इटहरी : मङ्गलवार कृष्ण प्रणामी मन्दिर साहित्यिक माहौलले रङ्गियो । हरेक साँझ कृष्णका भजन र आरतीले गुन्जिने मन्दिरमा स्रिङगारिक कविता र धर्म निरपेक्षताको बहस भयो । प्रगतिशीलता र धार्मिक स्वतन्त्रताबारे कुरा भए । भजनको लयमा मुग्ध रहने मन्दिरका टुँडालहरूमा स्ल्याम पोयट्रिको छुट्टै आवाज गुन्जियो ।

धार्मिक स्थलमा नेता र साहित्यकारको अपवादपूर्ण भेट भयो । भेटघाटका श्रोत उनै विश्वेश्वर प्रसाद कोइराला हुन् । कोइराला नेपाली काँग्रेसका संस्थापक नेता, प्रथम जननिर्वाचीत प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रणेता, दक्षिण एसियामा प्रभावशाली छवि भएका व्यक्तित्व हुन् ।

त्यसभन्दा बाहेक उनी प्रसिद्ध साहित्यकार हुन् । उपन्यास र कथा मार्फत नेपाली साहित्यमा उनको छुट्टै प्रभाव छ । कवि देवान किराँती उनको व्यक्तित्वलाई सरल भाषामा व्याख्या गर्छन् । उनी भन्छन्, ‘जसले जसरी बुझ्न चाहन्छ बिपी त्यही हुन् । तर बिपी बिनाको नेपाली राजनीति र नेपाली साहित्य अपाङ्ग हुन्छ ।’

बिपीको त्यही साहित्यिक पाटोको विषयमा मङ्गलवार चर्चा भयो । नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर २ (क) ले कार्यक्रम आयोजना गरेको हो । क्षेत्रीय सभापति सुवेच्छुक देवान कार्यक्रममा राजनीति प्रभाव नपरोस् भनेर निक्कै सचेत भए । पूर्णतः साहित्यिक कार्यक्रम बनाउन उनले मेहनत गरे ।

कविता वाचन, स्ल्याम पोयट्री र साहित्यमा बिपी गरी तिन चरणमा कार्यक्रम भयो । कविता वाचन गर्न पुगेको नाट्यकर्मी तथा कवि प्रज्वल पराजुलीले बिपीको व्यक्तित्व बारे थोरै चर्चा सुनाए । बिपीको कथा दोषी चस्माबारे यसअघिनै आफूहरूले नाटक प्रदर्शन गरिसकेको उनले अनुभव सुनाए । खुसी व्यक्त हुँदै उनले काँग्रेसले बिपीलाई सम्झिएकोमा धन्यवाद दिए । दुई वटा कविता वाचन पश्चात् पुनः बिपीको कथा ‘शत्रु’ माथि नाटक तयार भइरहेको जानकारी गराए ।

कवि सविता गौतमले पनि बिपीलाई काँग्रेसले सम्झिएकोमा धन्यवाद दिइन् । कवि टिका आत्रेय बिपीको साहित्यिक चेतनालाई राजनीतिक पार्टीले बुझ्न खोज्नु खुसीको कुरा भएको बत्ताउँछिन् । कार्यक्रममा रमेश सायन, सुदीप पाख्रिन लगायतले कविता वाचन गरेका थिए ।

साहित्यमा बिपीबारे चर्चा गर्दै प्राध्यापक डाक्टर रामजी तिम्सिनाले काँग्रेसले बिपीलाई सम्झिएकोमा आश्चर्य व्यक्त गरे । १५ वर्ष पछि काँग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी भएको उनले सुनाए । बिपीको साहित्य र राजनीतिमा कुनैपनि अलमल नभएको बताउँदै एक प्रगतिशील चेतनाका सशक्त साहित्यकार भएको उनले बताए ।

धर्म निरपेक्षताको विषयमा बिपी त्यही बेला प्रष्ट भएको उनको धारणा थियो । उनले बारम्बार काँग्रेसले बिपी सम्झिएकोमा खुसी व्यक्त गरे । बिपीको साहित्य बुझ्न सके समाज र राजनीति बुझ्न सहज उनको भनाइ थियो ।

स्ल्याम् पोयट्रीमा सहभागी भएका कवि योगेन्द्र पराजुलीले राजा महेन्द्रले बिपीलाई सुनाएको कवितानै वाचन गरे । बिपीको साहित्यिक रचनाले चेतनाको धरातल फराकिलो बनाउने उनले बताए । उनीसँगै कविहरू शकुन्तला मञ्जरी र किरण चौलागाईले कविता वाचन गरे ।

कार्यक्रमका प्रमुख अतिथि काँग्रेस केन्द्रीय सदस्य राजीव ढुङ्गानाले युवा पुस्ताले बिपी कोइरालाका कृती पढ्नुपर्ने बताए । बिपी साहित्यमा अराजकतावादी र राजनीतिमा समाजवादी भएको उनको धारणा थियो ।