इटहरी : नेपाल विद्यार्थी सङ्घ सुनसरीले चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिएको छ । सुनसरीका ८ वटा क्याम्पसका हुन लागेको स्ववियू निर्वाचनलाई आफ्नो पक्षमा पार्न नेविसंघले सक्रियता बढाएको हो ।
सोही क्रममा बुधवार इटहरी उद्योग वाणिज्य सङ्घको हलमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । प्रमोद भट्टराई जिल्ला सभापति चयन भएपछिको पहिलो कार्यक्रममा स्ववियू निर्वाचन र विद्यार्थी आन्दोलनको विषयमा विमर्ष भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेविसंघ पूर्व केन्द्रीय अध्यक्ष राजीव ढुङ्गानाले चैत ५ गते सम्पूर्ण क्याम्पसमा विजयी हुनेगरि लागिपर्न आग्रह गरे । नेपाली काँग्रेस केन्द्रीय सदस्य समेत रहेका उनले नेविसंघ पार्टी र सरकारको प्रतिपक्षी भएको बताए । विद्यार्थीको हक हितको लागि बोल्ने सङ्गठन नेविसंघ भएकाले अब शैक्षिक बेरोजगारीका मुद्दा र रोजगारीको सवालका मुद्दा उठाउनुपर्ने धारणा राखे ।
पूर्व केन्द्रीय उपसभापति विकाश केसीले विद्यार्थीको पक्षमा अनवरत लागिपर्न आग्रह गरे । आगामी निर्वाचनमा कुनै पनि तुष नराखी उम्मेदवारलाई विजयी गराउने अभियानमा जुट्न निर्देशन दिए ।
पूर्व जिल्ला उपसभापति तथा काँग्रेस नगर सचिव विक्रम घिमिरेले नेविसंघमा अब गुटउपगुट नरहेको प्रस्ट पारेका छन् । सुनसरीमा अब कुनै पनि गुट नभएको बताउँदै वर्तमान सभापति भट्टराईलाई सहयोग गरेर जाने प्रतिबद्धता जनाए । 
कार्यक्रममा काँग्रेस २ (क) क्षेत्रीय सभापति सुवेक्छु देवान, जिल्ला समन्वय समिति सुनसरी प्रमुख राजन मेहता, पूर्व जिल्ला सभापति मन्दीप भट्टराई लगायतले विचार व्यक्त गरे।
जिल्ला सभापति प्रमोद भट्टराईले चैत ५ को निर्वाचन परि ६ गते विजयको होली खेल्ने गरी तयारी रहन सबैलाई आह्वान गरे । विजयको अभियान सफल बनाउन हरेक विद्यार्थीलाई नेविसंघको पक्षमा मतदान गराउने वातावरण बनाउन अनुरोध गरे । नेविसंघको एउटै विकल्प जित भएकाले त्यसको लागी आफू हर सम्भव प्रयत्न गर्न तयार रहेको धारणा राखे । 
क्याम्पस इकाईमा परिचालन समिति गठन गरेको नेविसंघले प्रचारप्रसारका छुट्टै समिति तयार पारेको छ । इकाई बाट उम्मेदवारको नामावली माग गरेको जिल्ला समितिले २५ गते भित्रे उम्मेदवार तय गर्ने भएको छ । 
७ वटा स्ववियू निर्वाचन हुने क्याम्पस मध्ये पिण्डेश्वर विद्यापीठमा फर्जी विद्यार्थीको विषयलाई लिएर नेविसंघ आन्दोलनमा छ । फर्जी विद्यार्थी भर्ना गरेर निर्वाचन प्रभावित पार्न खोजिएको भन्दै नेविसंघले चुनाव स्थगित गर्नुपर्ने बताउँदै आएको छ । 
सभापति भट्टराई अन्य विद्यार्थी सङ्गठन सँग आवश्यकताको आधारमा तालमेल गरेर अगाडी बढ्ने बताउँछन् । इकाई समितिको माग र आवश्यकता अनुसार तालमेल हुने उनको भनाई छ । हाल सम्म माओवादी निकट अखिल क्रान्तिकारी, जसपा निकट समाजवादी विद्यार्थी सङ्घ लगायत सँग छलफल भइरहेको उनले बताए । 
यसअघि नेविसंघले सुनसरीको सप्तकोसी बहुमुखी क्याम्पसमा मात्र सभापति सहित बहुमत सदस्य विजयी भएको थियो ।