धरान : दुवै मृगौला खराब भई गम्भीर अवस्थामा पुगेका सामाजिक अभियन्ता ५६ वर्षीय प्रेमप्रसाद पराजुली केहि दिन अघि बिपी प्रतिष्ठानको बेडमा शीघ्र स्वास्थ्यलाभको कामना गर्न गएका शुभेच्छुकहरूसँग फेसबुकमा देखिएका थिए । त्यहाँ प्रकट गरिएका थुप्रै ‘गेटवेल सुन’ ‘शीघ्र स्वास्थ्यलाभको कामना’हरूमा उनलाई नजिकबाट चिन्ने शुभेच्छुकहरूको गम्भीर चिन्ता प्रतिबिम्बित थिए ।
चौथो दिन गत बुधवार दिउँसो विजयपुर पुग्दा बुढासुब्बा मन्दिर गेटैमा रहेको पसलमा पराजुली आगन्तुक व्यवसायीसँग सामान्य अवस्थामा रुद्राक्षका बारेमा कुराकानी गरिरहेका भेटिए । धरानमा उनी रुद्राक्षका प्रमुख व्यवसायी पनि हुन । मृगौलाका गम्भीर बिरामी, आरामका बारेमा जिज्ञासा राख्दा उनले आत्मविश्वासपूर्वक भने ‘मरिन्छ कि भनेर डराउनु हुँदैन, म डराउँदिन ।’
पराजुलीले मृगौला, मुटु रोग विशेषज्ञ प्राडा.सञ्जीव शर्मालाई उद्धृत गर्दै भने ‘बाँच्ने भए छ महिना भित्र किड्नी ट्रान्सप्लान्ट गराउनु भनेर डाक्टरले भनेका छन् ।’ उपचार चलिरहेको छ । नेपालमा काठमाण्डौका ३/४ अस्पतालमा मृगौला प्रत्यारोपण हुन्छ । कहाँ सहज होला छोराले बुझ्ने कार्य गरिरहेको उनले बताए ।
उच्च रक्तचापको दवाई खाँदै आएका अभियन्ता पराजुलीलाई केही असजिलो महसुस भएपछि छ महिना अघि बिपी प्रतिष्ठानमा डा.सञ्जीव शर्माले जँचाए । त्यसै बेला उनको मृगौला खराब भएको देखिएको थियो । मृगौला बिग्रिने क्रमलाई दवाई, खानपिन परहेज गर्दा रोक्न सकिन्छ भनी हेरियो । अन्ततः उनको मृगौला प्रत्यारोपण नै गर्नुपर्ने निष्कर्षमा डाक्टर पुगे ।
धरान बजारमै खानेपानीको हाहाकार भइरहने समयमा विजयपुरको समस्यामा कसैको ध्यान नगएपछि २०७१ सालमा छुट्टै खानेपानी योजनाको नेतृत्व पराजुलीले गरे । धरानलाई फ्लोरिकल्चर एसोसिएसन मार्फत फुल, नर्सरीको व्यापारिक केन्द्र बनाउने कार्यमा उनले प्रमुख भूमिका खेले । धार्मिक पर्यटनबाट स्थानिय निम्न वर्गका सैकडौं परिवारलाई लाभ पुराउने पूजाका सामग्रीका पसलको चलन उनैले सुरु गरेका हुन ।
सामाजिक कार्य देखी निम्न मध्यम वर्गका परिवारलाई आत्मनिर्भर बनाउने व्यवसायको क्षेत्रमा अघि बढेका पराजुलीले पछि फर्केर हेरेनन् । उनले आफै नर्सरी उद्यम सुरु गरे । रुद्राक्षका दानको व्यापारमा उनले छुट्टै पहिचान बनाए । २०४२ तिर पिण्डेश्वरमा पुजारीका सहायक भएर काम गरेका उनी विवाह गरेपछि श्रीमतीका लागि सुरु गरेका सानो पूजा सामग्री पसलबाट अघि बढेका हुन ।
अहिले भने उनी माथि सङ्कट आइपरेको छ । यो सङ्कट उनी मृगौलाको बिरामी भएर मात्र होइन । उनकी श्रीमती विमला पराजुली ५ वर्ष अघि घरैमा लड्दा ‘स्पाइनल कड इन्जुर’ भएदेखि ओछ्यानमा परेकी छन् । उनको हेरचाह, आफ्नो औषधोपचार कसरी धानीरहेका होलान् ? उनले भने ‘अहिले त सबै कामको बोझ छोरा माथि परेको छ ।’
