इटहरी : मनसुन लाग्ने बित्तिकै सप्तकोसी नदीमा आउने बाढीले खुब चर्चा पाउने गर्छ । अरुबेला खासै चर्चा नहुने देशकै ठुलो नदी सप्तकोसीको बर्खायाममा भने देशैभरि चर्चा चुलिने गर्छ ।

बर्खायामको कोसीको चर्चा नकारात्मक मात्र हुने भएपनि स्थानीयहरूलाई भने कोसीले अवसर समेत लिएर आउने गरेको छ । कोसीको बाढीले स्थानीयहरूलाई डरसँगै एउटा खुसी पनि सँगै बगाएर ल्याउने गर्दछ । कालो बादलमा चाँदीको घेरा भने जस्तै बाढीसँगै बगेर आउने काठ, दाउरा यहाँका स्थानीयको आम्दानीको स्रोत हो ।

स्थानीयहरूको कोसीमा बाढी आएसँगै बाढीले बगाएर ल्याएका दाउरा सङ्कलन गर्न भ्याइनभ्याइ हुन्छन् । घरको चुलोमा बाल्न देखि, सङ्कलन गरेर बेच्ने सम्महरू यति बेला कोसीको तिरमा दाउरा तान्ने गर्दछन् ।

बाढीले गर्ने कटानले स्थानीयहरूको कयौँ बिघा जग्गा कोसीले आफ्नो बनाएको छ । कोसीले जमिन लगेको सट्टा आसपासका स्थानीयहरूले कोसीसँग दाउरा साट्ने गरेका छन् ।

कोसीमा दैनिक स्थानीयहरूले दैनिक घरायसी समानहरूको सहयोगमा दाउरा निकाल्ने गर्दछन् । लट्ठीमा भाला उनेर र बास प्रयोग गरेर घरेलु औजारको सहायताले बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने दैनिकी स्थानीयको हो ।

कोसीले कटान गरेर दुःख दिए पनि वर्षभरि पुग्ने दाउरा यही बेला निकालिन्छ । तन्नेरीहरू भने उर्लँदो कोसीको भेलमा पौडी खेलेर समेत दाउरा निकाल्छन् । बालबालिका र महिलाहरूले बाँसको टाँगोले दाउरा निकाल्छन् ।

Koshi-daura-collection Koshi-daura-collection-2- Koshi-daura-collection-4-