इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई सरकारमा समेट्ने भएका छन् । शुक्रवार मन्त्रीपरिषद् विस्तार गर्दै कार्कीले एमालेको सहमति विनै माओवादी र नेकपा एसलाई सरकारमा समेटेका हुन् ।

मुख्यमन्त्री कार्कीले माओवादीका र नेकपा एसका एक-एक जनालाई मन्त्री मण्डलमा समेटेका हुन । शुक्रवार नै मन्त्रीहरूको शपथ गराउने योजना रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

माओवादी केन्द्रबाट मोरङ क्षेत्र नम्बर २ (क) बाट निर्वाचित सांसद गणेश उप्रेती र नेकपा एसबाट पाँचथरका कमल जवेगु मन्त्री नियुक्त हुन लागेका हुन् । जबेगु यसअघि पनि उद्धव थापाको नेतृत्वको सरकारमा सहभागी भएका थिए ।

गत असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले मन्त्रिपरिषदमा यसअघि एमालेबाट रामबहादुर राना मगर र काँग्रेसका शमशेर राई मन्त्री बनाएका छन् ।

केन्द्रीय सरकारको गठबन्धनमा आबद्ध दलहरूकै सरकार गठन गर्ने योजना अनुसार कार्की अगाडी बढेका हुन् । यसअघि गठबन्धनमा विद्रोह गरेर काँग्रेसका ८ र नेकपा एमालेका ३९ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री चयन भएका हुन् ।

कार्कीले माओवादी र एसलाई समेट्ने भएपछि एमालेले सरकार छाड्ने भएको छ । पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीले एमाले सँगको सहमति कार्यान्वयन नभए सरकार बाट बाहिरिने बताएका छन् । माओवादी र एसलाई सरकारमा सहभागी गराए बाहिरिने बताउँदै आएको एमाले प्रतिपक्षीको भूमिकामा रहने भएको छ ।