आमा, बुवाको उपचार देखी पसल, नर्सरी, रुद्राक्षको व्यवसायलाई छोराको सहयोगमा निरन्तरता दिन उनलाई ठुलो आत्मबल मिलेको छ । उनी भन्छन् ‘शरीरले साथ दिए सम्म जीवन हो, जीवन रहे सम्म मानिस सक्रिय हुनुपर्दछ ।’ सङ्कटको विकल्प हुन्छन् त्यो कसैले खोजी दिँदैनन् । आफै खोज्नु पर्छ । उनको भनाई छ ‘देश र समाजको सङ्कट र समस्या हेर्ने हो भने आफ्नो समस्या सानो लाग्छ ।’
जति बेला उनको नेतृत्वमा विजयपुरमा ४ किलोमिटर शिवजटा मुनीबाट पानी आयो, त्यस बेला उपभोक्ताहरूले २५ हजार रुपैयाँको साझेदारी गरेका थिए । उनले भने ‘अहिले त्यो पानीका धाराको मूल्य १ लाख रुपैयाँ भन्दा बढी पुगेको छ ।’ समस्यालाई सहज ढङ्गमा लिएमा पछि फर्केर हेर्दा त्यसको समाधानको मूल्याङ्कन गर्न सकिने उनको भनाई छ ।
तत्कालीन बुढासुब्बा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष पराजुलीका अनुसार उक्त योजनाबाट हाल विजयपुरका १३० घर परिवारले पानी खाइरहेका छन् । धाराको विस्तार नयाँ टोल देखी विजयपुर चौकसम्म पुगेको छ ।
सामाजिक कार्यमा उनको पहिलो अनुभव तितो र रोचक पनि छ । २०४५ सालको भूकम्पले ढलेको पिण्डेश्वर मन्दिर उत्तरको गणेश मन्दिर पुनर्निर्माण गर्न पराजुलीले २०५० सालमा पहल गरे । छलफलका लागि विजयपुरका विद्वानहरू सहित सबैलाई पत्र दिएर निम्तो गरियो तर कोही आएनन् । उनले भने ‘सूर्यप्रसाद उपाध्याय बाहेक कोही आएनन्, मलाई पत्याएनन् ।’
उनी पुनर्निर्माणको कुरा लिएर तत्कालीन वडाध्यक्ष पदमनरसिंह श्रेष्ठको सम्पर्कमा गए । श्रेष्ठले भने उनलाई हौसला दिँदै पुराना काठपातबाट मन्दिर पूनस्थापना गर्ने गरी ७ हजार रुपैयाँमा बन्ने पक्का भयो । काम सुरु गरी बजारका व्यापारीहरूसँग सहयोग माग्न जाँदा आश्चर्यजनक रूपमा इँटा, सिमेन्टको ओइरो लाग्यो । उनले भने ‘सात हजार रुपाको योजना ६५ हजार रुपैयाँमा पुरानै पक्की मन्दिर तयार भयो ।’
उनका अनुसार धार्मिक कामका लागि पहिले जुन उत्साहजनक सहयोग जुट्थ्यो पछिल्लो समय त्यस्तो पाइन्न । बुढासुब्बा मन्दिरको कम्पाउन्ड पर्खाल लगाउन प्रदेश सरकारको बजेट अपुग भएपछि निर्माण समितिको अध्यक्षका नाताले व्यापारीहरूसँग सहयोग माग्न जाँदाको अनुभव उनले सुनाए । भने ‘मन्दिरकै लागि भएपनि सरकारी काममा कुनै छुट समेत नहुने व्यापारीहरूले जवाफ दिए ।’ पक्कै कमिसन माग्न आउँछ भनेर हो कि ? उनले बताए ।
पछिल्लो समय विजयपुर स्थित धार्मिक स्थलहरूमा पूजाका सामान, फुल माला, मन्दिरको चिनोहरू विक्रीका ससाना पसलहरूबाट दुई अढाई सय परिवारलाई राम्रै आम्दानी भइरहेको छ । पराजुली भन्छन् ‘यो धरानको धार्मिक पर्यटनबाट निम्त वर्गका परिवारले प्रत्यक्ष लाभ पाउने माध्यम बनेको छ ।’ पहिलो पटक आफूले पिण्डेश्वरमा यस्तो पसल राख्दा आफूलाई विजयपुरका विद्वानहरूले बाहुनको नाक भाँच्यो सम्म भनेका उनी बताउँछन् ।
पूजाका समानको पसल राख्ने प्रेरणाको रोचक किस्सा उनले सुनाए । २०४९ साल तिर रेयुकाईमा अभियन्ता हुँदा काठमाडौँ भ्रमणमा लगिएको सम्झँदै उनले भने ‘खाली समयमा पशुपतिनाथ सहित केही मन्दिरहरू दर्शन गर्न जाँदा त्यहाँ पूजा सामाग्री फुल समेतको पसल राखेको देख्दा नौलो लाग्यो ।’ त्यसै बेला धरानमा पनि यो व्यवसाय चल्न सक्छ भन्ने लागेपछि पहिलो पटक पिण्डेश्वरमा पसल सुरु गरेको पराजुलीले बताए ।
