धरान : महाभारत पर्वत शृङ्खलाका सुनसरीमा पर्ने ६ वटा पहाडका टाकुरा मध्ये सबै भन्दा उच्च धरान–२० विष्णु पादुका स्थित माथिल्लो सूलकोट मुन्धुम स्थल भएको पाइएको छ ।

धरान-१३ सर्दु खोला पुलबाट १४ किलोमिटर उत्तर पश्चिम चिन्डे डाँडा, तल्लो सूल कोट थान भन्दा माथि सिद्ध पोखरीको धार्ने सम्म साना सवारी, मोटरसाइकलबाट पुग्न सकिने त्यहाँबाट टाकुरा पुग्न भने करिब ७०० मिटर ठाडो उकालो पैदल चढ्नु पर्छ ।

समुद्र सतहबाट १५४३ दशमलव ४० मिटरको उचाइ स्थित टाकुरामा पुग्न निकै कठिन छ । धार्नेबाट ठाडो उकालो लाग्ने जङ्गलको घाँस दाउरे बाटो देखिन्छ । अझ उकालो गेग्रान ढुङ्गाको बाटो चढ्नु पर्छ । टाकुरा पुग्न अघि चट्टानहरू छिचोल्दै उक्लिनु पर्छ । सेता चट्टानहरू रहेको टाकुराको २ भाग २ समूह वनभोज खान सकिने फराकिलो छ ।

दोस्रो पटक टाकुरामा पुगेका चोत्लुङ याक्थुङबाले भने ‘पहाड चढ्न सक्ने मानिसलाई यो उकालो चढ्न एक घण्टा लाग्न सक्छ ।’ अहिलेकै अवस्थामा पहाडका भए पनि शहरी जीवनमा अभ्यस्त ६० नाघेका मानिस चढ्न नसक्ने अनुभव पहिलो पटक पुगेका धरानका पूर्व उपप्रमुख मीन सुब्बाले सुनाए । 

सुनसरीका पर्वत शृङ्खलामा सबै भन्दा अग्लो 

धरानको उत्तर पश्चिम स्थित महाभारत पर्वत शृङ्खलाहरू मध्ये सुनसरी जिल्लामा पर्ने डाँडाहरूमा मुन्धुम स्थल माथिल्लो सुलिकोट टाकुरा सबै भन्दा उचाइमा रहेको छ । पहिलो पटक पुगेका चुम्लुङका सल्लाहकार नरप्रसाद लिम्बुले टाकुरामा मोबाइल एपबाट मापन गर्दा १५४३ दशमलव ४० मिटरको उचाइ देखिएको बताए ।

चोत्लुङका अनुसार महाभारत पर्वत शृङ्खलाको सुनसरी धरानमा पर्ने डाँडाहरूमा समुद्रको सतहबाट साँगुरी गढी १३३५, तल्लो सुलिकोट १३४७, भेडेटार १४००, भेडेटारको पाथीभरा मन्दिर १४६१, वंशिला १५३६ चाँदी डाँडा १५४२ मिटर उचाइमा रहेका गुगल एपले देखाएको छ ।

तल्लो सुलिकोट सूलिथानमा भेट भएका पुजारी ६५ वर्षीय दिलबहादुर तामाङका अनुसार माथिल्लो सूल कोट प्रायः भर्जिन डाँडा हो । निकै ठाडो उकालो विकट रहेकाले मानवीय हस्तक्षेप धेरै कम भएको डाँडा भएको उनले बताए ।

ठाडो उकाले भएकाले हत्तपत्त मानिस डाँडामा पुग्दैनन् । घाँस दाउरा गर्नेहरू पनि तलतिरका जङ्गल सम्म मात्र पुग्छन् उनले भने ‘माथि चुचुरैमा त अक्कल झुक्कल मात्र मान्छे पुगेका होलान् ।’

