किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाजका अध्यक्ष ज्युहरू, हजुरहरू कहिलेसम्म राई यायोक्खा नामक एनजिओको पुच्छर भएर हिँड्नु हुन्छ ? वा लगाम लगाएको घोडा सरह दायाँबायाँ नहेरी यायोक्खाले डोर्‍याएको बाटोमा हिँड्नु हुन्छ ?

किनभने विभिन्न अनलाइनहरूमा आएको समाचार अनुसार तपाईँहरूले (४ किराँती !?) श्रीजंगा वा श्रीजङ्गा लिपिलाई साझा लिपि बनाउने भन्ने समाचार सुन्न वा पढ्न पाइयो । सो कुरो राम्रो नै हो तर, त्यसबारे विस्तृतमा पछि कुनै वेला अलग्गै लेख लेखौँला ।

अहिलेलाई मेरो मूल र गम्भीर प्रश्न यो छ कि, ‘किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाज’का अध्यक्ष ज्युहरू, अथवा सो संस्थाको टप फाइव पदमा रहनु भएका मान्छेहरू हजुरहरू कहिलेसम्म अरू (राई यायोक्खा) ले भनेको कुरामा नै ‘चोचोमा मोचो’ मिलाएर हिँड्नु हुन्छ ? के तपाईँहरूमा साँच्चै आफ्नै ब्रह्मले केही देख्दैन ? नत्रभने, अहिलेसम्म पनि तपाईँहरू किन राई यायोक्खाको पुच्छर भएर हिँड्नु हुन्छ ? वा लगाम लगाएको घोडा सरह दायाँबायाँ नहेरी यायोक्खाले डोर्‍याएको बाटोमा मात्रै हिँड्नु हुन्छ ?

स्मरण रहोस्, केन्द्रीय तथ्याङ्क विभागले ०६८ मा गरेको १० औँ राष्ट्रिय जनगणनाअनुसार पहिलो कुलुङ २८ हजार ६१३, दोस्रो नाछिरिङ ७ हजार १५४, तेस्रो याम्फु ६ हजार ९३३, चौथो चाम्लिङ ६ हजार ६६८, पाँचौँ आठपहरिया ५ हजार ९७७, छैटौँ बान्तवा ४ हजार ६०४, सातौँ थुलुङ ३ हजार ५३५, आठौँ मेवाहाङ ३ हजार १००, नौ औँ बाहिङ ३ हजार ९६, दसौँ साम्पाङ १ हजार ६८१, एघारौँ खालिङ १ हजार ५७१ र १२ औँ मा लोहोरुङ १ हजार १५३ जना आएको छ । यसरी हेर्दा त्यसअघि जानेर वा नजानेर अथवा ‘राई !’ लेख्दा आफू पनि ‘तालुकदार’ वा ‘जिम्मावाल’ ‘राई !’सरह होइन्छ ! भनेर नामको पछाडि ‘राई !’ लेख्दै आएका १२ वटा किराँती जातिहरू अलग्गै जातिको रूपमा आएको छ वा भनौँ तथ्याङ्ककृत भएका छन् । माथिको तथ्याङ्क जातिगत तथ्याङ्क मात्रै हो ।

त्यस्तै माथिको १२ वटा किराँती जातिहरूको भाषिक तथ्याङ्क पन अलग्गै आएको छ । भाषिक अनुसार पहिलोमा बान्तवा एक लाख ३२ हजार ५८३, दोस्रोमा चाम्लिङ ७६ हजार ८००, तेस्रोमा कुलुङ ३३ हजार १७०, चौथोमा थुलुङ २० हजार ६५९, पाँचौँमा साम्पाङ १८ हजार २७०, छैटौँमा खालिङ १४ हजार ४६७, सातौँमा बाहिङ ११ हजार ६५८, आठौँमा नाछिरिङ १० हजार १७६, नवौँमा याम्फु ९ हजार २८०, दशौँमा आठपहरिया ७ हजार ५३०, एघारौँमा मेवाहाङ ४ हजार ६५० र बाह्रौँमा लोहोरुङ ३ हजार ७१६ रहेको छ ।

यसरी हेर्दा विगतमा कुलुङलगायत १२ वटा किरातीहरु जो विगतमा जानेर वा नजानेर अथवा नामको पछाडि ‘राई !’ लेख्दा आफू पनि ‘तालुकदार’ वा ‘जिम्मावाल’ ‘राई !’सरह होइन्छ ! भनेर आफ्नै नामको पछाडि ‘राई !’ लेख्दै आएका थिए । ती मध्ये १२ वटा किराँती जातिहरूले अलग्गै जातीय तथ्याङ्क अङ्कित गरेका थिए । त्यसका लागि पनि ‘कुलुङ समुदायका अगुवाहरू र आदिवासी किरात महासङ्घको नेतृत्व’ले कति पापड बेल्नुपरेको थियो ? त्यसको छुट्टै कथा छ ।

