इटहरी : इटहरीमा अहिले कति वटा जिमखाना होलान् ? न्यूनतम ५ वा त्यो भन्दा बढी । २० वर्ष अगाडी इटहरी कस्तो थियो होला ? के त्यस बेला पनि जिम खाना थिए त ! थिए । त्यस बेला अहिलेको जस्तो व्यवस्थित नभए पनि शारीरिक सुगठनको लागि भर्खरै जिमको सुरुवात भएको थियो ।
धरानमा व्यवस्थित भइसकेको जिमखानाको संस्कार भर्खरै इटहरी भित्रिँदै गरेको थियो । तर अहिलेजस्ता अत्याधुनिक मेसिन र औजारहरू भने थिएनन् ।
शारीरिक सुगठन प्रतियोगितामा मिस्टर कोसीको उपाधि नजिक सम्म पुगेका प्रेमानन्द नेपालीले इटहरीलाई जिमखानाको स्वाद पस्किए । इटहरीका युवालाई शारीरिक व्यायाममा लाग्न प्रेरित गरेका नेपालीले फलामका सामग्री तयार पारेर सुरुवात गरेका हुन् ।
आइए सम्मको अध्ययन गरेका उनले पढाइमा ध्यान दिन नसकेपछि खेलकुदमा रुचि बढाए । इटहरीकै थानेश्वर सुब्बाले कराँते सिकाउने भएपछि उनी त्यतै तर्फ आकर्षित भए । ‘ग्रिन बेल्ट’ सम्म भएका उनले बक्सिङको ट्रेनिङ पनि लिए । त्यही बिचमा भिसिआरबाट फिल्म हेरेपछि जिमको लतमा परे नेपाली ।
जिम गर्दै गएपछि डाइट पुग्न छाड्यो । निम्न वर्गीय परिवारका नेपालीको डाइटमा खर्च गर्ने औकात पुगेन । जिम छाडेको दु:खद अनुभव सुनाउँदै उनी भन्छन्, ‘दालभात खाएर जिम जान सकिँदैन । डाइट पुर्याउनु पर्छ । त्यो सकिएन । तर कोसी अञ्चलको ‘मिस्टर कोसी’ को सान्त्वना सम्म भएँ । ७० जना प्रतियोगी मध्ये चौथो भएको थिएँ म ।’
‘त्यस बेला रातीसम्म जिम गर्न आउने युवाहरूको भिड हुन्थ्यो । अरू नभएर पनि होला तर बिस्तारै जिमको क्रेज बढ्दै गएको थियो,’ विगत सम्झिँदै उनले भने । जिमसँगै डाइट नपुगेपछि बिरामी परे । १० वर्ष सम्म जिम सञ्चालन गरेका उनलाई सुगर भयो । त्यही बिचमा इटहरी पश्चिम लाइनमा अर्को नयाँ मेसिन र औजार सहितको जिमखाना खुल्यो । आफ्नो जिम बन्द भएपछि 'बा'ले चलाउँदै आएको महालक्ष्मी नर्सरीमा व्यस्त हुन थाले नेपाली ।
अहिले पनि उनले घरैमा नर्सरी चलाइरहेका छन् । आइतबार र बुधवार इटहरीको हटिया लाइनमा भेटिन्छन् उनी । इटहरी फूलबारी टोल घर भएका नेपालीले प्रशस्त नर्सरी चलाएका छन् । ८४ बर्सिया बाले पनि धनकुटाको पात्लेमा व्यवस्थित नर्सरी चलाइरहेका छन् । धनकुटामा फलफूलका बिरुवा र केही फूलको व्यापार गर्छन् उनी ।
बाले हाल इटहरी मार्केट भएको स्थानमा लामो समय नर्सरी चलाए । त्यस बेला माओवादी सशस्त्र द्वन्द्व चलिरहेको थियो । उनको पैसा धरान र विराटनगरका व्यापारीले चलाएको लामो समयसम्म तिरिरहेका थिएनन् । नर्सरीमा बिस्तारै माओवादीका लडाकुको आगमन बढ्दै गइरहेको थियो । आफन्तहरू समेत माओवादीको लडाकु थिए । त्यसैले पनि माओवादीको लागि सहज थियो नर्सरी । त्यही बेला डुबेको पैसा उठाउन उनले माओवादी परिचालन गरे । नभन्दै दुई दिन भित्र ५ लाख पैसा उठ्यो ।
त्यसपछि नर्सरी माओवादीको अखडा भयो । दोस्रो पटक शान्ति वार्ता भङ्ग भएपछि नेपाली भाग्नुपर्ने अवस्था सम्म पुगे । नेपाल आर्मीले घर र नर्सरी घेर्न थालेपछि असुरक्षित भए उनी । नेपालीले नेपाल छाडे । सुगरका बिरामी उनलाई मनको पिर थपियो । उनी भारत गएपछि घरमा आर्मीले दैनिक जसो घेराउ हाल्न थाल्यो ।
उनको पुरानो मोटरसाइकल आर्मीले लग्यो जुन अहिलेसम्म फिर्ता पाएका छैनन् । भारतमा हुँदा विभिन्न नर्सरीमा काम गरेको सुनाउँछन् नेपाली । सोही क्रममा भारतीय धर्मगुरु साई बाबाको आश्रममा पुगे । त्यसपछि धेरै राहतको महसुस गरेको उनी बताउँछन् । अहिले पनि कुनै तनाव भए आश्रम पुग्ने गरेको सुनाउँछन् उनी ।
५ वर्ष भारत बसेर घर फर्किएपछि १९ दिने जनआन्दोलनको बेला नजर बन्दमा परे उनी । त्यस बिचमा आमा र बहिनीको निधन भइसकेको थियो । उनले एकपछि अर्को बज्रपातको सामना गर्नुपर्ने । ‘माओवादी परिचालन गरेर पैसा नउठाएको भए भाग्नै पर्ने थिएन । आफू नभागेको भए बैनी आमा बाँच्ने थिए होलान् । अहिले आएर त्यो गल्ती गरिएछ जस्तो लाग्छ,’ दुखेसो पोख्दै उनले भने ।
त्यो ५ वर्षको समयले धेरै तनाव दिएको बताउँछन् उनी । त्यसबिचमा ८० किलोका नेपाली ४५ केजी भए । नर्सरीको कारोबार कमजोर मात्र हैन लथालिङ्ग नै भयो ।
अहिले भने उनको कारोबार सुध्रिएको छ । घरैमा पनि उनको व्यापार बढ्दै गएको छ । रोग नै लागे पनि राम्रो निन्द्रामा सुत्छन् उनी । बाह्रमासे फूलको मात्र धेरै बिक्री गर्ने गरेको उनको अनुभव छ । एउटी छोरीले बिएन सिध्याइसकीन् । माइली छोरी स्नातक प्रथम वर्षमा अध्ययनरत छिन् । अन्य दुई छोरा र एक छोरी विद्यालय स्तरको अध्ययनमा छन् । विगत बेचैन भए पनि व्यापार र परिवार राम्रो चलेपछि नेपाली खुसी छन् ।