इटहरी : ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र बहादुर रुम्दाली नेपाली काँग्रेसका विद्रोही नेता हुन् । २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर गाउँपालिका अध्यक्ष निर्वाचित भए रुम्दाली । उनको उम्मेदवारीमा काँग्रेसले समर्थन त गर्‍यो तर कारबाही गर्नबाट बाकी राखेन । पालिका अध्यक्ष पाएसँगै पार्टीको महाधिवेशन प्रतिनिधि र नेपाल तरुण दलको जिल्ला अध्यक्ष पद गुम्यो ।

राष्ट्रियसभा निर्वाचनमा कृष्णप्रसाद सिटौलालाई जिताउन विराटनगर आएका उनी अहिले पनि काँग्रेसकै पक्षमा छन् । पार्टी नेतृत्वले जनताको भावना विपरीत निर्णय गरेको बेला विद्रोह जरुरी रहेको उनी बताउँछन् । यसअघि पनि २०६४ सालको संविधानसभा निर्वाचनमा काँग्रेसले बालाराज कार्कीलाई उम्मेदवार बनायो । रुम्दालीको चित्त बुझेन । उनले स्वतन्त्र उम्मेदवार दिए । तर नेकपा माओवादीका बालकृष्ण ढुङ्गेल विजयी भए ।

नेपाल विद्यार्थी सङ्घको जिल्ला सभापति भएकै बखत उनले संविधानसभा सदस्यमा उम्मेदवारी दिए । रुम्दाली पराजित मात्र भएनन् नेविसंघ जिल्ला सभापति पनि गुमाए ।

केही पाउनको लागि भन्दा पनि पार्टीमा जनताको भावना नबुझ्ने काम भएको बेला विद्रोह गर्ने गरेको उनी बताउँछन् । ‘राजनीति भनेको जनताको पक्षमा हुनुपर्छ । जनताले खोजेको भन्दा फरक निर्णय पार्टीले लिने हो भने त्यो जनताको पार्टी हुँदैन । त्यसैले हामी जस्ता युवाले पार्टीलाई सुधार्नको लागि पनि कहिलेकाहीँ विद्रोह गर्नै पर्ने हुन्छ,’ उनी भन्छन् ।

भुईँ मान्छेहरू परिवर्तनको पक्षमा हुने बताउने रुम्दाली नेताले आम नागरिकको भावनाको प्रतिनिधित्व गर्नुपर्ने मान्यता राख्छन् । काँग्रेस पार्टीको नीतिलाई पुर्णरुपमा कार्यान्वयन गराउनुपर्छ भनेर लागि परेको उनले सुनाए । थप स्पष्ट पार्दै उनले भने, ‘जनताले देख्ने गरी, सुन्नेगरि र बुझ्नेगरि काम गर्नुपर्छ ।’

नयाँ सुरुवात

रुम्दाली अध्यक्ष निर्वाचित भएपछि गाउँपालिका छाड्ने कर्मचारीको लाइन लाग्यो । एक दिनमा ७ जना सम्म कर्मचारी सरुवा स्वीकृतिको लागि आउने गरेको उनले अनुभव सुनाए । आफूले पनि मन लाग्ने जति कर्मचारीलाई विना प्रश्न बिदा गरेको उनी बताउँछन् ।

रुम्दालीले विदेश बाट गएर फर्किएका युवालाई व्यवसायमा लगाउन नयाँ अभ्यास गरेका छन् । सामूहिक खेतीमा युवालाई प्रोत्साहन गर्न व्यवसायको पूर्वाधार गाउँपालिकालेनै गर्दिने गरेको छ । ‘कसैले बाख्रा पालन गर्छ भने हामी खोर बनाइदिन्छौ । कुखुरा वा बङ्गुर पालन गर्नेलाई दानापानी देखी खोरको व्यवस्था गरिदिन्छौ । युवाको अभावका गाउँ खाली नदेखियोस् भनेर गरिखाने वातावरण बनाउन लागेका छौँ,’ रुम्दाली भन्छन् ।

अरू पालिकालाई समेत दबाब दिनेगरि काम गर्न लागेको उनले बताए । एउटा पालिकाले राम्रो काम गर्दा अरुलेपनि त्यही अनुसार गरे भने सबैतिर विकास हुने उनको बुझाइ छ ।

