इटहरी : कोशी प्रदेशको मुख्यमन्त्रीको लागि केन्द्रीय स्तरका नेतृत्वले चासो दिएका छन् । मुख्यतः नेपाली काँग्रेस र माओवादी केन्द्रका नेताहरू कसलाई मुख्यमन्त्रीमा अगाडी सार्ने भन्ने आन्तरिक तयारीमा छन् ।

यसअघि मुख्यमन्त्री भएका काँग्रेस संसदीय दलका नेता उद्धव थापा दुई पटक सर्वोच्च अदालतबाट बर्खास्तमा परेका थिए । काँग्रेस सभापति शेरबहादुर देउवाले थापालाई पुनः मुख्यमन्त्री बनाउनुपर्ने अडानमा छन् । तथापि थापाले बहुमत पुर्‍याउन नसक्ने सुझाव आएपछि उनी लचक हुनसक्ने देखिएको छ।

गठबन्धनका दलहरू बिचको प्रारम्भिक छलफलमा माओवादी संसदीय दलका नेता इन्द्र बहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने विषय चर्चामा छ । राप्रपाले आङ्बोलाई समर्थन गर्ने आशय व्यक्त गरेको भन्दै गठबन्धनका दलहरूले उनकै नाममा सहमति गर्ने प्रयास अगाडी बढाएका हुन् ।

गठबन्धनका दलहरूले निर्णय गर्न बाँकी रहे पनि नेता डाक्टर शेखर कोइराला थापा बाहेक काँग्रेसकै नेता मुख्यमन्त्री हुनुपर्ने अडानमा छन् । थापासँग संसदीय दलको नेतामा पराजित केदार कार्कीले उपधारा ५ अनुसार बन्ने मुख्यमन्त्रीको लागि तीव्र तयारी गरेका छन् । उपधारा ५ मा कुनै एउटा सांसदले बहुमत पुर्‍याए सरकार गठन गर्न सक्छ । दलको ह्विप नलाग्ने भएपछि कार्कीले स्वतन्त्र रूपमा अभियान चलाइरहेका छन् ।

काँग्रेस नेता डाक्टर शेखर कोइराला निकट मानिएका कार्की सकेसम्म गठबन्धनकै साझा उम्मेदवार बन्ने दाउमा छन् । गठबन्धनले समर्थन नगरे आफू निकट सांसद तथा नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बन्ने तयारीमा छन् उनी । संसदीय दलको बैठकमा पाएको ९ मत र नेकपा एमालेको उपसभामुख बाहेक ३९ मतले बहुमत पुर्‍याउने उनको तयारी छ । ९३  सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ सांसद आवश्यक पर्छन् ।

नेकपा एमालेले भने हालसम्म कसैले पनि सरकार गठनको लागि सहयोग आह्वान नगरेको कारण निर्णय गर्न सकेको छैन । एमाले प्रमुख सचेतक रेवती रमण भण्डारी कसलाई सहयोग गर्ने भन्नेबारे कुनै निर्णय नभएको बताउँछन् । उपधारा ५ मा सरकार गठन गर्न एमाले सहयोगी भूमिकामा रहने बताउँदै उनले मध्यावधि निर्वाचन तर्फ जाने बाटो बन्द गर्ने बताए ।

सङ्घीय सरकारको गतिविधि प्रति असन्तुष्टि जनाएका डा.कोइरालाले भने प्रदेशबाट विद्रोह गर्ने सङ्केत दिएका छन् । कार्की मुख्यमन्त्री भए त्यसको असर सङ्घीय सरकारमा समेत पर्ने सम्भावना छ । केन्द्रीय गठबन्धनबाट अलग नहुने सभापति देउवाको अडान र प्रचण्डको शैली प्रति असन्तुष्ट कोइरालाको अभिव्यक्तिले प्रदेश सरकार गठनमा प्रभाव पार्ने प्रस्ट छ ।

काँग्रेसका अर्का सांसद भीम प्रसाद पराजुली पनि मुख्यमन्त्रीको लागी लबिङमा छन् । पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला निकट उनी सिटौलाका हरेक कार्यक्रममा सहभागी हुँदै आएका छन् । सिटौला पक्षकै थापाले दुई पटक अवसर पाए पनि पद जोगाउन नसकेको कारण कोशी प्रदेशमा सोही लाइनबाट आफू मुख्यमन्त्री हुनुपर्ने उनको दाबी छ । तथापि उनको विषयमा काँग्रेस र गठबन्धनले कुनै आधिकारिक निर्णय गर्ने सम्भावना छैन । गठबन्धनको आधिकारिक निर्णय विना उनी दाबी गर्न सक्ने अवस्थामा छैनन् ।

कोशीमा निर्णायक रहेको राप्रपाले शुक्रवार बिहान पदाधिकारी बैठक बोलाएको छ । राप्रपाले गठबन्धनको निर्णयको आधारमा आफ्नो बाँकी गतिविधि अगाडी बढाउने भएको छ । यसअघि थापालाई समर्थन नगरेको राप्रपाले पुनः उनै उम्मेदवार भए कार्कीलाई समर्थन गर्ने सम्भावना छ । त्यसको लागि गठबन्धन छाडेर कार्कीले एमालेको समर्थन पाउनुपर्ने हुन्छ । माओवादीका आङ्बोलाई गठबन्धनले अगाडी सारे राप्रपा त्यसतर्फ लचक हुनसक्ने बुझिएको छ ।

तथापि कार्की पक्षका सांसद र एमालेले आङ्बोलाई समर्थन नगरेको अवस्थामा राप्रपाले समर्थन गरे पनि उनको दाबी पुग्दैन ।

प्रदेश प्रमुख पर्शुराम खापुङले सरकार गठनको लागि आह्वान गरेको समय शुक्रवार साँझ ५ बजे सकिँदै छ । शुक्रवार सम्म बहुमत सांसदको हस्ताक्षर सहित दाबी गर्ने सांसद मुख्यमन्त्री चयन हुने भएको छ ।