहेको थियो । मेयर साम्पाङको माफी नमाग्ने अडान छाडेपछि कार्यपालिका बैठक चल्यो । वैशाख ३१ गतेको कार्यपालिका बैठकमा उनले माफी मागे । घुमाउरो पारामा आफ्नो गल्ती भएको स्वीकार गर्दै सबैले सच्चिएर जानुपर्ने धारणा राखे । 

दुई दिन अगाडी सम्म मिलेर जानुपर्छ भन्दै फेसबुकमा लेखे । भोलिपल्ट ‘भाग पर भाग.. भाग भाग पर भाग...’ भन्दै गीत गाए । काम गर्न नदिएको भन्दै समर्थकको साथ खोजिरहेका छन् उनी । तर के काम ? कस्तो काम ? भनेर कसैले प्रश्न गरेको छैन । उनले पनि प्रष्ट पारेका छैनन् । 

लोकप्रिय तर अलोकतान्त्रिक

लोकप्रियतावादले लोकतन्त्र खतरामा पर्छ भन्ने विषयमा जानकार छन् साम्पाङ । आफू (लोक)प्रियतावादी नभएको र लोकतान्त्रिक भएको तर्क गर्छन् पनि । 

प्रियतावाद बारे विश्लेषक डम्बर खतिवडाले अनलाइन खबरमा आफ्नो विचार प्रष्ट पारेका छन् । साम्पाङ त्यहीँ प्रियतावादका एक पात्र हुन् । खतिवडाले लेखेका छन्, ‘प्रियतावादको सबैभन्दा ठुलो लक्षण आम जनताले ‘सुन्दा मज्जा आउने झुट बोल्नु’ हो । लोकप्रिय बन्न ज्ञान विज्ञान र सत्य तथ्यले पुष्टि नगर्ने हावादारी उडन्ते कुराबाट जनतालाई प्रभावित पार्न खोज्नु हो । विवेकको साटो भावनामा बगाएर राजनीति गर्नु हो भन्ने विषयलाई खतिवडाले उठाएका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति विश्लेषण गरेको सो लेखमा साम्पाङ पनि अटाउँछन् । लोकप्रियता भन्दा लोकतन्त्र बलियो भन्ने तर काममा अधिनायकवाद देखाउने प्रवृत्ति उनमा पनि छ । 

लोकतन्त्रको प्रमुख अङ्ग भनेकै अभिव्यक्ति स्वतन्त्रता हो । पत्रकारले समाचार लेखेकै भरमा वा अभिव्यक्ति दिएकै भरमा त्यस विरुद्ध खनिएका छन् साम्पाङ । यसले उनको असली स्वरूप देखाएको छ । सामाजिक सञ्जालमा देखिएको लोकप्रियताको आडमा उनी अलोकतान्त्रिक बन्दै गएका छन् ।

समर्थकले ठगी गर्दा किन मौन ?

पार्टीको पत्रकार भनेर आलोचना गर्ने तर आफ्नै समर्थकले पत्रकार भन्दै ठगिगर्दा केही बोल्न नपर्ने के आइलाग्यो उनलाई ? धरान–१५ का साम्पाङ निकट तीर्थ बहादुर गुरुङ ठगी गरेको आरोपमा पक्राउ परे । सूचना विभागको कार्ड बोकेर हिँडेका उनले पत्रकारको हबला दिँदै धम्की दिने गरेका थिए । त्यस विषयमा साम्पाङले कुनै अभिव्यक्ति वा धारणा सार्वजनिक गरेका छैनन् । 

अभियानमा आएको रकमको पारदर्शिता खोइ ? 

भ्रष्टाचार विरुद्ध अभियान चलाउने उनी आफै अपारदर्शी छन् । विगतमा भ्रष्टाचार, खानेपानी अभाव र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारमा उनले आन्दोलन चर्काए । खानेपानी बोर्डमा अनियमितता भएको विषयमा उनले खबरदारी गरे । 

बोर्डको विधान अनुसार धरान उपमहानगरपालिकाको मेयर बोर्डको अध्यक्ष हुने प्रावधान छ । तर साम्पाङ निर्वाचित भएदेखि एक पटक पनि बोर्डको बैठक बस्न सकेको छैन । आयव्ययको कुनै विवरण सार्वजनिक गरिएको छैन । बोर्डको अध्यक्षको पदभार समेत ग्रहण गरेका छैनन् । खानेपानीको लागि श्रम अभियान चलाएका उनी बाकी विषयमा जबाफदेही बन्नै नपर्ने जस्तो बुझाइमा छन् ।  

खानेपानी अभियानको नाममा आएको जिन्सी तथा नगदको हिसाब किताब उपमहानगर सँग छैन । हरेक शनिवार लाखौँ सङ्कलन हुन्छ । विदेशबाट लाखौँ रकम उनको अभियानलाई प्राप्त भएको छ । तर त्यो पैसा खोइ ? कसको खाताबाट चल्छ पैसा ? कसले कति दियो वा कुन शीर्षकमा खर्च भयो भनेर जनताले कसरी थाहा पाउने ? यो प्रश्नको उत्तर स्वयम साम्पाङ सँग छैन । उपमहानगरपालिकाले अपनत्व गर्ने गरी देखिँदैन उनको अभियान । हर्क साम्पाङले अभियान लाई उपमहानगरको बनाउन खोजेका छैनन् । 

आरोप लगाउने उनले चै जवाफ दिनु पर्दैन ?

अहिले पत्रकार प्रति असमान भाव राख्ने उनी आलोचनाको प्रतिकारमा उत्रिन्छन् । धरानको सुशासनको रटान लगाउने उनले घण्टाघरमा आफन्तलाई जागिर खुवाएको विषयमा कुनै जवाफ दिएनन् । बरु पत्रकार विरुद्ध खनिए । विगतमा सूचनाको हक प्रयोग गर्दै सडकबाट अभियान चलाएका उनी आफ्नो बारेमा आएका समाचारलाई प्रायोजितको संज्ञा दिन्छन् । खास भएको के हो यसबारे प्रष्ट पार्नु पर्दैन ? पत्रकार प्रतिको उनको व्यवहारको कारण धरानमा पत्रकारहरूको आन्दोलन जारी छ ।

त्यस बाहेक ठेक्का लगाउँदा कमिसनको खेल हुने उनको बुझाइ छ । बुझाइ मात्र हैन ठेक्का प्रति उनी अनुदार छन् । तर उनले चलाएको श्रमदान अभियानमा पैसा दिएर काम लगाइएको छ । अपारदर्शी हिसाबमा विना प्रतिस्पर्धा काम लगाउनु कत्तिको जायज हो ? यसको जवाफ दिनु पर्दैन ? 

यस बाहेक...

उनको पानी ल्याउने अभियानमा कार्यपालिका सदस्य देखी सम्पूर्ण राजनीतिक दलले समर्थन गरेका छन् । धरान आर्थिक तथा प्रशासनिक हिसाबमा गन्जागोल बन्दै गएको छ । स्थानीय युवालाई रोजगारी सृजना गराउने उद्देश्यले सुरु भएको औद्योगिक क्षेत्र निर्माणको अभियान रोकिएको छ । नयाँ उद्योग र लगानी भित्राउने खास योजना छैन । आन्तरिक आम्दानीका श्रोतहरू खुम्चिँदै गएका छन् । धरानका व्यापारी व्यवसायी पलायन हुने अवस्थामा पुगेका छन् । यसबारे कुनै तयारी देखिँदैन ।