धरान : पुष अन्तिम तिर आउँदा आज शनिवार बिहान ५ बजे तापक्रम १३ डिग्री सेल्सीयस थियो । २ वर्ष अघि आजकै दिन सन् २०२२ जनवरी १३ का दिन धरानको तापक्रम ११ डिग्री सेन्सीयस सम्म झरेको थियो । १२ वर्ष अघि सम्म पुष महिनामा धरानको तापक्रम न्यूनतम ५ डिग्री सेल्सियस सम्म झर्ने गरेको थियो । सर्वसाधारणलाई चिसो महसुस भए तापनि धरानको तापक्रम भने बढ्ने क्रममा रहेको यसबाट बुझिन्छ ।
११ वर्षअघि सन् २०१३ जनवरी १३ का दिन धरानवासीले पहिलो पटक अत्यधिक चिसो र बाक्लो कुहिरो बिच शितवर्षा भएको अनुभव गरे । देशभरी अत्यधिक चिसो अनुभव गरिएको बेला सामान्य स्थितिमा रहने धरानमा कुहिरो नलाग्ने र शितवर्षा हुने गरेको थिएन । त्यस दिन न्यूनतम तापक्रम ७ दशमलव शून्य थियो ।
त्यसको अघिल्लो वर्ष तापक्रम ५ डिग्री सेल्सियस सम्म झरेको थियो । २०५० यता धरानमा न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस र अधिकतम तापक्रम ३० दशमलव ६३ सम्म रेकर्ड गरिएको थियो । पछिल्लो समय यसमा परिवर्तन हुदैं २०६८ मा न्यूनतम ५ डिग्री सेल्सियस तथा अधिकतम ३७ डिग्री सेन्सीयस सम्म रेकर्ड गरिएको तथ्याङ्क पाइन्छ ।
यो तथ्याङ्कले यहाँको पर्यावरण तथा मौसम दशक यता द्रुतगतिले विग्रदों अवस्थामा जाँदै छ भन्ने देखाउँछ । धरान न पहाड न तराई दुवै भौगोलिक अवस्थाको बिचमा रहेको अत्यन्तै राम्रो पर्यावरण भएको बजार हो । यहाँ तराईको जस्तो शीत वर्षा नहुने भएकाले शीत लहरको खतरा हुँदैन ।
धरानको मौसममा आएको यो बदलावलाई विश्वव्यापी ‘जलवायु परिवर्तन’ सँग जोडेर पनि विज्ञहरूले व्याख्या गर्लान् । बढ्दो सहरीकरण, जनघनत्व र स्थानिय सरकारको पर्यावरण संरक्षणको ठोस नीति कार्यक्रम नहुँदा पनि धरानको पुरानो प्राकृतिक अवस्था अहिले पाइन्न ।
चार दशक अघि तिरको कुरा हो । दार्जिलिङका साहित्यकार तुलसी बहादुर अपतन पहिलो पटक धरान आउँदा यहाँको प्राकृतिक सौन्दर्यतामा यहाँको मौसमले सुनमा सुगन्ध थपेको अनुभव स्थानिय साहित्यकारहरू लाई बताएका थिए । मौसमको विशेषताकै कारण यहाँ काग नदेखिएको उनले आफ्नो छोटो बसाइँको अनुसन्धानबाट पत्ता लगाएको छुट्टै रोचक अनुभव सुनाएका थिए ।
प्रकृति संरक्षणको कुरा चार दशक त्यति धेरै लामो समय भने होइन । प्रकृतिलाई नष्ट गर्ने हो भने यति धेरै समय चाहिँदैन । दुईचार वर्षमै बन जङ्गल मानव बस्तीमा परिणत हुनसक्छ । यसबाट प्रकृतिको मात्र विनाश हुँदैन त्यहाँको पर्यावरण पनि नष्ट भएर जान्छ । मौसम भनेकै पर्यावरणले सिर्जना गर्ने अनुकूल र प्रतिकुल हावापानी हो । सहरीकरणको चकाचौंधले अहिले शहरी विकास होइन कङ्क्रिटको जङ्गल बनाउने अभियान बढेको छ । राम्रो पर्यावरणका लागि चाहिने बोटबिरुवा लगाएर हरियाली बनाउने भन्दा भएको बोट बिरुवा पनि विनाश गरिंदैछ ।
कुनै बेला धरान गर्मीमा उग्रगर्मी, जाडोमा अत्यधिक जाडो हुने ठाउँ थिएन । सन्तुलित मौसम रहने धरानको पर्यावरण बिग्रिएको अनुभव हुनु चिन्ताको विषय हो । पछिल्लो समय धरानमा तापक्रम बढे पनि तराईको मौसम भित्रिएको अनुभव गर्न थालिएको छ । नगरको दक्षिण स्थित चारकोशे जङ्गल नष्ट हुदैं गएकोले यस्तो स्थिति उत्पन्न भएको पनि हुनसक्छ ।
पछिल्लो समय जोगबनी-किमाथांका राजमार्गको ६ लेन सडकले चारकोशे जङ्गलको बिच फराकिलो तराईको हावा प्रवेश गर्ने मार्ग बनाएका छ । धरानलाई तराई सँग चारकोश टाढा छुट्याउने जङ्गलले तराईको तराईको शितलहरलाई अहिले सम्म छेक्दै आएको थियो । त्यो अवस्था कालखण्डको क्रममा विनाश हुँदै गएको छ ।
यहाँको पर्यावरणमा देखिएको बदलाव धरानवासीका लागि चिन्ताको विषय बन्नु पर्दछ । चारकोशे जङ्गल अहिले विभिन्न सामुदायिक बनको रूपमा विभाजित भएको छ । सामुदायिक वनहरूले बनको संरक्षण गर्दै आए पनि उत्तर/दक्षिण र पूर्व/पश्चिम यो बन पातलिदैं आएको सबैले देख्दै आएको हो । तर त्यसबारे चासो राख्ने कार्य कतैबाट भएको देखिन्न ।
यो जङ्गलको समुचित संरक्षण नगरिने हो भने धरानको पर्यावरण आउँदा दशकमा अरू बिग्रिएर जाने निश्चित छ । साथै यहाँ भएको घर जग्गा प्लटिङको धन्धाले भएका बोट बिरुवाहरू सबै समाप्त गर्ने काम गर्दै आएको छ । बनेका नयाँ घरहरूमा फूलबारी बगैँचा देखिन्छ तर, पर्यावरणलाई संरक्षण गर्ने एउटै पनि रुख रोपिएको देखिन्न ।
याद राखौँ २०४९ मा पहिलो पटक नगरपालिकाको प्रमुखमा निर्वाचित ध्यानबहादुर राईले पद बहाल गरेपछि धरानको पर्यावरण जोगाउन नगरपालिकाबाट नक्सापास गर्दा घरको कम्पाउण्डमा एउटा रुख रोप्ने पर्ने नीति बनाएको थियो । उनी रहेसम्म त्यो नीति अवलम्बन भए पनि पछिबाट त्यसको अनुगमन गरिएन ।
पर्यावरणमैत्री राम्रो नीति त्यतिकै उपेक्षाको सिकार भएकोले पनि यहाँको मौसम मानव प्रतिकुल बन्दै जाने अवस्थामा पुगेको हो । राम्रा कुराको अनुसरण गरिनु पर्छ र धरानको पर्यावरण संरक्षणका लागि उपमहानगरपालिका, पर्यावरणवादी नागरिक समाजले ठोस पहल गर्नु आवश्यक छ ।