धरान : नेपालमा पहुँच र पैसा नभए देशको सेवा गर्नेहरूलाई कसैले चिन्दैनन् । उनीहरूलाई परेको पिर मर्काको कहीँ कसैबाट सुनवाइ हुँदैन, भन्ने कुरा बल्ल उनले अनुभव गरेकी छन् । जीवनको उर्वर समय दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा बिताएकी ६० वर्षीय एक आमाको अनुभव हो यो ।
पुर्ख्यौली थलो भोजपुर भएर काठमाण्डूमा बसोबास गर्दै आएकी राममाया (नाम परिवर्तन)ले धरानमा भएको भेटमा पछिल्लो समय पढ्न र केही गर्न विदेश जाने सन्तानको माया, उनीहरूको भविष्यका विषयमा मार्मिक कथा सुनाइन् ।
पछिल्लो कालखण्डमा मध्यम, निम्न मध्यम वर्गका नेपाली परिवारबाट पढ्न बिदेसिएका सन्तानका बारे सुख र दुःखका दुवै अनुभूति उनीहरूका बाआमाहरुमा पाइन्छ । ती अनुभवहरू भन्दा एक्लै छोरा, छोरी हुर्काएकी राममायाको अनुभव भने अलि फरक छ ।
चार वर्ष देखी अष्ट्रेलिया रहेको छोरालाई डिप्रेसन पीडित हुने गरी कुट्ने दोषीलाई कारबाही भयो भएन उनलाई थाहा छैन, त्यो भन्दा बढी निराश बिमारी छोरालाई नेपाल फर्काउन गरेको प्रयासमा कसैले चासो नदिएपछि उनी निराश बनेकी छन् ।
उनले भनिन् ‘दुर्गम ठाउँहरूमा कसैले नचिन्ने गरिब दुःखीको स्वास्थ्य सेवामा जीवन बित्यो, उनीहरू जस्तै कसैलाई चिन्ने कुरा पनि भएन, दुःख पीडाको कुरा सुन्ने जमाना गएछ ।’ हेड इञ्जुर भई निको भए पनि त्यही घट्नापछि डिप्रेशनको बिरामी बनेका उनको छोरा सन्तनु (नाम परिवर्तन) अष्ट्रेलियामा ४ वर्ष देखी न काम गर्न पाएका छन् न पढ्न नै पाएका छन् ।
भवितव्यको घट्नामा छोराले व्यहोर्नु परेका झमेला टुङ्गो नलागे सम्म उनलाई नेपाल फर्काउन मिल्दैन भनेको छ, काम, दाम बिना चिनेजानको भर कति गर्ने ? उनी भन्छिन् । उनले प्रश्न गरिन् ‘म आमा नेपालमा कसरी मन थामेर बसेको हुँला ?’
उनका अनुसार छोरा प्लस टू पास गरेपछि २१ वर्षका उमेरमा पाँच वर्ष अघि सिड्नी गएका हुन । उनी भावुक स्वभावका थिए । फोनमा नियमित आमासँग कुराकानी गर्थे । पढ्दै काम गदै महिनामा ऋण तिर्न खर्च पठाउँथ्यो ।
गएको वर्ष दिन पुग्दा छोरो भावनामा बगेर कुरा गर्ने भएको अनुभव सुनाउँछिन् । विदेश गएका सन्तानप्रति आशावादी मध्यम, निम्न मध्यम वर्गका परिवारको कथा भन्दा फरक छैन उनको पीडा पनि । छोरोलाई घर बन्धकीमा भएको, आमाको एक्लो जीवनको चिन्ताले भावुक बनाएको उनको अनुभव छ ।
भन्छिन् ‘मैले सोचे, काम र पढाइको बोझले भावुक बन्यो छोरो, मैले कति घर फर्क छोरा भने मानेन, म आएर के गर्ने आमा भन्थ्यो ।’ दिनहरू यसरी बित्दै थियो । त्यत्तिकैमा एक दिन छोरा कामबाट घर फर्किदा एक जना मान्छेसँग बाटोमा ठोक्किएछ । कामले थाकेर कोठा पुग्ने हतारमा त्यस्तो भएको हुनसक्छ ।
अञ्जानमा ठोक्किँदा अहिले सम्म अज्ञात रहेको त्यो मानिसको हातको सामान झारेपछि उनले छोरालाई एक बक्सिंङ हानेर भुईँमा पछारिदिए । भुईँमा टाउको बजारिएर छोरा त्यहीँ बेहोस भए । आमाले भनिन् ‘अस्पताल पुर्याएपछि थाहा भयो मेरो छोराको हेड इन्जुरीबाट बेहोस भएको रहेछ ।’