१७ वटा सामुदायिक विद्यालयमा पालिकाले लगानी गरेर क्यान्टिन खोलिदिएका छन् । क्यान्टिन सञ्चालकले विद्यार्थीलाई अर्गानीक खाजा खुवाउनुपर्ने व्यवस्था मिलाइएको छ । स्थानीयले घर छेवैमा व्यवसाय गर्ने अवसर पाएका छन् । विद्यालयको दिवा खाजामा स्थानीयकै उत्पादन खपत गराउने गरेको उनले सुनाए । भटमास, मकै, इस्कुस लगायत स्थानीय उत्पादन खुवाउने र कृषकलाई फाइदा पुराउने उनको उद्देश्य छ ।

विद्यालयलाई आर्थिक रूपमा सशक्त बनाउन जगेडा कोषको निर्माण गरेको उनी बताउँछन् । थप प्रस्ट पार्दै उनले भने, ‘एउटा अभिभावकले प्रतिविद्यार्थी १२ सय जम्मा गर्नुपर्छ । पालिकाले थपेर कोषमा जम्मा गरिदिन्छ । जसबापत विद्यालयमा लाखौँ रकम जम्मा हुन्छ । एउटा विद्यालयमा जम्मा भएको सो रकमको आम्दानीले विद्यालयमा शिक्षक राख्ने कि भौतिक पूर्वाधार विकाश गर्ने भन्ने अभिभावकले निर्णय गर्छन् ।’

ज्येष्ठ नागरिकको लागि केयर सेन्टर खोल्ने उनको तयारी छ । ‘केयर सेन्टरले ३ महिना देखी ६ महिना सम्म दीर्घ रोगी र वृद्ध वृद्धाको उपचार र हेरचाह गर्छ । कोही गाउँ बाहिर जाने र विदेश जाने भयो भने केयर सेन्टरले बाउआमाको केयर गरिदिन्छ । यो पालिकाले निःशुल्क गर्ने हो । यसले युवा तथा गृहिणी महिलालाई राहत पुग्ने हामीले अनुभव गरेका छौँ,’ उत्साहित हुँदै रुम्दाली भन्छन् ।

कानुनले अवैध मानेको गाँजा खेतीमा उनले अनुसन्धान सुरु गरेका छन् । सङ्घीय सरकारको बजेट नीति तथा कार्यक्रममा अनुसन्धान गर्ने उल्लेख भए पनि रुम्दालीले त्यसको सुरुवात नै गरेका हुन् ।

गाँजा औषधि समेत भएको र यसबाट पर्याप्त आम्दानी गर्न सकिने भएकाले आफू लागिपरेको उनको भनाइ छ । ‘चुरोट जस्तै तरिकाले यसको उपयोग गर्दा फाइदा हुन्छ । प्रतिबन्ध लगाएपछि यसले अपराधको रूप लिएको हो । गाँजाको अध्ययनको लागि अगाडि बढेका छौँ । हामीले किसानलाई प्रोत्साहन गर्ने र विदेशी बजारमा निर्यातको रूपमा बढाउने तयारी छ । यति भएपछि युवाले जापान कोरिया जानुपर्दैन । गाँजा मात्र हैन हामी लोकल रक्सीलाई कसरी बजारीकरण गर्ने भन्ने पनि अध्ययनमा लागेका छौँ,’ कपुरी न्युज सँगको कुराकानीमा उनले भने ।

खानेपानीको अभावको कारण बसाइसराइ बढिरहेको विषयमा उनले चासो दिए । पानी मात्र हैन अवसरको खोजीमा बसाइसराइ हुने गरेको र जुन असामान्य नभएको उनको टिप्पणी छ ।

खानेपानीको व्यवस्थापनमा गाउँपालिका गम्भीर भएर लागिपरेको रुम्दाली बताउँछन् । ‘पानीको लागि लिफ्टीङ गर्ने प्रेसर मेसिन राखेर काम गरेका छौ । एकै पटक सबै जनताको घरमा पानी पुराउने गरेका छौ । पहिला धेरै पटक लिफ्टीङ गरेपछि मात्र घरमा पानी पुराउन सक्ने अवस्था थियो । हरेक स्टेपमा एउटा हेरालु राख्ने प्रचलन थियो । अब मोबाइलबाटै अनुगमन गर्ने र प्रविधिले अनुगमन गर्छौ । हेरालु राख्दा हुने मासिक लाखौँ खर्च कटौती गर्नुपर्छ,’ उनले अन्तिम योजना सुनाए ।