- दिनेश न्यौपाने
गएको हप्ता भदौ २४ देखि तिन दिन सम्म काँग्रेस केन्द्रीय कार्यालयले वीपी कोइरालाको ११० औँ जन्म जयन्ती ‘वीपी साहित्य महोत्सव’ कार्यक्रम सहित मनायो । वीपी नेपालको लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष थिए । उनले लोकतन्त्र प्राप्तिको लागि सम्झौताहीन सङ्घर्ष गरे ।
वीपीले राजनीतिक उद्देश्य प्राप्तिको लागि प्रतिपादन गरेको विचार धारा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद हो । यसको व्याख्या विभिन्न सन्दर्भमा वीपी आफैले गरेका छन् ।
यी विचारमा राष्ट्रियता शब्द अर्थपूर्ण छ । वीपीले भारतको निर्वासन त्यागेर राष्ट्रिय मेलमिलापको नारा लिई नेपाल फर्किदा नेपालको राष्ट्रियता खतरामा रहेको सन्देश दिएका थिए ।
राष्ट्रियता रक्षाको लागि राजा र आफू बिच मेलमिलाप हुनुपर्ने उनको जोड थियो । उनी आफू प्रजातान्त्रिक शक्तिको प्रतिनिधि र राजा परम्परागत शक्तिको प्रतिनिधि भएकोले दुई बिच मेलमिलाप भए मात्र राष्ट्रियता सुरक्षित हुने धारणा राख्थे ।
राजाको नेतृत्वमा सञ्चालित निरङ्कुश पञ्चायती व्यवस्थामा राष्ट्रियता माथि जुन सङ्कट आइपरेको थियो, त्यस्तै सङ्कट अहिले देखिन थालेको छ । आज वीपीले गरेको राष्ट्रियता माथिको सङ्कटको व्याख्या काँग्रेसले भुलिसकेको छ । यद्यपि नेपालको सीमित बौद्धिक र राजनीतिक क्षेत्रले राष्ट्रियताको अवस्था र सङ्कटप्रति चिन्ता गर्न छाडेको छैन ।
काँग्रेसमा वीपीको मृत्युपछि आएको कुनै पनि नेतृत्वले उनको विचारहरूको न सामयिक व्याख्या ग¥यो, न त नयाँ भाष्य र वैचारिक आधार प्रस्तुत गर्यो । नेपालको विभिन्न भूभाग भारतले कब्जा गरेको छ । भारतीय र तेस्रो देशको नागरिकको आगमन र बसाई बढ्दो छ ।
व्यापार घाटा र भारतलाई मात्र लाभ हुने वाणिज्य सन्धि यथावत् छ । उसको थिचोमिचो, हेपा प्रवृत्तिमा कुनै परिवर्तन आएको छैन । तर, काँग्रेस यस बारेमा कुनै चिन्ता गर्दैन र आज काँग्रेस विचार विहीन अवस्थामा पुगेको छ ।
वीपीको विचारधारा समाजवाद पनि हो । उनको समाजवाद आजको सन्दर्भमा अपूर्ण होला । तर त्यसलाई समय सापेक्ष बनाउने र व्याख्या गर्ने काम काँग्रेस पार्टीको हो । तर, पार्टी नेतृत्वको गतिविधि हेर्दा समाजवाद उनीहरूलाई बोझ भए जस्तो देखिन्छ ।
लोकतन्त्रलाई राष्ट्रियताको संरक्षण र सम्वद्र्धन गर्ने माध्यम बनाउन सकिन्छ । हामीलाई लोकतन्त्र प्राप्त भयो तर बलियो राष्ट्रियता र सबल अर्थतन्त्र निर्माण कसरी गर्ने ? बारेमा काँग्रेसमा गम्भीर छलफल हुँदैन । सत्ता र शक्तिलाई साधन स्रोत दोहन गरेर सुखभोग र सम्पत्ति आर्जनको माध्यम बनाउने काम भएको छ ।
अहिले काँग्रेस प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा बनेको गठबन्धन सरकारमा सहभागी भए पनि उसले प्रभावकारी भूमिका खेल्न सकेको छैन । यद्यपि, राष्ट्रियता लोकतन्त्र र समाजवादको सुदृढीकरण गर्ने दायित्व सबै लोकतान्त्रिक दलहरूको हो ।
वीपीले निर्माण गर्ने खोजेको देश कस्तो हो ? उनले गरेको राष्ट्रियताको परिभाषा पूर्ण छ, कि छैन ? समाजवाद आजको राष्ट्र, अन्तर्राष्ट्रिय परिवेश अनुकूल छ कि छैन ?
