इटहरी : आइतबार साँझ ७ बजे काँग्रेस महामन्त्री थापा भोक्राह नरसिंह गाँउपालीकाको फुलचौक पुगे । साँझ चिसो निक्कै बढिसकेको थियो । स्थानीय कार्यकर्ताले सडक बत्तीको उज्यालोमा कार्यक्रम स्थल तयार परिसकेका थिए । महामन्त्री थापालाई कार्यकर्ताले घेरा हालेपछि भिडभाड र होहल्ला भयो । आसन ग्रहणको लामो लिस्ट भिडभाडले दर्शकदिर्घामा रहेका स्थानीयहरू आक्रोशित भए ।

कार्यक्रम आसन ग्रहण पछि अन्तरक्रियामा रूपान्तरण भयो । सुनसरीको कोसी, हरिनगर, वराहक्षेत्र, इनरुवाका किसानहरू थापालाई भेट्नकै लागि फुलचौक पुगेका थिए । निर्धारित समयभन्दा ३ घण्टा ढिलो हुँदा समेत स्थानीय मनमा आश राखेर पर्खिरहेका थिए ।

उद्घोषकले माइक दर्शकदिर्घामा पुर्‍याए । गुनासो र आक्रोशको अभिव्यक्ति आउन थाल्यो । स्थानीय मनु अन्सारीले किसान पानीको अभावमा पिरोलिएको दुखेसो पोखे । केरा खेती गर्दै आएका उनले सिँचाई, मल र बजारको अभाव भोग्नुपरेको सुनाए ।

भारतीय बजारबाट आयत हुने तरकारी तथा फलफूलले नेपाली किसानको उत्पादन ओझेलमा परेको अन्सारीको अनुभव छ । हात्ती र रोगको कारण किसानको बाली एकैपटकमा लाखौँ क्षति हुने भन्दै कृषि इन्सोरेन्सको कार्यक्रम ल्याउन थापालाई आग्रह गरे ।

‘एक लाख ऋण लिँदा ९० हजार मात्र पाइन्छ । एक वर्षमा तिर्दा १ लाख ३६ हजार तिर्नुपर्छ यस्तो चर्को ब्याजले कसरी किसानलाई फाइदा हुन्छ ?,’ अन्सारीको भाषणमा गडगडाहट ताली बज्यो । थप हौसिँदै उनले भने, ‘किसानको लागि बिजुली निःशुल्क हुनुपर्‍यो । एक पालिका एक सितभण्डार हुनुपर्छ । हरेक पालिकामा कृषि बजार भएपछि मात्र किसानको उत्पादन विक्री हुन्छ ।’

वराहक्षेत्र नगरपालिकाका डिल्ली कार्कीले थापालाई लिखित प्रस्ताव नै पढेर सुनाए । ब्याजदरले कृषकलाई अप्ठ्यारो परेको र कृषि बापतको ऋणमा दुई वर्ष सम्म ब्याज मिनाहा हुनुपर्ने उनको प्रस्ताव छ । पशु बिमाको पैसा बिमा एजेन्टले खाने गरेको गुनासो गरे । कृषक बिमा कम्पनी धाउँदा धाउँदा पैसा नपाएर थाकेपछि कम्पनीका एजेन्टले निकालेर खाने गरेको कार्कीले बताए । 

महामन्त्रीलाई स्थानीयले बेरोजगारी समस्या, वित्तीय संस्थाको ठगी देखी वर्तमान राजनीतिको वितृष्णाको सवालमा ध्यानाकर्षण गराए । मधेसमा नागरिकताको विषय गम्भीर भएको स्थानीयले सुनाए । चुनावमा मात्र सुकुम्वासी समस्याको कुरा आउने गरेको भन्दै स्थानीय अगुवाहरूले २०७८ सालमा बेमौसमी बर्सातको कारण धान बालीमा भएको क्षतिको कुनै राहत नपाएको विषयमा सचेत गराए ।

सीमावर्ती क्षेत्रका जनतासँग संवाद गर्न समुदायमा काँग्रेस अभियान अन्तरगत महामन्त्री थापाको टोली यात्रामा छ । माघ १३ गते झापाको मेचीनगरका स्थानीय सँग भेटघाट गरेका थापाले १४ गते मोरङ र सुनसरीमा बिताए । भुँइ मान्छेका समस्या सुन्ने उनको कार्यक्रम माघ २६ गतेसम्म चल्ने भएको छ ।

हुलाकी राजमार्ग नेपाली काँग्रेसको इतिहास सँग जोडिएको भूमि मानिन्छ । पुराना काँग्रेसी नेताहरू सँगको संवाद र छलफललाई थापाले प्राथमिकता राखेका छन् ।

सोही क्रममा आइतबार विराटनगरको गुराँस पुस्तकालयमा पुगे उनी । जुन बिपी कोइरालाको योजना अनुसार काँग्रेस कार्यकर्ताले स्थापना गरेको पुस्तकालय हो । जसको माध्यमबाट प्रजातान्त्रिक समाजवादको प्रवर्द्धन र तत्कालीन पञ्चायती व्यवस्था विरोधी विचार निर्माण हुन्थ्यो ।

पुस्तकालयको अन्तरक्रियामा अधिकांश सहभागीका पार्टीको आन्तरिक लोकतन्त्रको विषयमा आवाज उठाए । संक्षिप्त सम्बोधन गर्दै थापाले यती धेरै परिवर्तन भयो तर जनताको जीवनस्तर माथि उकास्न नसकेकोमा चिन्ता व्यक्त गरे । ‘जनताको जीवनस्तर उठाउने बारे छलफल नेपाली काँग्रेसले गर्नुपर्छ । अर्थतन्त्र सङ्कटमा छ भने सङ्कट मोचन गर्न पनि काँग्रेसमा बहस हुनुपर्छ । अब सुवर्ण समसेर आर्थिक सम्मेलन मार्फत वर्तमान आर्थिक सङ्कटको मोचनबारे मन्थन हुन्छ ।,’ उनले भने, ‘अब विचारको बहस हुनुपर्छ । पार्टी भनेको विचार बनाउने ठाउँ हो । विचारको जन्म पुस्तकालयबाट हुन्छ ।’

फुलचौकका स्थानीयका ढाडस दिँदै थापाले बैङ्कबाट मुठ्ठी भर मान्छेले मात्र लाभ पाउने गरेको र कृषकलाई सहज ऋणको व्यवस्था मिलाउनुपर्ने बताए । कानुनको दुरुपयोग भएको बताउँदै उनले किसानलाई सहज ऋण र ऋण तिर्न सक्ने अवस्था बनाउन सकिने आश्वासन दिए । किसानले उत्पादन गरेको सामग्रीले बजार नपाउने र विचौलीयाको कारण कृषक मारमा परेको विषयमा थप तयारी गर्नुपर्ने उनको भनाइ थियो ।

बर्जूका स्थानीय सँग महामन्त्री थापाले बाटोलाई ग्रामीण अर्थतन्त्र बदल्नको लागि प्रयोग गर्नुपर्ने धारणा राखे । गाउँमा बाटो पुगे पनि विकाश नपुगेको उनको तर्क छ । सडक सामान ल्याउने र युवा विदेश पठाउन मात्र प्रयोग भएको भन्दै उनले गाउँमा रोजगारी बढाउन ध्यान दिनुपर्ने बताए ।

GAgan-sambad-yatra