• दिनेश न्यौपाने 

आगामी मङ्सिर ४ गते हुने सङ्घीय संसद् र प्रदेश सभाको निर्वाचनमा सहभागी हुन उम्मेदवारको चयन भैसकेको छ । उम्मेदवारहरू आफ्नो कार्यक्रम लिएर जनताको माझ गइरहेका छन् । २०७२ साल असोज ३ गते जारी भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान पछि यो दोस्रो निर्वाचन हुने गइरहेको छ । यस भन्दा अघि २०७४ मा पहिलो निर्वाचन भएको थियो । यस निर्वाचनमा एमाले र माओवादीले वाम गठबन्धनको नाममा करिब दुई तिहाइ मत हासिल गरेको थियो र उनीहरू बिच पार्टी एकता भएर नेकपाको गठन भएको थियो । 

समृद्धि र सुखी नेपालको नारा दिएर सत्तामा पुगेको नेकपा अन्ततः ओलीको अहकार र स्वार्थको कारणले विभाजन भयो । यस बिचमा ओलीले दुई पल्ट गैर संवैधानिक ढङ्गले संसद् विघटन गरे । उनको गैर संवैधानिक कदमलाई सर्वोच्च अदालतले बदर गरिदियो । यसपछि नयाँ शक्ति समीकरण बन्यो र नेपाली काँग्रेसको नेतृत्वमा माओवादी, सङ्घीय समाजवादी एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धन सरकार बन्यो । 

हालै सङ्घीय समाजवादी यो गठबन्धनबाट निकालिएर एमालेसँग गठबन्धन गर्न पुगेको छ । अहिले यिनै दलहरू विभिन्न नाममा गठबन्धन गरेर निर्वाचनमा होमिएका छन् । गएको स्थानीय निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनले सन्तोषजनक सफलता प्राप्त गरेको थियो । साथै काठमाडौँ र धरानमा बालेन शाह र हर्क साम्पाङको विजयले मतदाताहरू युवा उम्मेदवार प्रति आकर्षित रहेको देखिन्छ । यसर्थ यो निर्वाचनमा युवा उम्मेदवारहरूको विजय हुने सम्भावना प्रबल छ । 

यसै गरी १ नं. प्रदेश सभासद्को लागि सुनसरी जिल्लाको प्रतिनिधि सभा १ नम्बर क्षेत्र अन्तर्गत प्रदेश सभा (क) तर्फ युवा शक्तिको प्रतिनिधिको रूपमा उमेश थापा उम्मेदवार बनेका छन् । धरान-१५ मा जन्मिएर क्षेत्र नं. १ मा नेपाली काँग्रेसको राजनीति गरेको उनको राजनीति जीवन नेपाल विद्यार्थी सङ्घबाट सुरु भएको हो । हाल उनी नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट प्रदेश नं. १ का महामन्त्री बनेका छन् । 

उनले नेपाल रेडक्रस सोसाइटीको सुनसरी जिल्लाको सभापति भएर सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गरेका छन् । बाढी, पहिरो, आगलागी भूकम्प लगायत प्राकृतिक विपद्का घटनामा मानवीय सहायता प्रदान गरेका छन् । बाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार बनेका थापा विकास प्रेमी पात्रको रूपमा चिनिन्छन् । नेपाली काँग्रेसमा वृद्ध पुस्तालाई हटाएर युवाहरूले नेतृत्वमा आउनु पर्ने माग पार्टी भित्र र बाहिर जनमानसमा उठिरहेको बेला थापा जस्ता उम्मेदवारका लागि आफ्नो क्षमता देखाएर विजय हुने उचित अवसर हो । 

हरेक पार्टीमा ७० वर्ष नाघेका वृद्धहरू नेतृत्वमा छन् । युवा नेतृत्वमा पनि विद्रोहको सट्टा त्यही वृद्ध तन्त्रको चक्करमा घुमिरहेका छन् । यसर्थ थापा जस्ता उम्मेदवारले वृद्ध नेतृत्वबाट राजनीति नयाँ पुस्तासम्म पुर्‍याउन पर्छ । अनि मात्र विकास र समृद्धि नेपालको कार्यान्वयन हुनु पुग्छ । युवा उम्मेदवार थापामा पदमा पुगेर केही गरौँ भन्ने चाहना र हुटहुटी छ । 

यसर्थ मतदाताले यो निर्वाचनमा थापा जस्तो क्षमतावानलाई विजय गराउने छन् भनेर आशा गर्न सकिन्छ ।