इटहरी : संविधानको धारा १६८ को उपधारा ५ अनुसार बहुमत सांसदको समर्थनमा मुख्यमन्त्री चयन भएका केदार कार्की नेपाली काँग्रेसमा विद्रोही स्वभावका नेता हुन् । अन्याय सहन नहुने र विद्रोह गर्नुपर्ने बताउँदै आएका उनलाई सोही स्वभावले मुख्यमन्त्रीको कुर्सीमा पुर्‍यायो ।

नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गरेका कार्की लोकतन्त्रलाई जीवन्त बनाउन विद्रोही चरित्र आवश्यक रहेको बताउँछन् । विद्यार्थी राजनीतिमा पनि पार्टी नेतृत्वसँग उनको फरक मत हुन्थ्यो । पार्टी राजनीतिमा आउँदा पनि उनको त्यही स्वभाव छ ।

नेबिसंघमा हुँदा देखिनै पार्टी संस्थापनको दबाबप्रति मुख्यमन्त्री खरो थिए । त्यही स्वभावका अभ्यस्त कार्कीले आफूलाई मुख्यमन्त्रीको दाबी गरेको उनलाई विद्यार्थी काल देखी चिन्नेहरू बताउँछन् ।

१४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पराजित कार्की कोशी प्रदेशसभामा दुई पटक निर्वाचित भए । पहिलो कार्यकालमा आन्तरिक मामिला मन्त्री भएका उनी अहिले मुख्यमन्त्री छन् ।

कार्कीलाई मुख्यमन्त्री बनाउने चाहना कांग्रेस र गठबन्धन दलको भने थिएन । असोज २६ गते गठबन्धनमा आबद्ध नेताहरूको सहमति अर्कै थियो । उनीहरू नेकपा माओवादी केन्द्रका इन्द्र बहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउन चाहन्थे ।

काँग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापा वा आङ्बो मध्ये एकलाई मुख्यमन्त्री बनाउने ताकमा थियो । पार्टीको संस्थापन समूह माओवादीलाई मुख्यमन्त्री दिन तयार हुन लागेको बेला कार्कीले त्यसको विरुद्ध विद्रोह गरे ।

परिणाम स्वरूप संविधानको दफाको उपयोग गर्ने अवसरबाट उनी मुख्यमन्त्री बने । प्रदेशसभा सदस्यले बहुमत सांसदको समर्थनमा मुख्यमन्त्री हुन पाउने संविधानको व्यवस्था अनुसार कार्कीले एमालेको साथ पाए ।

कार्की मुख्यमन्त्री चयन भएपछि काँग्रेस संसदीय दलका नेता थापाले पदबाट राजीनामा दिए । उपनेता हिमाल कार्कीले गठबन्धनबाट काँग्रेसले मुख्यमन्त्री नपाउने भएपछि अघिल्लै दिन राजीनामा बुझाएका थिए ।

मुख्यमन्त्री चयन भएपछि कार्कीले एमालेका राम बहादुर रानालाई सरकारमा सहभागी गराए । कात्तिक १ गते विश्वासको मत लिएका उनले राप्रपाका ५ सांसद बाहेक ८६ सांसदको समर्थन पाए । एमाले सहित नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपाले पनि समर्थन गरे ।

नेपाली काँग्रेस भित्र डा. शेखर कोइराला निकट कार्की मुख्यमन्त्री बनेसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिन पुगे । मध्यावधि निर्वाचन टार्न कार्कीलाई समर्थन गरेको बताउँदै आएको एमाले अन्ततः सरकारबाट बाहिरिएको छ ।

मुख्यमन्त्री नियुक्त भएसँगै पार्टी नेतृत्व र गठबन्धनका अन्य दलहरूले पनि कार्कीलाई समर्थन गरेर अगाडी बढ्ने निर्णय गरे । गठबन्धनलाई कमजोर बनाउन नहुने भन्दै डा शेखर कोइराला देखी कार्की सम्म नै नेताहरूको छलफल सुरु भयो ।

फलस्वरूप कार्कीले एमालेलाई छाडेर गठबन्धनको साथमा लिए । मुख्यमन्त्री एमालेलाई कूटनैतिक रूपमा सरकार बाहिर जान आह्वान गर्नु उनको विद्रोही स्वभावकै फेरिएका तरिका मानिएको छ । एमालेबाट मन्त्री भएका राम बहादुर रानाले पनि पदबाट राजीनामा दिएर मार्गप्रसस्त गरिदिए । जसले मुख्यमन्त्री कार्कीलाई गठबन्धनको सरकार विस्तारमा सहज भएको छ ।

सरकारको नेतृत्वमा पुगेका कार्की पार्टी नेतृत्व र सरकार नेतृत्वको गठबन्धनमा लचिलो बन्दै गएका छन् । कोशी प्रदेशको कारण अन्य प्रदेशमा पनि गठबन्धन समस्यामा पर्ने आकलन भइरहेको बेला कार्कीले लचकता देखाएका हुन् । कार्कीको पछिल्लो गतिविधिले गठबन्धनको निरन्तरतालाई सहज बनाएको छ ।