भनिन्छ इच्छाशक्ति र इमान्दरिता सफलताका दुई सूत्रहरू हुन । मानव जीवन तथा एक्काइसौँ शताब्दी अर्थात् अबको समय पुर्णरुपमा प्रविधिको युग हो भन्ने हामीलाई लाग्थ्यो र प्रविधिले धेरै ठुलो फड्को मारिसक्यो अब हामी पछाडि फर्कने सकिने अवस्थामा हुने छैनौ भन्ने हाम्रो मान्यता थियो।

पछिल्लो घटनाक्रमले मानवीय विकासलाई ठाडो चुनौती दिँदै प्रविधि भन्दा प्रकृति पृथक् र बृहत् छ भन्ने कुरा प्रमाणित गर्दै गरेको अवस्था छ। कोरोना एक अद्भुत तर सामान्य लक्षण भएको जीवाणु वा भाइरस, तर औषधी बन्न सकेको छैन, सायद यो प्रकृतिको उल्टो खेल हुनुपर्छ, मानवको द्रुत विकास क्रम र प्रविधि लक्षित। विश्व नै यस भाइरसबाट प्रभावित भइरहेको अवस्थामा नेपाल अछुतो हुने त कुरै भएन ।

हामी नेपाली, हाम्रो नेपाल, नेपाल बन्द, आन्दोलन, विरोध हाम्रो दैनिकी भैसकेको अवस्थामा कोरोनारूपी बन्द (लकडाउन) अकस्मात् आयो । सुरुमा हामी नेपालीहरूले यसलाई एउटा पर्वको रूपमा चित्रण गर्‍यौ भन्दा फरक नपर्ला । बिस्तारै लकडाउनको समय बढ्दै गयो सुरुमा १४ दिन, अनि २८...४०...अझै लम्बिने सम्भावना बढ्यो ।

सामान्यतया १५ दिनदेखि एक महिना सम्म बन्द पचाउन सक्ने हाम्रो बानी तर यहाँ परिस्थिति अलि बेग्लै आयो। अब यो पर्वको स्वरूप परिवर्तन हुन थाल्यो । दैनिक ज्यालादारी गरिखाने लगायत आम नागरिकको जीवन अझै कष्टपूर्ण हुन थाल्यो । लकडाउनको स्वरूप परिवर्तन नहुने हो भने समाज अपराधतर्फ उन्मुख होला कि भन्ने चिन्ता बढ्न थालेको छ ।

कोरोनाको महामारी कसरी अवसर हुन सक्छ  !

हो कोरोना हाम्रो लागि अवसर हुन सक्छ । हामी नेपालीको बन्द, हडताल आदिलाई सजिलै पचाउने कुराले यहाँ सकारात्मक भूमिका खेल्न सक्छ किनकि कोरोनाको महामारीको असर जति आर्थिक विनाश, सुदृढ अर्थतन्त्र भएका मुलुकमा पर्न गएको छ त्यति हाम्रो मुलुकमा देखिएको छैन र नदेखियोस् पनि ।

भारत लगायतका मुलुकको यस वर्षको आर्थिक वृद्धिदर -२०% माथि हुने र नेपालको -३% आसपास रहने अनुमान लगाइएको छ।

सामान्यतया बन्द हडताल भइराख्ने प्रवृत्तिले हामिलाई अलि जब्बर (habitual) बनायो त्यही प्रवृत्ति हाम्रो लागि अब वरदान हुन सक्छ । अब यसमा प्रमुख भूमिका शासक वर्गको हुनेछ, मुलुकलाई कता लाने भन्ने कुरामा र अर्को भूमिका नागरिकको हुने कुरामा विमति नहोला।

यहाँ कुरा आयो इच्छा शक्ति र इमन्दारिता को । शासक वर्गको कार्यकुशलता र इच्छाशक्ति हुने हो भने हाम्रो जस्तो सानो अर्थतन्त्र ले एकदम चाँडो रिकभर गर्न सक्छ यसमा राम्रो कामलाई राम्रो भनेर सहयोग गर्नुपर्ने र आवश्यक नियम कानुन पालना गर्नु पर्ने दायित्व भने हामी नागरिकको हुन्छ ।

