इटहरी : २०७४ को प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसको नतिजा कमजोर आयो । देशैभर कमजोर बनिरहेको अवस्थामा सुनसरीका ४ निर्वाचन क्षेत्र मध्ये ३ वटा क्षेत्रमा काँग्रेस विजयी भयो । सुनसरीमा काँग्रेसको विजय पछि जिल्ला सभापति राजीव कोइरालाको नेतृत्व क्षमताको प्रशंसा भयो । कोशी प्रदेशको संसदीय दलको नेता भएका कोइराला हाल केन्द्रीय सदस्य छन् ।
अहिले त्यस्तै चर्चामा छन् नेपाल विद्यार्थी सङ्घ सुनसरीका सभापति प्रमोद भट्टराई । २०७९ र २०८१ चैतको स्ववियु निर्वाचनमा नेविसंघलाई सर्वाधिक कलेजमा विजयी गराउन सफल भट्टराईलाई नेता कार्यकर्ताले बधाई दिइरहेका छन् । २०५५ सालमा पहिलो पटक स्ववियु जितेको महेन्द्र बहुमुखी क्याम्पस धरानमा २६ वर्ष पछि नेविसंघले नेतृत्व गर्ने अवसर पायो । सभापतिमा प्रशान राई सहितको टिमले विजय हासिल गरेको हो ।

सुनसरीका ७ वटा मध्ये पिण्डेश्वर विद्यापीठमा सर्वसम्मत नेतृत्व चयन भयो । ५ वटा कलेजमा भएको निर्वाचनमा नेविसंघले ४ क्याम्पसमा विजय हासिल गर्यो । यसअघि अनेरास्ववियुको प्रभाव रहेको जनता बहुमुखी क्याम्पस इटहरीमा नेविसंघकै नेतृत्व छ । २०७९ मा नेविसंघका सहदेव काफ्लेले दोब्बर मतान्तरले विजय हासिल गरे । यस पटक निर्वाचन नभएपछि उनै काफ्लेलाई निरन्तरता दिनेगरि सहमति भएको छ । यसरी हेर्दा ७ मध्ये ५ वटा क्याम्पसमा नेविसंघको नेतृत्व आएको छ ।
पूर्वाञ्चल इन्जीनियरीङमा यसअघि नवीन श्रेष्ठ विजयी भएका थिए भने यस पटक नेविसंघकै सागर बस्यालको नेतृत्वमा बहुमत सदस्य निर्वाचित भयो । केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा यसअघि नेविसंघले नै नेतृत्व गरेको थियो । यस पटक अनेरास्ववियु सँगको गठबन्धनमा नेविसंघका सचिव लगायत बहुमत सदस्य निर्वाचित भए ।
२०७९ मा सुनसरी बहुमुखी क्याम्पस इनरुवामा थोरै मतान्तरले पराजित भएको नेविसंघ यस पटक सभापति सहित बहुमत सदस्य निर्वाचित भएका छन् । सुनसरी बहुमुखीको सभापतिमा सुनिल कुमार मण्डल सहितको नेविसंघको नेतृत्व स्थापित भएको छ । २०७९ मा सप्तकोसी बहुमुखीमा नेविसंघ आन्तरिक लफडाले कमजोर बन्यो । यस पटक उम्मेदवार छनौटमा नेतृत्वले हस्तक्षेप नगरेपछि उत्साहित भएको नेविसंघले विज्ञान लिम्बुको नेतृत्वमा बाजी मारेको हो ।
२०७९ मा महेन्द्र क्याम्पसमा थोरै मतान्तरले पराजित बनेको थियो नेविसंघ । यस पटक भने अघिल्लो पटक पराजित तिन वटै क्याम्पसमा नेविसंघले झण्डा गाडेको हो । हात्तीसारमा अनेरास्ववियु सँगको गठबन्धनमा नेविसंघका उम्मेदवार विजयी भए ।
अघिल्ला निर्वाचनमा कमजोर उपस्थिति देखाएको नेविसंघ पछिल्लो समय सशक्त बन्दै गएको छ । लामो समय नेविसंघ जिल्ला समितिको विवाद र गुटबन्दीले सङ्गठन कमजोर बनेको थियो । सङ्गठन भित्रको आन्तरिक विवादले निर्वाचनमा परिणाम निकाल्न नसकेको नेविसंघमा राजीव ढुङ्गाना केन्द्रीय सभापति भएपछि आन्तरिक एकता बलियो बन्दै गएको हो ।
ढुङ्गाना सुनसरीलाई प्रतिनिधित्व गर्ने नेविसंघका पहिलो केन्द्रीय सभापति हुन् । परिणाम स्वरूप नेविसंघले सुनसरीमा बलियो प्रभाव देखाएको छ । सोही एकतालाई मूर्त रूप दिन जिल्ला सभापति भट्टराईको नेतृत्वले जिम्मेवारी पुरा गरेको हो ।
विद्यार्थीको उम्मेदवार विद्यार्थीलाई नै छान्न दिएको कारण यो सफलता हात परेको सभापति भट्टराई बताउँछन् । उम्मेदवार चयनमा पार्टीबाट कुनै हस्तक्षेप नभएपछि उत्कृष्ट नतिजा आएको उनको भनाइ छ । कपुरी न्युजसँग कुरा गर्दै उनले भने, ‘पार्टीको नेतृत्वमा देखिएको एकता र सहयोगले विद्यार्थीमा ऊर्जा थपियो । चुनाव एकल नेतृत्वको कारणले मात्र सफल हुने हैन । म सभापति हो तर मेरो नेतृत्वमा रहेका इकाई देखि जिल्ला समितिका साथीहरूको मेहनत र सहयोग अत्यन्तै धेरै छ । वहाँहरूको मेहनतले नेविसंघलाई बलियो र प्रभावशाली बनाएको हो ।’