उनलाई बक्सिङ हान्ने मानिस उनी ढल्ने बित्तिकै फरार भए । बाटोमा मानिस ढलेको देखेर अरूले एम्बुलेन्स बोलाई अस्पताल पुर्याएको समाचार त्यस बेला अष्ट्रेलियाको अनलाइनमा पनि आएको थियो । ४ वर्ष बित्यो । आमाले भनिन् ‘विदेशमा यस्तो पनि हुँदो रहेछ, अहिले सम्म मेरो छोरोलाई कुट्नेलाई कर्वाही भयो भएन केही थाह छैन ।’
उक्त घट्नामा गम्भीर घाइते छोरा कोमामा समेत पुगेको थियो । अस्पतालमा ७ दिन आइसीयुमा राखेपछि बल्ल होस खुलेको उनले बताइन् । भावुक छोराको हताश मानसिकतामा ‘हेड इञ्जरीले’ थप आघात पुर्याएको उनको रुममेटको भनाई उद्धृत गर्दै उनले बताइन् ।
उनले भनिन् ‘त्यही एक्सीडेन्टको कारणले त्यसपछि छोरालाई झन् डिप्रेसन भयो ।’ निको भएपछि काम गर्न सुरु गरेको थियो । गीताले थपिन् ‘पैसा पठाउनु बन्द भयो मैले पनि मागिन, धन्न छोरा बाँच्यो त्यो कुरा ठुलो हो भनेर खुसी भएँ, नत्र परदेशको कुरा, जे पनि हुन सक्थ्यो भनेर चित्त बुझाएँ ।’
उक्त घट्नापछि छोरामा डिप्रेसनको प्रभाव बढ्यो । एक रात कामबाट थाकेर रुममा आएको बेला साथीले ढोका नखोलेको झोँकमा ढोकामा लातले हानेछन् । नेपाली साथी भए त माफी मागेर कुरा मिल्थ्यो पनि होला । साथी विदेशी गोरा पर्यो ।
तिनले ढोका खोलेर बाहिर आएर छातीमा समातेर हात बटारी दिएपछि छोराले पनि बचाउ गर्न किचेनबाट आलु काट्ने छुरी लिएर देखाउँदा भएको तनातानमा साथीको हातमा सानो चोट परेको छोरालाई उद्धृत गर्दै उनले बताइन् । भनिन् ‘त्यही झगडालाई उसको गोरा साथीले ‘मलाई मार्नु आयो भनेर’ प्रहरीमा रिपोर्ट गरेपछि छोरो अहिले सम्म मुद्दा खेप्दै छ ।’
डिप्रेसनका बिरामी माथि लागेको थप मुद्दाले उनी थप मानसिक तनावमा परे । छोरा अहिले हप्तामा ३ दिन प्रहरीमा हाजिर हुनुपर्छ । अर्थात् महिनामा १२ दिन प्रहरी कार्यालयमा हाजिर हुन जानु पर्छ । उनले भनिन् ‘उसले डिप्रेसनकै कारण २ पटक सुसाईड गर्न मेडिसिन खाइसक्यो ।’
गएको डिसेम्बरमा पनि मेडिसिन खाएर हस्पिटल पुर्याउनु पर्यो । छोराकै मुद्दा र बिरामीका लागि अष्ट्रेलिया जानु परेको बताउँदै उनले भनिन् ‘अष्ट्रेलिया गएर ३ महिना केयर गरेर आएँ, छोरा डिप्रेसनमा छ, काम छैन, बस्ने खाने ठाउँ छैन फेब्रुअरीमा केसको डिसिजन थियो ।’
उनले थपिन ‘आमा छोरा कोर्ट गयौ, केशका डिसिजन नभए सम्म नेपाल फर्कन गर्न मिल्दैन भन्यो । अर्काको देशमा के गर्नु चुपचाप लागेर फर्किन बाध्य भएँ ।’ त्यहाँको सरकारले छोरा एक किसिमको मानसिक बिरामी भएको जनाएको छ । बिरामी निको नभए सम्म केसको डिसिजन गर्न मिल्दैन भनेको छ ।
सरकारी तवरमा उनको स्वास्थ्य परीक्षण गर्ने डाक्टरले उनको बिरामी अर्गेमिक स्पइचोसिस orgyemic psychosis भनेर डाइग्नोसिस गरेको छ । सुनवाइ नभए सम्म नेपाल फिर्ता ल्याउन पनि दिँदैनन् । उनको भनाई छ ‘उसलाई उपचार गर्नुपर्छ, अष्ट्रेलियामा बसेर कसले हेर्छ ? समयमा औषधी कसले दिन्छ ?’