लकडाउन भनेको समुदाय सङ्क्रमित चाँडो पता लगाउने (quick tracking ) र आवश्यक उपचार गर्ने एउटा उपाय मात्र हो , यो औषधि भने अवश्य होइन ।अब शासक वर्ग चाहे त्यो स्थानिय होस या प्रादेशिक वा सङ्घीय, आवश्यक विज्ञता वा विशेषज्ञहरूको सहायता लिएर धेरै काम गर्नुपर्ने हुन्छ सामान्य निम्न कार्यहरू तुरुन्तै गर्दा राम्रो होला 

१. पूर्ण लकडाउनलाई निश्चित ठाउँ, समुदाय लक्षित बनाउने।
२. बन्द रहेका परियोजनाहरू तुरुन्त सुरु गर्न लगाउने र आवश्यक सहयोग गर्ने।
३. शैक्षिक संस्था सुचारु गराउने ।
४. कोरोनाको उद्गम विदेश नै भएकाले विदेशबाट आएकावा आउन लागेका नागरिकलाई क्वारेन्टाइनमा राखेर रोग निर्मूल पार्ने।
५. सिंहदरबार गाउँ गाउँ मा भन्ने नारालाई आत्मसाथ गर्दै अधिकार स्थानीय निकाय मा दिने (कोरोना संक्रमण समुदाय गाउँ घर मा हुने भएकाले स्थानीय निकायलाई लकडाउन गर्ने लगायत का अख्तियार प्रत्यायोजन गर्ने )

विश्वमा लाखौँ मान्छे सङ्क्रमित भएकोमा हाम्रो देशमा आँकडा १००, २०० वा ५०० लाई सामान्य रूपमा लिनु पर्छ, नेपालगन्जमा कोरोना समुदायमा देखियो भनेर ताप्लेजुङमा लकडाउन कडा गरिनुमा कुनै उपदेयता छैन।

अब अर्को पाटो....
कोरोना महामारीबाट विश्व नै विक्रान्त भइराखेको अवस्था र नेपालमा भन्दा नि बाहिर बढी नेपाली सङ्क्रमित तथा मृत्युवरण गरिराखेको अवस्थामा कयौँ बिदेसिएका नेपाली नेपाल फर्कन चाहनु स्वाभाविक हुन्छ, अब यो कुरालाई प्रणाली सङ्गत तरिकाले समाधान गरिनु पर्दछ।

विशेषत: धेरै दक्ष र शिक्षित जनशक्ति जो अवसरको खोजीमा बाहिरिएका छन्, उनीहरूलाई स-सम्मान फर्किने अवसर दिनुपर्छ। त्यस्ता नागरिकले विकास देखेका भोगेका र अनुभव गरेका हुन्छन् अब यस्तो अवस्थामा पक्कै पनि उनीहरूमा स्वदेश गएर केही गरौँ भन्ने तृष्णा जागेको हुनुपर्छ।

अब ती दक्ष र शिक्षित जनशक्ति हाम्रो लागि वा विकासको लागि catalyst हुन सक्छन् । उनीहरूसंग पुँजी र क्षमता दुवै हुन्छ भन्ने मेरो बुझाइ।

फेरि त्यस्तै हाम्रा लाखौँ नागरिक जो वैदेशिक रोजगारीमा छन् उनीहरू स्वदेश फर्किने वा फर्कँदै गरेको अवस्थामा देश भित्रै विभिन्न परियोजना रोजगारीमा लगायो भने बेरोजगारी समस्या पनि केही हद सम्म नियन्त्रण हुन सक्ला ।

शोकलाई अवसर मा बदल्नु पर्छ 

कोरोना महामारीलाई अवसरको रूपमा लिएर simplified process अवलम्बन गर्दै असल शासक र असल नागरिकको परिचय दिनु पर्ने आजको आवश्यकता हो ।

धन्यवाद।

लेखक बैंकर हुन ।