धरान : करिब ६ महिनाको अन्तरालमा यातायात सञ्चालनमा आए पनि यात्रु अभावले यातायात आज दोस्रो दिन पनि राम्रो सँग सञ्चालन हुन सकेनन् ।

हिजो असोज १ गते विश्वकर्मा पूजाको दिन परेकोले यातायात सञ्चालन कम भएको भनिए पनि आज दोस्रो दिन पनि सोचे जस्तो यातायात सञ्चालन हुन नसकेको यातायात व्यवसायीहरू बताउँछन् । आज धरानबाट पहाडी क्षेत्र जाने केही सार्वजनिक सवारी साधनहरू फाट्टफुट्ट छुटे पनि यात्रु भने थिएनन् । २,४ जना यात्रु बोकेर तेह्रथुम, भोजपुर र सङ्खुवासभाका लागि धरानबाट यात्रुवाहक बसहरू छुटे । यता तराई क्षेत्रमा भने धरानबाट केही बाक्लै यात्रुवाहक बसहरू सञ्चालन भएको देखिए पनि यात्रु भने खासै थिएनन् । आज दोस्रो दिन सर्वसाधारणलाई गाडी चल्छ भन्ने विश्वास नभएर यात्रु नआएको हो की रु भोलि देखि बढ्न सक्ने यातायात व्यावसायीहरु बताउँछन् ।

कोरोना सङ्क्रमणको जोखिमका कारण गएको चैत्र ११ गते देखि बन्द रहेका यातायात र यातायातका मजदुरहरू रोगले भन्दा भोकले जीवन जिउन कठिन भएको अवस्थामा सरकारले असोज १ गते देखि यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । स्वास्थ्य प्रोटोकल अनुसार यातायात व्यवसायी र मजदुरले सवारी सञ्चालन सुरु गरेको भए पनि सरकारले यातायात व्यवसायीलाई केही सहयोग नगरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ प्रदेश नं। १ का संयोजक सरोज श्रेष्ठले बताए ।

लामो समय सम्म यातायात सञ्चालन नहुँदा यातायात व्यवसायी र मजदुरहरूलाई ठुलो सकस परेको अवस्थामा बल्ल यातायात सञ्चालन भए पनि सरकारले यातायात सञ्चालन गर्ने भनेर घोषणा गरेको बाहेक केही नगरेको गुनासो गर्दै संयोजक श्रेष्ठले भने “हामी यातायात व्यवसायी आफैले यातायात मजदुरहरूलाई मास्क, पन्जा, र फेससिल्ड वितरण गरेकाछौ ।”

गत चैत ११ गतेदेखि बन्द लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातका साधन असोज १ गते देखि सञ्चालनमा आएका छन् । कोरोना संक्रमणबाट जोगिने उपाय अपनाएर सरकारले ६ महिनापछि सार्वजनिक यातायात सञ्चालनको अनुमति दिएको हो ।

साबिक भाडामा ५० प्रतिशत बढी लिन पाउने तर सिट क्षमताको आधा यात्रु मात्र चढाएर गाडी चलाउन पाइने निर्णय सरकारले गरेको छ । साथै यात्रु तथा सार्वजनिक गाडीका कर्मचारीले अनिवार्य रूपमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्नुपर्ने भनिएको छ ।

लामो तथा मध्यम दूरीका यात्रुलाई खाजा तथा खाना स्थानीय प्रशासन र व्यवसायी सङ्घले नै समन्वय गरेर खुवाउनुपर्ने भनेको छ । साथै लामो दूरीका गाडीहरूलाई बिच बाटोमा यात्रु चढाउन वा अनावश्यक काममा रोकिन बन्देज लगाइएको छ ।

प्रदेश नं १ मा ३७,७९५ सार्वजनिक सवारी साधन रहेको बताइएको छ । आज दोस्रो दिन प्रदेश १ बाट ७० प्रतिशत सार्वजनिक सवारी साधन काठमाडौँ गएको बताइएको छ । काठमाडौँ जाने यातायातमा पनि यात्रु भने थिएनन् । छोटो दुरीमा चल्ने सवारी साधनमा पनि अत्यन्तै कम यात्रु भए पनि यातायात सञ्चालन गरिएको र यातायात सञ्चालनमा आयो भन्ने सन्देश दिनका लागि घाटा बेहोरेर भए पनि यातायात सञ्चालनमा ल्याईएको संयोजक श्रेष्ठले बताए ।

यातायात व्यवसायीको व्यक्तिगत पहल र प्रयासमा निकै लामो समय पछि यातायात सञ्चालनमा आएको बताउँदै संयोजक श्रेष्ठले भने “यात्रु भएन र यस्तै अवस्था रहिरहेमा फेरी सार्वजनिक यातायातका साधन कम मात्रै चलाउनुपर्ने पनि अवस्था आउन सक्छ ।”

Yatayat-2 Yatayat-3