धरान : संसारभरिका देशहरूमा रहेका नेपाली भाषा साहित्यका स्रष्टाहरूका बिच सिर्जनाको माध्यम बाट संवाद आदान प्रदान गरिएको छ ।

विश्व नेपाली साहित्य महासङ्घले भौतिक रूपमा भेटघाट नहुने स्रष्टाहरू बिच भर्चुअल सम्पर्कको श्रृङखला सञ्चालन गर्नै आएको छ । यसपालि सोमवार आयोजित साहित्यिक सिर्जना वाचन महासङ्घको नवौँ श्रृङखला हो ।

बेलायत स्थित कवि अमित थेबेका अनुसार महासङ्घ विश्व केन्द्रीय समितिले युके शाखासँग संयुक्त रूपमा आयोजना गरेको सिर्जना वाचन तथा विमर्शमा साउथ युकेसँग स्रष्टा भेटघाट र सिर्जना प्रस्तुति गरेको हो । अङ्ग्रेजी महिनाको १५ तारिखमा महासङ्घले यस्तो संवादको श्रृङखला सञ्चालन गर्दै आएको छ ।

यसपालि साउथ युके शाखा आबद्ध स्रष्टाहरूसँग संवादका साथ सिर्जना वाचन गरिएको अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीले जानकारी दिए । उनले केन्द्र र शाखाबिच सक्रिय सम्बन्ध बढाउन गरिने साहित्यिक गतिविधिले नेपाली भाषा साहित्यमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

महासचिव सुनिता राईका अनुसार कार्यक्रममा दुई दर्जन बढी स्रष्टाहरू सहभागी भएका थिए । रचना वाचन तथा संवादमा प्रा.डा. भीम खतिवडा (नेपाल), डा. मधु श्रेष्ठ (अमेरिका), सुरेन्द्र लिम्बु परदेशी (भारत), डा. लेखनाथ काफ्ले (ताइवान), सावित्री लुइँटेल घिमिरे (इजरायल), सुनिता राई कन्दङ्वा (इजरायल), भुवन रोक्का (जापान), कल्पना पौडेल जिज्ञासु (नेपाल), डा. नाज सिंह (भारत), राहुल राई (भारत) जोडिएका थिए ।

सिर्जना वाचनमा साउथ युके शाखाबाट औतारी साइला, थिर थापा मगर, सेमन्त राई र अमित थेवेले कविता, मुक्तक र गीत सुनाए । वाचन गरिएका सिर्जनाहरूको समीक्षा केन्द्रीय सल्लाहकार प्रा.डा. खतिवडा र उपाध्यक्ष सावित्री लुइँटेल घिमिरेले गरे ।

नेपाली साहित्य र संस्कृतिको विश्वव्यापी प्रचार गर्न महासङ्घको स्थापना १३ जुलाई २०१० मा भएको हो । महासङ्घले २० मुलुकहरूमा बनेको २८ वटा शाखा समितिहरू मार्फत संस्थागत गतिविधहरू सञ्चालन गर्दै आएको छ ।