पर्वत शृङ्खलाकाका अधिकांश उच्च टाकुरा प्रायः सुनसरी र धनकुटाको साँगुरी गढी गाउँपालिकाको पानी ढलान सिम क्षेत्रमा रहेका छन् । धरान र र्सागुरीगढीको पर्यटकीय विकासका लागि महत्त्वपूर्ण डाँडाहरूको पूर्वाधार विकासका कार्यमा भने आसपासका प्राकृतिक अवस्थाको संरक्षण भने जरुरी छ ।

माथिल्लो सूल कोट मन्धुमीस्थल

लिम्बु समुदायको उत्पतिकाल देखीका वर्ण पाइने धार्मिक, सांस्कृतिक मुन्धुममा तमोर, कोशी किनार वराहक्षेत्र, कोकाहा पूर्वोत्तरका प्रायः सबै खाला, नाला, डाँडा, यकहरुको उल्लेख भएको फेदाङ्मा मन कुमार लाबुङले बताए ।

उनले भने ‘कोकाहा खोलाको शिरमा पर्ने माथिल्लो सूल कोटको टाकुरा र त्यसको फेदीमा रहेको पहेँली पोखरी मुन्धुममा आउँछ ।’ पहाडको यो शिखर चतरा, वराहक्षेत्र, सूर्य कुण्ड, विष्णु पादुका, कोकाहको शिरमा स्थित सिद्ध पोखरी माथि भएकोले याकथुङ जातिको उत्पतीकालमा युँमा हिँडेको बाटो रहेको उनले बताए ।

टाकुराबाट उत्तरी बाटो तलतिर धनकुटा साँगुरी डाँडा गाउँपालिका क्षेत्रतिर ओर्लँदा फराकिलो गहिरो मैदान जस्तो दुई भागमा विभक्त पहेँली पोखरीको मनोरम दृश्य देखिन्छ । राजा रानी ताल जस्तो भूगोलको पोखरीमा पानी भने छैन ।

फेदाङ्मा तवेबुङले यहाँको ठुलो तालको बारेमा मुन्धुम उल्लेख गर्दै भने ‘उत्पतीकालमा यो ताल शिखरमा र वरिपरि बस्नेहरूको पानीको श्रोत थियो तर रजस्वला भएकी महिला तालमा आएर नुहाई फोहोर गरेपछि सुकेको हो ।’

प्रत्यक्ष रूपमा सुकेको पोखरी देखिने क्षेत्रमा क्षेत्रफल ठुलो पोखरी २ लाख ७९ हजार ४५६ वर्ग फिट रेको छ भने सानो पोखरीको क्षेत्रफल १ लाख ६७ हजार २६९ वर्ग फिट रहेको गुगल म्यापको नाप रहेको चोत्लुङले बताए ।

चारैतिर कतै पनि निकास हुने ठाउँ नभएको उक्त पोखरी स्थल केही समय पानी अडिएर सुकेको जस्तो अवस्थामा देखिन्छ । फेदाङ्मा तवेबुङका अनुसार मुन्धुममा पोखरीमा जुठो परेपछि पानी कहिल्यै पनि अडिएर नबस्ने गरेको उल्लेख भए अनुसार अहिले पनि वर्षाको पानी समेत जमेर बस्दैन । उनले भने ‘मुन्धुमको वर्णन अहिले पनि प्रत्यक्ष देख्न सकिने ठाउँ हो यो ।’

टाकुरामा सिलाम साक्मा

धरानमा बसोबास गर्ने १० लिम्बुवान १७ थुमका दुई दर्जन अगुवा याकथुङ लिम्बुहरू शनिवार टाकुरामा पुगेका थिए । फेदाङ्मा याबा सहित त्यहाँ पुगेका उनीहरूले शिखरमा ५० केजी फलामबाट बनेको सिलाम साक्मा स्थापन गर्दै पूजा अर्चना गरे ।

