• दिनेश न्यौपाने
वी.पी. कोइराला आधुनिक नेपालको राजनेता हुन भन्ने कुरामा सबै दल, नेता, बुद्धिजीवी सहमत छन् । उनै राजनेताको सम्झनामा काँग्रेस केन्द्रीय कार्यालयले भदौ २४ गते १११ औँ  वी.पी. जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाएको छ ।
वी.पी. नेपालको प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली र हिन्दी भाषाका साहित्यकार हुन् । उनले आफ्नो जीवनको लामो समयसम्म नेपाली काँग्रेसको नेतृत्व, सन् १९५९ देखि १९६० सम्म नेपालको प्रधानमन्त्री र नेपालमा प्रजातन्त्र स्थापना गर्नको लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए ।नेपाली भाषा साहित्यमा उनले मनोवैज्ञानिक कथाहरूको नयाँ प्रयोग गरेका थिए । उनका नरेन्द्र दाइ, तीन घुम्ती, बाबु-आमा र छोरा, हिटलर र यहुदी, मोदी आइन, सुन्नीमा र दोषी चस्मा लगायत रचनाहरू प्रख्यात छन् । उनको राजनीतिक विचारधारा प्रजातान्त्रिक समाजवादी थियो । समाजवादप्रति दरिलो आस्थाका कारण वी.पी. उदारवादी चिन्तक थिए ।
नेपाली राष्ट्रिय काँग्रेसको स्थापनाको केही समयपछि वी.पी.ले ‘हाम्रो ध्येय’ र ‘हाम्रो साधन’ शीर्षक दुइटा लेख युगवाणीमा लेख्नुभएको थियो । तिनमा उहाँले बालिग मताधिकार र उत्तरदायी सरकार भए पुग्छ भन्ने धारण राख्नु भएको थियो ।
वी.पी. २००७ सालको क्रान्तिको समय राष्ट्रिय काँग्रेसमा सर्वाधिक प्रभावशाली नेताका रूपमा प्रतिष्ठित भइसकेका थिए । उनी तत्कालीन राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परिस्थितिका जानकार थिए । लेख्ने बोल्ने र अरूलाई प्रभावित गर्न सक्ने कला उनमा थियो ।
वी.पी.मा राजनीतिक दर्शन र धर्मको चेत थियो । उनी मार्क्स र गान्धी दुवैबाट प्रभावित थिए । वी.पी. कै समयमा नेपालमा मार्क्सवादी विचारधारा प्रवेश गरेको थियो । उनी सोभियत मोडलको साम्यवादी शासन प्रणालीको विरोधी थिए । वी.पी.ले प्रजातन्त्र र राष्ट्रियतालाई मूलमन्त्र मान्नु भएको छ ।
उनले ‘जेल जर्नल’ पुस्तकमा भनेका छन्, जुन दिन नेपाली काँग्रेसले राष्ट्रियताको अडान छोड्छ, यो पार्टी असान्दर्भिक भएर जान्छ । अहिले मुलुकमा केही हुँदैन भनेर आम जनतामा दल र तिनका नेताप्रति चरम निराशा र आक्रोश उत्पन्न भएको छ । राजनीति राज्यको साधन स्रोत दोहन गर्ने माध्यम भएको छ ।
देश र जनताको हित भन्दा पार्टीमा व्यक्तिगत र गुटगत स्वार्थले प्राथमिकता पाएको छ  । सिद्धान्त, बिचार, नीति हराएर गएको छ । भ्रष्टाचार, कुशासन, अराजकता र महँगी बढेर गएको छ । अर्थतन्त्र कमजोर अवस्थामा पुगेको छ । युवा जनशक्ति दिनप्रतिदिन रोजगारीको निम्ति विदेश पलायन भइरहेको छ । सरकार र राजनीतिकर्मी प्रति आम मानिसको आशा भरोसा गुमेको छ ।
न्याय र सुशासनको अनुभूत गराएर जनतामा उत्पन्न निराशाको अन्त्य गर्न नसक्ने हो भने मुलुक ठुलो सङ्कटमा पर्न सक्छ । वी.पी.ले लामो समयसम्म मुलुकको शासन चलाउन पाउनु भएन । करिब १८ महिना प्रधानमन्त्री भएर गरेका कामको उपलब्धि हेर्दा वी.पी.सँग देश निर्माणको राम्रो सोच भएको देखिन्छ ।
वी.पी.ले पूरासमय काम गर्न पाउनुभएको भए, मुलुकको विकासमा धेरै परिवर्तन भइसकेको हुने थियो । उनले आफ्नो कार्यकालमा बिर्ता उन्मुलन, वनजंगलको राष्ट्रियकरण र प्रगतिशील कर प्रणाली जस्ता जनप्रिय काम गरेका थिए । उनको प्रगतिशील कार्यबाट राजा महेन्द्र त्रसित भई २०१७ साल पुस १ गते वी.पी.को सरकार अपदस्थ गरी प्रजातन्त्रको अपहरण गरेका थिए ।
तर त्यही वी.पी.को पार्टी नेपाली काँग्रेसले २०४६ सालको परिवर्तन पछि वी.पी.का विचार छोड्यो भन्ने आरोप लाग्दै आएको छ । उदारीकरण निजीकरण र भूमण्डलीकरणको नाममा बजारको सर्वोच्चता कायम भयो । पटक-पटक सरकारको नेतृत्व गर्ने अवसर प्राप्त हुँदा पनि आम मानिसको पक्षमा काम गर्न सकेन ।
काँग्रेसको उदारीकरणले नेपाली अर्थतन्त्रमा केही सकारात्मक प्रभाव पारेपनि जनताको चाहना र भावना अनुरूप आर्थिक सामाजिक रूपान्तरणको लक्ष्य हासिल नभएका कारण अहिले जनतामा निराशा र आक्रोश बढेको छ । यो निराशा र आक्रोश हटाउन काँग्रेसमा व्यापक सुधारको आवश्यक छ । 
वी.पी.को देहावसानपछि काँग्रेस वैचारिक रूपमा सङ्कटमा छ । विश्वको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा ठुलो परिवर्तन आएको छ । बदलिएको विश्व परिवेशमा काँग्रेसले आफ्नो विचारधारालाई पुनः परिभाषित र पुनः व्याख्या गर्न सक्नुपर्छ । र पार्टीको क्रियाशील सदस्यता वितरण प्रणाली, समावेशी साङ्गठनिक संरचना र उत्तरदायी नेतृत्वको विकास काँग्रेस सुधारको आजको आवश्यकता हो । यस दिशामा काँग्रेस अगाडि बढ्न सके मात्र मुलुकको राष्ट्रिय राजनीतिको केन्द्रमा रहिरहन सक्छ ।
यदि काँग्रेसले आफूलाई सुधार गर्न सकेन भने यो पार्टी जनता माझ अलोकप्रिय भएर जाने छ । आज मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था छ । वी.पी.ले संवैधानिक राजतन्त्रको कुरा गरेका थिए । तर राजाको निरङ्कुश बन्ने महत्वकांक्षाले मुलुक गणतन्त्रमा गयो । त्यसैले वी.पी.का कतिपय विचार तात्कालिक महत्वका र शाश्वत छन् । त्यसलाई काँग्रेसले पकड्न र बुझ्न सक्नुपर्छ । आज पनि वी.पी. विचारको सान्दर्भिकता गएको छैन । तर यसलाई काँग्रेसले समय अनुकूल बनाउन सक्नुपर्छ ।