धरान : जेनजीको आन्दोलनमा १९ जना किशोरहरूको शहादतबाट मुलुकमा उत्पन्न विषम परिस्थिति, शोकको घडीका कारण धरानमा आज मङ्गलवार मनाइने वीपी जयन्तीका सबै कार्यक्रम रद्द गरिएको छ ।

धरान स्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानले मनाउँदै आएको ३२ वार्षिकोत्सवको कार्यक्रम स्थगित गरिएको प्रतिष्ठानका रजिष्ट्रार प्राडा. सूर्यप्रसाद सङ्ग्रौलाले विज्ञप्ति मार्फत जनाएको छ ।

यसपालि वार्षिकोत्सवमा भारतीय विद्वान प्राडा. सञ्जिव मिश्राको स्वास्थ्य विज्ञानको क्षेत्रमा आएको नयाँ आयामका बारेमा प्रवचनका कार्यक्रम समेत थियो । उनी भारत उत्तर प्रदेश स्थित अटल विहारी बाजपेयी मेडिकल युनिभर्सिटीका उपकुलपति हुन ।

वीपी चिन्तन प्रतिष्ठानले मनाउँदै आएको वीपी विचार गोष्ठी पनि रद्द गरिएको छ । यसपालि विचार गोष्ठीमा नेपाली काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधी प्रमुख वक्ताको रूपमा उपस्थित हुने कार्यक्रम थियो ।

वीपी कोइराला अध्ययन अनुसन्धान प्रतिष्ठानले धरान–१३ सर्दु खोला वीपी पार्क स्थित सालिकमा माल्यार्पण तथा स्मृति कार्यक्रम पनि रद्द गरेको छ ।