धरान : धरानमा घरेलु तीन पाने रक्सी र कालो बङ्गुरलाई ब्राण्डिङ गरिने भएको छ ।

धरान उपमहानगरपालिकाले तीन पाने रक्सी र कालो बङ्गुरको प्रवर्द्धन गर्दै स्थानीयवासीको जीवनस्तर उकास्ने उद्देश्यले नगर प्रमुख तिलक राईको उपस्थितिमा सोमबार बसेको गठित कार्यदलको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।

गत वर्ष केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका प्राध्यापक वसन्त कुमार राईको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलमा सदस्यहरू केन्द्रीय प्रविधि क्याम्पसका पूर्व प्रमुख प्रा.डा. धनबहादुर कार्की, फुलमाया तामाङ, सदर राई, मोहन तिगेला र खगेन्द्र खतिवडा सदस्य सचिव रहेका छन् ।

कोभिड-१९ का कारण कार्यदल गठन भएयता यस विषयमा बैठक बस्न सकेको थिएन। बैठकमा धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विदुर प्रसाद खनाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राज कुमार रिजाल र खाद्य अनुसन्धान अधिकृत निरन कटवालको पनि उपस्थिति थियो ।

नगर प्रमुख राईले परम्परागत रूपमा उत्पादन गरिरहेका स्थानीयबासीलाई तीनपाने रक्सीको बारेमा थप ज्ञान, सीप दिएर व्यवसायीकरण गर्न सकियो भने आत्मनिर्भर बनाउन सकिने बताए । साथै, तीनपाने रक्सी बनाउन प्रयोग गरिने कच्चापदार्थ मर्चालाई व्यवसायीकरण गर्न सकिने उनको भनाई थियो ।

धरान उपमहानगरपालिकाका सूचना अधिकृत समेत रहेका सदस्य सचिव खतिवडाका अनुसार तीन पाने रक्सी तथा कालो बङ्गुर प्रवर्द्धन गर्ने विषयमा धरानको वडा नं. ११, १६, १७, १८ र २० मा पहिलो चरणमा स्थलगत रूपमा जाने, सचेतना कार्यक्रम गर्ने र त्यहाँ उत्पादन भइरहेको तीन पाने रक्सी उत्पादनको अवलोकन, अध्ययन गर्ने र विद्यमान स्थितिको तथ्याङ्क सङ्कलन गरी विश्लेषण गर्ने कार्य केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारलाई जिम्मेवारी दिइएको छ ।

तीन पाने रक्सीको प्रविधि, मापदण्ड र गुणस्तरको सम्बन्धमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय समेतको समन्वयमा केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार मार्फत गरिने निर्णय भएको छ । बैठकले हाल प्रचलनमा रहेको ऐन नियमको अध्ययन गरी तीन पाने रक्सी उत्पादन र व्यवस्थापन गर्ने बारेमा स्थानीय कानुनको मस्यौदा निर्माणको लागि धरान उपमहानगरपालिकाका कानुनी सल्लाहकारलाई अनुरोध गर्ने पनि निर्णय गरिएको छ ।

साथै, नगर प्रमुखको नेतृत्वमा प्रदेश नं. १, सामाजिक विकास मन्त्रालय मार्फत मापदण्ड र कानुन निर्माणको लागि पहल गरिने निर्णय भएको छ । यस्तै, घरेलु मदिराको रूपमा प्रयोग हुँदै आएको परम्परागत तीन पाने रक्सी र कालो बङ्गुर ब्राण्डिङ गर्नका लागि यसको आवश्यकता र औचित्यको बारेमा जानकारीमूलक लेख, रचना र अध्ययन सामग्री तयार गरी प्रचार प्रसार गर्ने समेत निर्णय गरिएको छ ।