इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एमालेसँग छलफललाई तिब्रता दिएका छन् । सोमबार एमाले नेताहरूसँग छलफल गरेका कार्कीले अहिले सरकारमा सहभागी दलकै सरकार निरन्तर हुने सङ्केत गरे ।

असोज २७ गते एमालेका ३९ र नेपाली काँग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्री चयन भएका कार्कीले सरकार गठनमा पनि त्यहीँ अनुसार अगाडि बढ्ने अडान लिएका छन् । कोशी प्रदेशको अङ्क गणितले एमाले बाहेकको सरकारले काम गर्न नसक्ने बताउँदै उनले सरकारलाई प्रभावकारी बनाउन एमाले चाहिने धारणा राखेका छन् ।

नेकपा एमाले कोशी प्रदेश सभाका प्रमुख सचेतक रेवतिरमण भण्डारीले सोमबारको छलफलमा सम्पूर्ण विषय टुङ्गो नलागेको बताएका छन् । मंगलबारको छलफलमा सरकारमा मन्त्रालयको भागबन्डा देखि न्यूनतम साझा कार्यक्रम लगायत विभिन्न विभागको समेत टुङ्गो लाग्ने कपुरी न्युजलाई बताए । केही दिनभित्र मन्त्रालय बिस्तार हुने बताउँदै भण्डारीले अब प्रदेश सरकारले गति लिने विश्वास व्यक्त गरे ।

कात्तिक १ गते एमाले, काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले कार्कीलाई विश्वासको मत दिएका थिए । केन्द्रीय सत्ता गठबन्धनका शीर्ष नेताहरूले मुख्यमन्त्री कार्कीलाई एमाले विनाको मन्त्रिपरिषद् विस्तार गर्न निरन्तर दबाब दिँदै आएका छन् । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बारम्बार एमालेलाई सरकार छाड्न आग्रह गर्दै आएका छन् ।