त्यस्तो गम्भीर र महत्त्वपूर्ण कुराहरू पनि हजुरहरू (‘किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाज’का अध्यक्ष ज्युहरू, अथवा सो संस्थाको टप फाइव पदमा रहनु भएका मान्छेहरू) लाई साँच्चै थाहा छैन ? अथवा आजको २१ औँ जमाना भनिएको समयमा पनि स्वविवेक प्रयोग नगरेर हजुरहरू अरू (राई यायोक्खा) ले भनेको कुरामा नै ‘चोचोमा मोचो’ मिलाएर हिँड्नु हुन्छ ? के तपाईँहरूमा साँच्चै आफ्नै ब्रह्मले केही देख्ने क्षमता छैन ? प्रश्न त निक्कै गम्भीर पो छ है, बुझ्न चाहनेहरूका लागि अथवा भनौँ जानाजान बुझ पचाउनु हुँदैन ! भन्ने मनुवाहरूका लागि !? अझ प्रस्टसँग भन्नु पर्दा अरूलाई जानी बुझी थिचोमिचो गर्नु हुँदैन, हेँलाहोचो गर्नु हुँदैन भन्नेहरूका लागि । साथै आत्म ज्ञानी, स्वत्व, स्वविवेक, चेतना, चैतन्य, ज्ञान, फराकिलो सोचाई, आत्मसम्मान आदि भएका मानिसहरूका लागि पनि ।

तर, अचम्म के भने, ‘किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाज’का अध्यक्ष ज्युहरू, अथवा सो संस्थाको टप फाइव पदमा रहनु भएका मान्छेहरू हजुरहरू के तपाईँहरूमा साँच्चै आफ्नै ब्रह्मले केही देख्दैन ? नत्रभने, अहिलेसम्म पनि तपाईँहरू किन राई यायोक्खाको पुच्छर भएर हिँड्नु हुन्छ ? वा लगाम लगाएको घोडासरह दायाँबायाँ नहेरी यायोक्खाले डोर्‍याएको बाटोमा हिँड्नु हुन्छ ? कि जानाजान ‘आयाराम, गयाराम पारा’ अपनाउनु भएको हो ? त्यसै त अहिलेसम्म पनि तपाईँहरू राई यायोक्खा नामक एनजिओको पुच्छर भएर हिँड्नु भएको होइन होला ? किनभने हामी (कुलुङ) ले जातीय स्वपहिचानको मुद्दा/सवाल उठाउन थालेको विसं ०५७/५८ देखि हो ।

२०/२१ वर्षसम्म पनि यो कुरा ‘किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाज’का अध्यक्ष ज्युहरू, अथवा सो संस्थाको टप फाइव पदमा रहनु भएका मान्छेहरूले थाहा नपाउनु भनेको साह्रै दुःखद (एक हिसाबले भन्ने हो भने, हास्यास्पद) नै हो । त्यसैले प्रस्टसँग भन्नुहोस्, हजुरहरूलाई अरू (राई यायोक्खा) ले भनेकै कुरामा नै ‘चोचोमा मोचो’ मिलाएर हिँड्नुपर्ने बाध्यता के छ ? के तपाईँहरूमा साँच्चै आफ्नै ब्रह्मले केही देख्दैन ? नत्रभने, अहिलेसम्म पनि तपाईँहरू किन राई यायोक्खाको पुच्छर भएर हिँड्नुपर्ने बाध्यता वा कारण के हो ? लगाम लगाएको घोडासरह आफूलाई चढ्नेले जता झट्कार्‍यो त्यतै हिँड्ने गर्नु भएको होइन होला ? कि के छ, यायोक्खाले डोर्‍याएको बाटोमा हिँड्नु हुन्छ ?

साँच्चै थाहा छैन ? छैन भने ठिकै छ । छ भने जानीजानी त्यसरी राई यायोक्खाको पिछलग्गु हुन अलिकति पनि लाज शरम लाग्दैन हजुरहरूलाई ? नत्रभने, कुलुङ लगायत १२ वटा (अरू पनि छन्, जस्तै थामी, हायु, सुरेल, जिरेल आदि) लाई पनि समेटौँ, नभए त हामीले भन्ने वा माग्ने आत्मनिर्णय अधिकारको के अर्थ ? भन्नु सक्नु पर्‍यो । यदि हामीले अरूलाई दलनमलनमा पार्यौं वा बहिष्करण गर्‍यौँ भने त बाहुन क्षेत्री वा राज्य र हामीमा के फरक ? भनेर यसो मुखबाट मौलौ निकालेर बोल्नुहोस्, नत्रभने, हाम्रा भावी पुस्ताले सराप्ने र इतिहास कलङ्क लगाउँछ नै, राई यायोक्खा नामक एनजिओको हर्ताकर्ताहरूलाई साथै कथित ४ किरात मात्रै देख्ने महत्त्वपूर्ण पदमा बस्नेहरूको निधारमा कलङ्क लाग्छ नै र, हाम्रा आउँदो पुस्ताले मूल्याङ्कन गर्ने नै छ ।