नर्सरी व्यवसायमा लागेपछि पराजुली यसको व्यापार बढाउने उपायको खोजीमा लागे । उनले धरानलाई फुलको सहर बनाउने नारा प्रचारमा ल्याए ।
लाहुरेहरूको सहर धरानमा फुलका सौखिनहरूको बाहुल्यका नयाँनयाँ प्रजातिको खोजी अस्वाभाविक थिएन । उनले भने ‘यो अवस्थामा धरान फुलका बिरुवा नर्सरीको ठुलै केन्द्र बन्न सक्छ भन्ने लाग्यो ।’
फ्लोरीकल्चर एसोसिएसन केन्द्रीय समितिसँग सम्पर्क भएपछि उनले धरानमा सानो तिनो होइन ठुलै वा कम्तीमा पनि प्रदेश तहको नर्सरी व्यापार मेला आयोजना गरिनु पर्ने योजना प्रस्तुत गरे । परिणाम स्वरूप धरानमा प्रदेश स्तरका ५ वटा फ्लोरीकल्चर मेलाको सफल आयोजना भयो । फ्लोरीकल्चरको जिल्ला सल्लाहकार मात्र भएपनि व्यापार मेलामा पराजुलीको महत्त्वपूर्ण भूमिका छ ।
नर्सरी व्यवसायमा लाग्नुको प्रेरणा बारेमा पनि उनको रोचक अनुभव छ । पराजुलीले भने ‘घर किनेपछि वरिपरि फुल रोप्न उनी नर्सरीमा बिरुवा लिन गए, एउटाको १५० रुपैयाँ सम्मका बिरुवा किन्न पर्यो ।’ उनलाई लाग्यो फुलका बिरुवा बेचेर पनि आम्दानी गर्न सकिँदो रहेछ । घर छेउ खाली जग्गामा २०६७ देखी नर्सरी सुरु गरेका उनले रुद्राक्षलाई प्राथमिकता दिएर ‘बुढासुब्बा नर्सरी’लाई अघि बढाएका छन् ।
रुद्राक्षको नर्सरीसँगै अहिले उनी रुद्राक्षको दानाका थोक व्यवसायी समेत बनेका छन् । सङ्खुवासभा देखी भोजपुर सम्मबाट पराजुलीको रुद्राक्ष स्टोरमा दानाहरू आउँछन् । उनको पसलबाट स्थानिय बजार देखी काठमाडौँ सम्म रुद्राक्ष पुग्छ । केजीको हिसाब देखी लाखौँ मूल्यका रुद्राक्ष पराजुलीको पसलमा पाइन्छन् ।
मन्दिरको सामान्य सहायकबाट जीवन सुरु गरेका प्रेमप्रसाद पराजुली रुद्राक्षको व्यापार सम्म आइपुग्दा उनको परिवेश धार्मिक क्षेत्रमा केन्द्रित भयो । पछिल्लो समय उनको चिन्तन विजयपुरका धार्मिक स्थलहरूको भूमिका तर्फ लागेको छ । उनी भन्छन् ‘हजारौँ तीर्थयात्रीहरू यहाँ आउँछन् तर यहाँका धार्मिक स्थलहरूमा एक रात बस्ने सुविधायुक्त धर्मशाला सम्म छैन ।’
उनका अनुसार मन्दिरका आम्दानीका केही अंश कोषमा जम्मा गरिँदै गएको भए त्यसमा सरकारी गैरसरकारी सहयोग जुटाएर अहिले सम्म मन्दिरहरूकै स्वामित्वको सुविधा सम्पन्न सशुल्क गेस्ट हाउस, धर्मशाला निर्माण हुन सक्थ्यो । त्यसले धार्मिक स्थलको आम्दानी बढाएर विकास, सुधारका काममा सहयोग पुराउने उनको भनाई छ ।
पराजुलीले भने ‘धरान बजारको गीता मन्दिरमा हिजोआज दर्शनार्थीको भन्दा बास बस्न आउनेहरूको भीड हुन्छ, ठुलो आम्दानी छ ।’ विजयपुरमा दर्शनार्थीहरूका भीड लाग्छ बास बस्न पर्यो भने पैसा भएपनि बस्ने ठाउँ खोज्न हतारहतार बजार झर्नुपर्ने अवस्था भएको उनले बताए । भने ‘त्यसको लागि धापमएक स्थलहरूको जिम्मेवार व्यवस्थापन हुनुपर्यो ।’