काँग्रेसले यी विषयमा गम्भीरतापूर्वक चासो लिएर वीपीको वैचारिक उत्तराधिकारीका रूपमा स्थापित गर्न सक्नुपर्छ । निश्चय पनि वीपीको समय र आजको समय भिन्न छ ।
हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको युगमा छौँ । तर काँग्रेसको लागि वीपी सान्दर्भिकता सकिसकेको छैन । वीपीको कतिपय विचार शाश्वत र तात्कालिक महत्वका छन् ।
त्यसलाई काँग्रेसले बुझ्न सक्नुपर्छ । वीपीको राष्ट्रियताको रक्षा र समाजवाद निर्माण गर्ने लक्ष्य अपुरो रहेको हुँदा काँग्रेसका नेता कार्यकर्ताहरूले अध्ययन गरी तिनको वर्तमान सन्दर्भमा सामयिक व्याख्या गर्न सक्नुपर्छ ।
अहिले हाम्रो राजनीतिक प्रणाली वीपीको विचार अनुसार नै छ तर यसको अभ्यास लोकतान्त्रिक संस्कार अनुरूप छैन । राजनीतिक व्यवस्था परिवर्तन भए पनि राज्यको समग्र चरित्रमा खासै परिवर्तन आएन । राजनीतिक संस्कार, चरित्र, चिन्तन, सोच र काम गराइमा हामीले कुनै ठुलो बदलाव ल्याउन सकेनौँ । वीपी भन्थे ‘लोकतान्त्रिक संस्कारको अभावमा लोकतन्त्र चल्न र फस्टाउन सक्दैन ।’
उनले लोकतान्त्रिक प्रणालीलाई जति महत्त्व दिएका थिए । त्यति नै महत्त्व लोकतान्त्रिक संस्कारलाई पनि दिएका छन् । आज काँग्रेस आफ्नो उद्देश्यबाट च्युत भएको छ ।
जसरी हुन्छ सत्ता प्राप्ति उसको प्राथमिकता भएको छ । राजनीति गर्नेहरूको परिवारले सत्ता र शक्तिको प्रयोग गरेर राज्यको साधन स्रोत लुट्न थालेका छन् ।
यस विकृतिबाट काँग्रेसलाई बचाउन पार्टी भित्रका ऊर्जावान, इमानदार, क्षमतावान्, दुरदृष्टि र दृढ, इच्छाशक्ति भएका नयाँ र पुरानो पुस्ता नेतृत्वमा आउन सक्नुपर्छ । विद्यमान नेतृत्वले पार्टीप्रति आम जनतालाई आकर्षित गर्न सक्दैन ।
लोकप्रियता घटेको पुराना नेताले नयाँलाई बाटो छोड्नुपर्छ । जनतामा आशा र भरोसा दिन सक्ने नेतृत्वले मात्र अहिलेको विकृति राजनीतिलाई सुधार गर्न सक्छ । अनि मात्र वीपीको विचार राष्ट्रियता, लोकतन्त्र र समाजवादको लक्ष्य प्राप्त हुन सक्छ । त्यसैले आजको समयमा पनि वीपी विचारको सान्दर्भिकता झन् बढेर गएको छ ।