धरान : धरानको विजयपुर स्थित पिण्डेश्वर मन्दिरमा वैदिक कर्मकाण्ड समूहले जलवृष्टि र प्रचण्ड गर्मीको शान्तिको कामना गर्दै वैदिक कर्मकाण्ड पद्धतिद्वारा रुद्राभिषेक र हवन पर्जन्य महायज्ञ सम्पन्न गरेको छ। पानी पार्न, मौलिक कला, परम्परा संस्कृतिको जगेर्नाका साथै विश्व समुदायको सुख-शान्तिको कामना गर्दै बृहत् लघु रुद्री साथै विभिन्न स्तोत्र जप लगाइएको हो। 
पिण्डेश्वर संस्कृत माध्यमिक विद्यालयका ११ जान बटुक सहित अन्य १५ जना गुरुहरूले लघु रुद्री, सप्तशती चण्डी, इन्द्रजप, गीता, यथाशक्ति भागवत, नाग जप, वरुण जप आदि विभिन्न वैदिक स्तोत्र एवम् मन्त्रहरूको जप गरेका थिए। यस कार्यमा ब्राह्मणहरू स्वयम् कर्ता भएर बिना दक्षिणा निःशुल्क मानव कल्याणका लागि पानी पार्न शिव लिङ्गमा जपसहित जलधारा गरिएको पण्डित सन्तोष नेपालले बताए । 
यस कार्यक्रमको व्यवस्थापन धर्मराज तिम्सिनाले गरेका थिए भने कार्यक्रमको संयोजन वैदिक कर्मकाण्ड समूह धरानका संयोजक समेत रहेका भवानी निरौलाले गरेका थिए ।
अनावृष्टिका कारण दुर्भिक्षका लक्षणसमेत देखिन सक्ने ग्रहयोग २०८० सालमा देखिएको प्राध्यापक डाक्टर चन्द्रमणी नेपालले बताए। यस वर्षको संवत्सरको नाम पिङ्गल हो जसको स्वामी अग्नि देवता भएको प्रभावले पनि प्रचण्ड गर्मी भएको उनले बताए । पिङ्गल संवत्सरमा गाई आदि दूधारु पशुहरूको हानी, वहानहरुको नाश, कम वर्षा र शासकहरूमा अचानक सङ्कट पनि उपस्थित हुनसक्ने योग रहेको उनको भनाइ छ ।  
कर्महरूको प्रायश्चित स्वरूप, अनिष्ट र दुर्योगहरूको शान्तिका लागि, कुनै अभावको पूर्तिका लागि कुनै सुयोग वा सौभाग्य प्राप्त गर्नका, लागि, रोगहरू हटाउनका लागि, देवताहरूलाई खुसी पार्नका लागि, अतिवृष्टि अनावृष्टि शान्तिका लागि, धनधान्य र उब्जनी बढाउनका लागि यज्ञ गरिएको  व्यवस्थापक धर्मराज तिम्सिनाले बताए ।
जति जप, पाठ, पूजा आदि गरिन्छ त्यसमा हवन अनिवार्य मानिन्छ। यज्ञ एक महत्त्वपूर्ण विज्ञान हो । यसमा जुन जुन वृक्षहरूको समिधा उपयोगमा ल्याइन्छ, तिनमा विशेष प्रकारका गुण हुन्छन्। के का लागि कस्तो प्रकारको सामग्री हवन गरिन्छ, त्यसको पनि विज्ञान छ। हवन गरिने वस्तुहरूको सम्मिश्रणबाट एक विशेष गुण तयार हुन्छ, जुन जलेपछि वायुमण्डलमा विशिष्ट प्रभाव पैदा हुन्छ। वेदका मन्त्रहरूको उच्चारणको शक्तिबाट त्यसको प्रभावमा अधिक वृद्धि हुन्छ। यसबाट यज्ञमा सहभागी व्यक्ति तथा यज्ञ स्थल वरिपरिको वायुमण्डलमा ठुलो प्रभाव पर्छ।
वैज्ञानिक तरिकाले कृत्रिम वर्षा गराउनुभन्दा यज्ञद्वारा वर्षा गराउनु पर्यावरणका लागि राम्रो हुने तिम्सिनाको भनाइ छ । व्यापक सुख समृद्धि, वर्षा, आरोग्य तथा शान्तिका लागि ठुलठुला यज्ञको आवश्यकता पर्दछ। ससाना हवनले पनि आफ्नो सीमा र मर्यादाभित्र लाभ प्रदान गर्ने गर्दछन् ।  तर हवन र यज्ञमा फरक‌ रहेको छ। हवन यज्ञको लघु रूप हो। कुनै पनि पूजा अथवा जप आदिका पछि अग्निमा दिइने आहुतिको प्रक्रिया हवनको रूपमा प्रचलित छ। यज्ञ कुनै खास उद्देश्यले देवता विशेषलाई दिइने आहुति हो ।
धर्मग्रन्थहरूमा अग्निलाई ईश्वरको मुख मानिएको छ। यसमा जे खुवाइन्छ अर्थात् आहुति दिइन्छ, त्यो ब्रम्हभोज हुन्छ। यज्ञको मुख अग्निमा आहुति दिनु परमात्मालाई भोजन गराउनु हो । यज्ञमा देवताहरूको आगमन हुने कुरामा कुनै शङ्का छैन । वैदिक धर्मग्रन्थहरूमा यज्ञको महिमा प्रशस्त गरिएको छ, वेदको पनि प्रमुख विषय यज्ञ नै भएको प्राध्यापक डाक्टर नेपालका भनाइ छ ।
pindeshwar-yagya-2