धरान : ऋग्वेद धार्मिक शास्त्र मात्र नभएर पृथ्वीको पर्यावरणीय अध्ययन, अनुसन्धानको लागि ज्ञानको भण्डार भएको संस्कृतका सहप्राध्यापक डा. कृष्ण भण्डारीले बताएका छन् ।

उनले ऋग्वेदमा प्रकृतिलाई अत्यन्त उच्च स्थानमा राख्दै मानवका हरेक क्रियाकलापहरू प्रकृति अनुकूल हुनुपर्नेमा जोड दिइएको उनले बताए । प्रजातन्त्रवादी प्राध्यापक सङ्घ द्वारा पिण्डेश्वर विद्यापीठमा बुधवार आयोजित अनुसन्धान गोष्ठीमा प्राडा. भण्डारीद्वारा प्रस्तुत ‘ऋग्वेदमा पर्यावरणीय चेतना’ विषयक कार्यपत्रमा ऋग्वेदका प्रकृति र पर्यावरणीय पक्षमा विश्लेषण गरिएको छ ।

उनले ऋग्वेदमा भएको पर्यावरणीय चेतनाको गहन अध्ययन र विश्लेषण हुन सकेमा समग्र मानवरहित तथा अहिले विश्वमा चिन्ताको विषय बनेको जलवायु परिवर्तनको विषयलाई अझ गहिरिएर बुझ्न सकिने धारणा व्यक्त गरे ।

अर्का कार्यपत्र प्रस्तोता वासुदेव बरालले रामधुनी धार्मीकस्थलको ऐतिहासिक महत्वका बारेमा गरिएको अध्ययन सम्बन्धी कार्यपत्र प्रस्तुत गरे ।

कार्यपत्रमा रामधुनी स्थापना सम्बन्धी ऐतिहासिक कालदेखी प्रचलित किंवदन्तीहरूको उल्लेख छ । बरालले भने ‘किम्बदन्तीहरुलाई पुष्टि गर्ने विषयमा अझ अध्ययन अनुसन्धान गर्न आवश्यक रहेको छ ।’

सङ्घका इकाई अध्यक्ष सहप्राडा. महानन्द तिमिल्सिनाको सभापतित्वमा भएको गोष्ठीका प्रमुख अतिथि सङ्घका पूर्व अध्यक्ष प्राडा.भरतप्रसाद भट्टराई थिए । 

गोष्ठीको अवसरमा प्रजातन्त्रवादी प्राध्यापक सङ्घ पिण्डेश्वर विद्यापीठ एकाइद्वारा विद्यापीठमा नवनियुक्त प्राध्यापक तथा कर्मचारीहरूलाई स्वागत, बधाई ज्ञापन गरिएको थियो ।

नवनियुक्त उपप्राध्यापकहरूमा अम्बरराज ढकाल, चिदानन्द नेपाल, कामना अर्याल, उमेशसिंह साउद, गोविन्द भट्टराई, आशिष् ढुङ्गाना, मनोज घिमिरे र डिल्लीप्रसाद निरौला रहेका छन् । कर्मचारी भेषबहादुर निरौला र ओमकारेश्वर अधिकारी छन् ।

गोष्ठीमा विद्यापीठ प्राचार्य काशीनाथ पौडेल, प्राध्यापक सङ्घका अध्यक्ष प्राडा. सागरमणि सुवेदी, उपप्रा.आशिष् ढुङ्गानाले शुभकामना प्रकट गरे । सञ्चालन उपप्रा.सोमनाथ रेग्मीले गरेका थिए ।

pradyapak-samaj-2