धरान : धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङले अहिले सम्म नगर सभाबाट आर्थिक वर्ष २०८३/०८३ को बजेट पास गराएका छैनन् । बजेट पास नहुँदा उपमहानगरपालिकाको आर्थिक कारोबार ठप्प भएको छ । 
आर्थिक कारोबार ठप्प हुँदा नगरपालिकाका कर्मचारी र नगरपालिका मार्फत सामुदायिक विद्यालयहरूमा निकासा हुने शिक्षक तलब रोकिएर ३ महिना देखी शिक्षकहरूले तलब भत्ता पाउन सकेको छैन ।
उपमहानगरपालिका मार्फत तलब भुक्तान हुने शिक्षकको सङ्ख्या धरानमा ३०० जना छन् । स्थायी, राहत र करारका शिक्षकहरूको तलब नेपाल सरकारको अनुदानबाट भुक्तान हुन्छ ।
शिक्षक तलब अनुदान रकम नगरपालिकाको बजेट पारित भएपछि मात्र सङ्घीय सरकारको सफ्टवेयर ‘सूत्र’ क्लिक गरेर प्राप्त गर्न सकिन्छ । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईले भने ‘बजेट नआए सम्म तलब भत्ता खुवाउने अवस्था छैन ।’
उनले भने ‘मेयर साब काठमाण्डौंबाट आउँदै हुनुहुन्छ, यो हप्ताभित्र बजेट ल्याउने तयारीमा छौँ, बजेट नआएमा अरू कुनै विकल्प छैन ।’ उपमहानगरपालिकाको सफाई कर्मचारी देखी आफ्नै करिब ५०० कर्मचारी छन् ।
उनीहरूले पनि ३ महिना देखी तलब भत्ता पाएका छैनन् । दशैं आउन अब धेरै दिन छैन । दशैंको मुखमा तलब भत्ता नपाउने अवस्था भएमा धरानका शिक्षक तथा कर्मचारी आन्दोलनमा उत्रनु पर्ने अवस्था आउन सक्ने एक शिक्षकले बताए । उनले भने ‘विशुद्ध तलब भत्ताबाट बाच्ने शिक्षक कर्मचारीको ३ महिना देखि तलब नपाउँदा असामान्य स्थितिको सामना गर्नु परेको अवस्था छ ।’
सङ्घीय सरकारले जेन–जी आन्दोलनको ठुलो दुर्घटना बेहोरेर पनि सरकारी कर्मचारीको तलब भत्ता आउने बताइसकेको छ । नाम उल्लेख नगर्ने शर्तमा एक शिक्षकले भने, ‘धरान जनप्रतिनिधिको विवादले शिक्षक÷कर्मचारी समस्यामा पर्नुहुँदैन, दशैंमा तलब भत्ता आउने स्थिति नबनेमा शिक्षक कर्मचारी छलफल गरेर आन्दोलनसम्म गर्छौँ ।’
अर्का एक कर्मचारीले जनप्रतिनिधिको टकराबमा कर्मचारी पिसिनु नहुने बताउँदै तलब भत्ता नआउने अवस्थामा सबै कर्मचारीले काम बहिष्कार गर्नु पर्ने अवस्था आउन सक्ने बताए ।
कानुनत: स्थानीय तहले असार १० भित्र बजेट तयार गरी असार मसान्त सम्ममा नगर सभाबाट पारित गराई सक्नु पर्छ । तर धरानमा नगर प्रमुख हर्क साम्पाङले कानुनी प्रावधान नाघेको ३ महिना बितिसक्दा पनि बजेट पारित गराउन सकेका छैनन् ।
नगरप्रमुख साम्पाङ, उपप्रमुख अईन्द्र विक्रम बेघा र वडाध्यक्षहरूबिचको टकरावले ३ महिना सम्म धरानको बजेट नगर सभाबाट बजेट पारित हुन नसकेको हो ।यसबाट धरान उपमहानगरपालिकाका  जनप्रतिनिधि,नगरप्रमुखको असक्षमता देखिएको जानकारहरू बताउँछन् । 
धरान–१७ का वडाध्यक्ष मनोज भट्टराईले नगरप्रमुख नभएकाले बजेटको कार्य रोकिएको बताए । उनले भने ‘मेयर साब प्रधानमन्त्री, मन्त्री बन्न काठमाण्डौं गएका छन्, मेयर नभई नगर सभा हुँदैन, नगर सभा नभई बजेट पास हुँदैन समस्या छ ।’ 
कर्मचारी शिक्षकको तलब भत्ता नआउने अवस्था भएमा आन्दोलन गर्ने चेतावनी दिएको उनले बताए ,आन्दोलनको अवस्था आउँन नदिनेमा जनप्रतिनिधिहरू सजग रेको उनले बताए । वडाध्यक्ष भट्टराईले भने ‘कानुनी परामर्श गरेर उपमेयरको नेतृत्वमा भए पनि  उपमहानगरपालिकाको समस्या समाधान गर्न लगाउँछौँ ।’