धरान उपमहानगरपालिका उपप्रमुख अइन्द्रबिक्रम बेघाले शिलान्यास र स्थापना गरेका सिलाम साक्मा उभिएर उनीहरूले ‘यो टाकुरा याकथुङ लिम्बु जातिको मुन्धुम स्थल भएकाले अब आयन्दा दश लिम्बुवान सत्र थुमका याकथुङ लिम्बुहरूको धिर्यायक याकको रुपायमा विकास गर्ने’ सङ्कल्प पनि गरेका छन् ।

याकथुङ लिम्बुहरूको अगुवा समूहमा किरात याकथुङ चुम्लुङ केन्द्रीय सदस्य सङ्गीता सुब्बा, जिल्ला अध्यक्ष मोहन हुक्पाचोङबाङ, नगर अध्यक्ष तीर्थ मादेम्बा, सल्लाहकार हर्ष सुब्बा, वडा २० का अध्यक्ष पदमप्रसाद लिम्बु, वडा १५ का अध्यक्ष नरेश इङवारम, एमाले नगर अध्यक्ष हर्कजंग एभेङ लगायत थिए ।

पर्यटकीय विकासको सम्भावना

पछिल्लो समय जलवायु परिवर्तनले ल्याएको तापक्रम वृद्धिका कारण उच्च पहाडी क्षेत्रहरूको पर्यटकीय विकासका सम्भावना बढाएको छ । पूर्वमा धरान शहर भित्रै आधा घण्टा भन्दा छोटो समयमा १६०० मिटर उचाइएको पहाडी चिसो पाइने ठाउँको रूपमा परिचित छ ।

धरान उपमहानगरपालिका उपप्रमुख अइन्द्रविकम बेघाले भने ‘नयाँ नयाँ पत्ता लाग्दै गएको यस्ता ठाउँहरूमा पूर्वाधार विकास भने जरुरी छ ।’ स्थानीय समुदाय, स्थानीय सहभागितामा स्थानीय सरकाले यातायातको पूर्वाधार विकासमा साझेदारी गर्न जरुरी भएको उनले बताए ।

मन्धुमीस्थल माथिल्लो सूल कोट वरिपरि साँगुरी गढी गाउँपालिका क्षेत्रमा कोशी प्रदेश सरकारको लगानीमा खुवालुङ–त्रिवेणी–धजे डाँडा पदमार्ग निर्माण गरिएको छ । उक्त पदमार्ग बाट माथिल्लो सुलीको पुग्न ५०० मिटर उकालो चढ्न पर्छ ।

मुन्धुम स्थल खोजी टोलीका अगुवा चोत्लुङले डाँडाको दुवै तर्फ धार्ने उकालो र पर्हेली पोखरीबाट उकालो चढ्ने पक्की सिँढीको निर्माणलाई प्राथमिकता दिइनु पर्ने बताए । त्यस अघि शिखरमा भएको भौतिक अवस्थालाई नबिथोल्ने गरी अवलोकन स्थलको संरचना बन्नु जरुरी छ ।

धरान उपमहानगरपालिकाको चासो

धरान उपमहानगरपालिकाको चालु आर्थिक  वर्षको बजेटमा उक्त मुन्धुम स्थलको संरक्षणको लागि ३ लाख रुपया बजेट विनियोजन भएको छ । उपप्रमुखको भिजनमा छुट्टिएको उक्त बजेटलाई उपमहानगरपालिकाले चासो राखेको साङ्केतिक रूप मात्र भएको यस्का अभियन्ताहरूले बताएका छन् ।

वडा अध्यक्ष पदमप्रसाद लिम्बुका अनुसार पहिले मुन्धुम स्थलको विकासको डिपीआर बन्नु पर्छ । अनि मात्र यहाँको भौतिक निर्माणका आवश्यकताहरू पहिचान हुनेछ । उसो त माथिल्लो सूल कोटको फेदी सम्म आइपुग्ने सवारीका लागि सडक पूर्वाधार विकास पहिलो प्राथमिकता हो ।

त्यस अर्थमा यस क्षेत्रमा विकासको लागि धरान–१३ सर्दु खोला पुल देखीको सडक निर्माणका लागि सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको साझेदारी जरुरी देखिन्छ ।

chumlung2