छोरालाई त्यहाँको कोर्टले दोषी ठहर्याएर थुनामा पनि राखेको छैन । काम गर्न, पढ्न पनि पाएको छैन । उनी अहिले दाजु पर्ने आफन्तको निर्भर छन् । आमा भन्छिन् ‘डिप्रेसन भएको मानिसलाई कति दिन मद्दत गर्ला विदेशमा, अर्को कुनै घटना भए ?’ उनी दोषी भए थुनेर राख्नुपर्थ्यो त्यो पनि भएको छैन । फिर्ता नेपाल ल्याउन पनि पाइएको छैन ।
उनलाई उपचारका लागि साथी भाइहरूले ठुलो गुण लगाउँदै आएको उनले बताइन् । पछिल्लो समय छोरालाई सुधार केन्द्रमा राखिएको छ भन्ने सुनिएको छ । तर उनको अवस्था के छ थाहा पाउन नसकिएको उनले बताइन् ।
उनले भनिन् ‘छोरो करिब एभनर्मल भैसकेको छ ।’ छोरा अहिले कहाँ छ कुन हालतमा छ केही थाहा छैन, रातभरि मन पोल्छ आमा हो नि कसरी चित्त बुझाउनु ? अश्रुपुरीत आँखा सहित उनले भनिन् ।
आफ्नै देश नेपालमा अहिले सम्म मुद्दा मामिलामा अड्डा अदालत नधाएको उनी छोरालाई नेपाल लिएर आउन सकिन्छ कि भने विदेशमा कोर्ट सम्म पुगिन । उनले भनिन् ‘सबैले देख्दा विदेश घुमेर आएको देख्छन् तर मेरो मन भित्र कति छिया छिया भयो होला छोरालाई वेवारिसे अवस्थामा छोडेर फर्कनु पर्दा ?’
छोराको ‘उद्धार’गरिदिनु पर्यो भनेर अर्काको देशमा कतिलाई हार गुहार गर्दै हात जोडेँ तर कसैलाई फुर्सद भए पो सुन्थ्यो । छोरोलाई नेपाल फर्काउन गैर आवासीय नेपाली महासङ्घसँग पनि हारगुहार गरिन् । कोर्टले टुङ्गो नलगाए सम्म केही गर्न नसकिने जवाफ दिए । नेपाल सरकारको कूटनीतिक प्रयास भए केही हुनसक्छ भन्ने विश्वासमा उनी परराष्ट्र मन्त्रालयमा पनि धाइन् ।
उनले भनिन् ‘परराष्ट्र मन्त्रालयका हाकिमहरूले राजदूतावास मार्फत सोधखोज गर्ने काम समेत गर्न जरुरी ठानेन केही गर्न सकिन्न भन्ने जवाफ दियो ।’ वैधानिक रूपमा गएको एक नेपाली नागरिकको अवस्था के छ भन्ने सामान्य जानकारी पाउन मात्र पनि राजनीतिक पहुँचवाला नागरिक नै हुनुपर्ने रहेछ भन्ने तितो अनुभव आफूले गरेको उनले बताइन् ।