विराटनगर : वीपी कोइरालाको सैद्धान्तिक माग छोडेपछि नेपाली काँग्रेस कमजोर भएको काँग्रेसका नेता महेश आचार्यले बताएका छन् । उनले पार्टी अहिले वीपीको आदर्श र सिद्धान्तबाट धेरै टाढा रहेको बताए ।
मोरङ काँग्रेसद्वारा आज सोमवार आयोजित १११ औँ जन्म जन्यतीमा उनले भने ‘अहिले काँग्रेस इतिहासकै सबैभन्दा कठिन मोडबाट अगाडि बढिरहेको छ ।’
गुट, उपगुटले काँग्रेसलाई कमजोर बनाएको बताउँदै नेता आचार्यले काँग्रेसमा रूपान्तरण जरुरी रहेकोमा जोड दिए । उनले भने ‘चुनावमा कसैसित पनि गठबन्धन गर्नुहुँदैन भन्दै आएकोमा गठबन्धन गर्दा अहिले काँग्रेसको अवस्था बताइरहनु पर्दैन ।’
काँग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले काँग्रेस एक ढिक्का भएमा कसैले पनि निर्वाचनमा पराजित गर्न नसक्ने बताए । उनले भने ‘अरूसित लड्नुपर्ने काँग्रेस अहिले आफैँसित लडिरहेको अवस्था छ ।’
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफूले अघि सारेका योजनालाई स्थापित गर्न पार्टीले सहयोग नगरेको बताए ।
काँग्रेस प्रदेश कोषाध्यक्ष राजेश गुप्ता, वरिष्ठ नेता गोपालमानसिंह राजभण्डारी, वसन्त भट्टराई, मोरङ काँग्रेसका कार्यवाहक सभापति भक्तिनाथ माझी, उपसभापति नागेश कोइराला, सचिव मोदराज घिमिरे, विराटनगर सभापति दीपक चापागाईँ, प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदित, महिला सङ्घ मोरङ अध्यक्ष शान्ता पौडेलले वीपीका बारेमा प्रकाश परे ।








































































