धरान : धरान नगरपालिकाको आइतबार दोस्रो पटक बसेको कार्यपालिका बैठकमा मेयर हर्क साम्पाङले राखेको ४ वटा छलफलका लागि राखेको का वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरूले अस्वीकृत गरेका छन् ।

बिहान बोलाइएको बैठकमा उपमेयर अइन्द्रविक्रम बेघाले मेयर साम्पाङले ‘असहयोग गरेको’ भनी लगाएको आरोपको पुष्टि गर्न माग गरेका थिए । बैठकमा मेयर सम्पाङले प्रस्टीकरण दिए पनि उपमेयर बोलिनै रहेपछि मेयरले बैठक नै स्थगित गरेका थिए ।

दोस्रो पटक बसेको बैठकमा उपमेयरले पुनः आफ्नो अडान दोहोर्‍याई रहे पनि मेयर साम्पाङले १७ वटा एजेण्डा छलफलका लागि टेबुल गरेका थिए । त्यसमा मेयरले महत्त्वपूर्ण भनेका ४ एजेण्डाहरु नै कार्यपालिकाले एक स्वरमा अस्वीकृत गरिदिएको हो ।

मेयर साम्पाङले खानेपानी प्रशोधन केन्द्रको लागि जग्गा खरिद गर्ने भन्दै एजेण्डा प्रस्तुत गरेका थिए । धरानको खानेपानी बोर्ड र खानेपानीका कामहरू विवादमै रहेकाले थप नयाँ कार्य गर्न उचित नहुँदा  उनको उक्त प्रस्ताव अस्वीकृत गरिएका हो ।

बराह सहकारीलाई सङ्कटग्रस्त घोषणा गर्न मेयर साम्पाङ राखेको एजेण्डा पनि अस्वीकृत गरिएको छ । सङ्कटग्रस्त सहकारी घोषणा गरेको अवस्थामा बराहका बचतकर्ताका रकम फिर्ताको स्थिति के हुन्न भन्ने औचित्य पुष्टि गर्न नसकेका कारण उक्त प्रस्ताव अस्वीकृत गरिएको बताइएको छ ।

यसैगरी लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०८० स्वीकृत गर्न मेयर साम्पाङले छलफलका लागि राखेको प्रस्ताव बैठकमा उपस्थित वडाध्यक्ष, कार्यपालिका सदस्यहरूले एक स्वरले अस्वीकृत गरेका धरान १५ का वडाध्यक्ष नरेश इवारामले बताए । यस्तै पशुपंक्षि खोप कार्यक्रम कार्यान्वयन २०८० पनि अस्वीकृत गरिएको छ ।

कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरूले राजमार्ग तथा सहायक राजमार्गका सडकमा लगाइएको पार्किङ शुल्क लगाउने स्वीकृति कार्यपालिका बैठकले नदिएको हुँदा उक्त शुल्क नलगाउन माग गरेका छन् । एमाले संसदीय दलका नेता इङवारमले भने ‘साना सवारी साधन, मोटरसाइकल र निजी सवारीमा शुल्क नउठाउने प्रस्ताव गरिएको छ ।’

इङवारमले छलफलका लागि राखेको उक्त प्रस्ताव कार्यपालिका सदस्यले एक स्वरले समर्थन गर्दै स्वीकृत गरेका छन् । वडाध्यक्ष इवारामले भने, ‘अर्धवार्षिकी समीक्षामा रकमान्तर गर्न सकिन्छ तर पार्किङ शुल्क लगाउन हुँदैन भन्ने हाम्रो एजेण्डालाई मेयरले विचार गरौला भन्नु भएको छ ।’

कार्यपालिका बैठकमा घर नक्सा सूचीकृत दररेट, पिण्डेश्वर परिसरका पसलबाट बहाल कर लिने, खानेपानी मुहान उपयोग अनुमति, विद्यालय बाहेकका शैक्षिक कार्यक्रम, नियमन निर्देशिका, नक्सा पास दस्तुर, मदन भण्डारी राजमार्ग बिस्तार गर्दा विस्थापित घर धुरी व्यवस्थापन, सडक बत्ती, बजेट प्रक्षेपण, सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउने प्रस्ताव प्रस्तुत भएका छन् ।

धरान उत्सवमा उपमहानगरपालिकाले केवल ९ लाख रुपया आम्दानी गरेको आर्थिक महाशाखा प्रमुख खगेन्द्र खतिवडाले विवरण बैठकमा सुनाए । तर उपमहानगरपालिकाको कति खर्च भयो त्यसको विवरण भने सुनाएनन् । उनको विवरण अनुसार पिङ सहित खेल तसाशाबाट ३ लाख, स्टल ६ लाख ३८ हजार ५ सय आम्दानी भएको छ । यथार्थ खर्च अर्को पटक जानकारी गराउने बताइएको छ ।

यसअघि बिहानको बैठकमा उठाएको सवालमा मेयर साम्पाङले चित्तबुझ्दो जवाफ नदिएको बताउँदै उपमेयर अइन्द्रबिक्रम बेघले आफ्ना कुराहरू पुनः दोहोर्‍याए । उनले मेयर साम्पाङले फेसबुकको पोष्टको पुस्ट्याइँ गर्नुपर्ने भन्दै बैठकमा बोलिरहे । मेयर साम्पाङले ठाडो जवाफको शैलीमा भने ‘अब २० महिना पछि जवाफ दिउँला ।’

उपमेयर बेघाले आफूले सहयोग नगरेको पुष्टि गर्न पटक पटक चुनौती दिदैं भने ‘१८ महिनासम्म काँधमा बोकेर हिँडे, कहाँ असहयोग गरे, कुन श्रम अभियानमा असहयोग गरे । कुन वृक्षारोपण अभियानमा असहयोग गरे ?’ मेयर साम्पाङको भनाई चैँ उपमेयर बेघाले तस्बिर हटाएका विषयमा नगरपालिकाको लेटरप्याडमा विज्ञप्ति निकाल्नु नै असहयोग गरिएको भन्ने थियो ।

दोस्रो पटक २ बजे बसेको बैठकमा कार्यपालिका बैठक हलको मेयरको आसनको ठिक पछाडि भित्तामा लगाइएको राष्ट्रप्रमुख राष्ट्रपति रामचन्द्र पौडेल र सरकार प्रमुख प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिरबारे मेयर सम्पाङ कुनै कुरा गरेनन् ।